द्वन्द्वको भोगाइले भन्छ- विप्लवलाई प्रतिबन्ध नलगाऊ !

द्वन्द्वको भोगाइले भन्छ- विप्लवलाई प्रतिबन्ध नलगाऊ !


  • चित्र केसी

देशमा माओवादीको चर्को सशस्त्र युद्ध चलेको थियो । स्याङ्जा, डोल्पालगायतका जिल्ला प्रहरी कार्यालयमा आक्रमण भइसकेको थियो । धेरै प्रहरी मरिसकेका थिए । त्यस्तो संवेदनशील अवस्थामा कताकता मलाई पनि प्रहरी अधिकृतमा जाने सोच पलायो । भर्खरै बीएको परीक्षा दिएर बसेको थिएँ, प्रहरी सहायक निरीक्षकको आवेदन खुलेको रहेछ, प्रहरी तालिम केन्द्र प्रतिष्ठान महाराजगञ्जमा । गएर फारम भरेँ । केही दिनपछि फिजिकल फिटनेस (दौड, सेटअप, पुसअप, हाइजम्प) लगायतका सबै काम भयो । पहिलोचोटि लामो दौडले गर्दा घरमा गएर दुई–तीन दिन त हिँड्न–बस्न पनि गारो भयो ।

परिणाम आयो, पास भएँ । त्यसपछि आठवटा विषयको परीक्षा साथै स्वास्थ्य परीक्षण पनि भयो । शुरुमा आवेदन २८ हजारजनाको परेको थियो । अन्तर्वार्तासम्म आउँदा आठ हजार मात्र पास भएका थिए । अनि अन्तिम अन्तर्वार्ताबाट जम्मा ३ सयजना मात्र छनोट गरियो । मैले काठमाडौं या बुटवल तालिम परे हुने थियो भन्ने सोचेको थिएँ, सबै कुराले मलाई यो ठाउँमा तालिम परेको भए सहज हुने थियो । तर, दुर्भाग्यवश मेरो तालिम सुदूरपश्चिमको दीपायल तालिम केन्द्रमा पऱ्यो ।

सङ्कटकाल लागेको थियो, सुरक्षाकर्मीलाई यताउता हिँडडुल गर्न सहज थिएन, एकदम गाह्रो थियो । थाहा भयो भने सीधै हत्या या अपहरण नै हुने गर्दथ्यो । काठमाडौंबाट ३१ घन्टा लाग्यो दीपायल पुग्नलाई बीचमा रोकिँदै जाँदा ।

दीपायल पुगेको २–३ दिनदेखि नै तालिम शुरु भयो । गर्मी यति कडा थियो भनिसाध्य छैन । दिनभरि पिटी–परेड, आन्तरिक क्लास गर्दागर्दै थकान हुने गर्थ्यो ।

प्रहरी तालिम केन्द्र माओवादीको निसानामा थियो, हरेक दिन आक्रमण हुँदै छ रे भनेर दिनहुँजस्तो अपुष्ट खबर आउने गरिरहन्थ्यो । हामी आक्रमणको डरले रातभरि खाडलमा ढुकेर बस्ने गथ्र्यौं । आफ्नो सुरक्षाको लागि एक वर्षसम्म खाल्डोमा लुकेर बसियो ।

दीपायल गएको केही समयपछि ०५८ साल चैत ५ गते अछाममा जिल्ला प्रहरी कार्यालयदेखि नेपाल आर्मीको ब्यारेकमा ठूलो आक्रमण भयो । जसमा प्रजिअसहित प्रहरी, आर्मी गरी १३२ जनाको मृत्यु भएको थियो । यो सबैभन्दा ठूलो आक्रमण थियो माओवादीको । हाम्रो तालिम चलिराखेको नै थियो, माओवादीबाट मारिएका सबै प्रहरीको शव हेलिकप्टरबाट दीपायल एयरपोर्टमा ल्याइयो । शवको प्रकृति र दृश्य देख्दा २–३ दिन खाना खान मन पनि लागेन । डरले भाग्न मन लाग्यो । हाम्रो चारजना साथीहरू भागे । तर, समूह गार्ड राजपुरको आर्मीले समात्यो, भाग्ने काम सफल भएन । म र मेरो एकदम नजिकको साथी सागरसिंह ठकुरी (गुल्मी, मुसिकोट) भाग्ने भनेर योजना गरेका थियौँ । पछि सागरको ०५९ सालमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुँदा भुसलडाँडामा एम्बुसमा परी दुःखद मृत्यु भयो । तर, आर्मीले चारजना साथी पक्रेर बुझाएपछि हाम्रो भाग्ने योजना पनि विफल भयो । भाग्छु भनेर दाइ (डा. मनबहादुर केसी)सँग पनि सल्लाह गरेको थिएँ ।

त्यहीबीचमा मेरो बीएको रिजल्ट पनि आयो, पास भएँ । सोही समयमा तालिमकै अवधिमा प्रहरी निरीक्षकको आवेदन पनि खुल्यो । आउटडोर फिजिकलदेखि स्वास्थ्य परीक्षण पनि पास भएँ । पछि काठमाडौं आएर प्रहरी निरीक्षकको लिखित जाँच दिए । लामो समयसम्म लिखित जाँचको रिजल्ट निकालेन । पछि लिखितमा नाम निकालेँ, तर अन्तर्वार्ता नहुँदै माओवादी द्वन्द्वले गर्दा जागिर छोड्न बाध्य भएँ ।

प्रहरी अधिकृतको आधारभूत एकवर्षे तालिम पूरा गरी मेरो पहिलो दरबन्दी जिल्ला प्रहरी कार्यालय मकवानपुर थियो । घर जाने अवस्था थिएन, तालिम सकेपछि सीधै हेटौँडा गएँ । दरबन्दी जाने क्रममा ग्रुपले नै सल्लाह गरी १० दिन ढिलो जाने भनेका थियौँ । ढिलो गएबापत त्यतिबेला मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजीपी अच्युत चालिसे हुनुहुन्थ्यो । ढिलो हाजरी भएबापत २ दिन डीआईजी कार्यालयमा नै राखेर सामान्य नसिहत दिनुभयो ।

अनि म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हाजिर भएँ, शान्तिसुरक्षाको अवस्था अत्यन्तै संवेदनशील र नाजुक थियो । त्यही क्रममा एकचोटि घर जान मन लाग्यो, बुबाआमालाई भेट्न । भेट नभएको पनि डेढ वर्षभन्दा बढी भएको थियो । हेटौँडादेखि चितवन, बुटवल हुँदै बाग्लुङ मेरो गाउँ सल्यान पुगेँ । त्यहाँ पुग्ने समयसम्म कोही–कसैले नचिन्ने र नदेख्ने गरी गएको थिएँ । जब घर पुगेँ बुबा–आमा अत्तालिनुभयो, ‘तँ किन आएको ? जतासुकै माओवादी छन् गाउँभरि… ।’ अनि म पनि २ घन्टाजति बसेर खाना खाएर तत्काल फर्किहालेँ । आफ्नो छोरा आफ्नो घरमा जाँदा बुबाआमाले किन आएको घर भनेर प्रश्न गर्दा मनमा कस्तो भएको होला ? स्थिति कस्तो थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ । हाम्रो घर माओवादीको आश्रयस्थलजस्तै थियो, घरमा आउने, खाने अनि बुबाआमालाई थर्काएर पैसा लैजाने । घरमा केवल बुबाआमा र शिक्षक पेसामा रहेका माहिलो दाइ हुनुहुन्थ्यो । बुबाआमालाई कोही छोरा डाक्टर, कोही शिक्षक, कोही बेल्जियममा छन्, कोही प्रहरीको हाकिम भनेर पैसा उठाउन दबाब दिने गर्थे । अनि हामीले पनि बुबाआमालाई केही गर्दछन् कि भनेर नचाहँदा पनि बाध्य भएर पैसा दिनुपऱ्यो । यस्तो अवस्था देशभरि नै व्याप्त थियो ।

अनि म हेटौँडा रहँदा त्यो एरियाको माओवादी नेता रीतबहादुर खड्कालाई सुरक्षाकर्मीले हत्या गरेका थिए । स्थिति तनावपूर्ण नै थियो । हेटौँडामा रहँदा नेपाल आर्मी र प्रहरीको माओवादीविरुद्ध संयुक्त अप्रेसन हुने गर्दथ्यो । नेपाल प्रहरीबाट प्रायः आर्मीसँग म नै अप्रेसनमा खटाइन्थेँ । राईगाउँदेखि पूर्वको फापरबारीसम्म पैदल हिँडेर नै जानुपर्ने । गाडीमा जाँदा एम्बुसमा पर्ने खतरा थियो । ०५९ साल असोजमा मकवानपुरको हटियामा माओवादीले बम राखेको भन्ने खबर आयो । अनि प्रहरी र नेपाल आर्मीको सुपारीटार ब्यारेकबाट संयुक्त रूपमा १९ जनाको बम डिस्पोजल टिम गयो । त्यो टिममा म पनि थिएँ । बम डिस्पोजल गरेर फर्किने क्रममा गाडी एम्बुसमा पऱ्यो । नेपाल प्रहरीको दुईजना र नेपाल आर्मीको सुबेदारसहित चारजनाको घटनास्थलमा नै मृत्यु भयो । यो घटना मेरो जीवनको सबैभन्दा ठूलो र कहालीलाग्दो थियो । मैले थाहा पाएसम्म माओवादी सशस्त्र युद्धमा मेरो ग्रुपका १८–२० जनाको मृत्यु भएको छ । गलत गतिविधि दुई पक्षबाट नै भएको थियो । चेपुवामा र दोहोरो मारमा नेपाली जनता थिए । जुन काम गरे पनि जनतालाई दुःख र दबाब थियो । जुन कुरा मैले प्रत्यक्ष अनुभव गरेको थिएँ ।

त्यसपछि मेरो सरुवा जिल्ला प्रहरी कार्यालय रसुवा भयो । एकदम विकट, अति चिसो । त्यहाँ खासै खतराको अनुभूति गर्न पाइनँ । घर जाने अववस्था नभएको हुँदा मेरो बिहे पनि बुटवल सीपी शर्मा अंकलको घरबाट भएको थियो । रसुवाबाट एक महिनाभित्र जिल्ला प्रहरी कार्यालय काठमाडौमा सरुवा भयो । केही महिना हनुमानढोका बसेँ । अनि इलाका प्रहरी कार्यालय बलंबुमा गएँ । त्यही क्रममा नेपाल सरकारले माओवादीसँग भिड्न आर्मी, सशस्त्र र जनपद प्रहरीको संयुक्त ‘युनिफाइड ट्रेनिङ’ गराउने अनि संयुक्त रूपमा नै माओवादीविरुद्ध अप्रेसनमा जानुपर्ने । म त्यो तालिममा परेँ, नेपाल आर्मीको बाहिनी नम्बर ६ बैरेनी धादिङमा । प्रहरी अधिकृतमा जागिर खाएको व्यक्ति आर्मीसँग संयुक्त अप्रेसनमा जान मन परेन । फेरि आर्मीले उक्त तालिममा प्रहरीलाई अनावश्यक दुःख दिइराखेको थियो भनेर मलाई जानकारी पनि थियो । उक्त तालिम कटाउन दाइले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई आग्रह पनि गर्नुभयो । तर, मेडिकल अनफिट हुनेबाहेक कोही एकजनाको पनि तालिम कटौती भएन । मैले जागिर छोड्नुपर्ने २ प्रमुख कारण अगाडि देखापरे । घरपरिवारलाई मेरोबारेमा अत्यन्तै चिन्ता थियो, घरमा बुबाआमालाई माओवादीले दुःख दिने, चन्दा माग्ने अनि मलाई कहीँ कतै घटनामा केही हुन्छ कि भन्ने ठूलो डर थियो । अर्को युनिफाइड तालिममा परेपछि जागिर खान मन लागेन । त्यसैले लगभग साढे ४ वर्ष प्रहरी अफिसरको जागिर खाएर अन्तिममा द्वन्द्व र सुरक्षाको कारणले गर्दा जागिर छोड्न बाध्य भएँ ।

यो लेख र मेरो जीवनी किन लेखेँ भन्दा १२ वर्षे सशस्त्र युद्धमा प्रत्येक नेपालीले यति दुःख, यातना र पीडा भोगे, त्यसको वर्णन गरी साध्य छैन । म त एक घटनाको प्रत्यक्षदर्शी पीडा भोग्नेमध्येको प्रतिनिधि पात्र हुँ । जनता उक्त युद्धमा यति दोहोरो मार र पीडा परे । राज्य पक्ष र विद्रोही पक्षबाट । तसर्थ, अहिलेको सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने जुन निर्णय गऱ्यो, यो देश र जनताको लागि अत्यन्तै घातक छ । विगतको युद्धको पाठबाट अनुभव र शिक्षा लिएर सरकारले काम गर्नुपर्छ । अब मुलुकले अर्को युद्ध थेग्न सक्दैन । विप्लव समूहसँग सरकार संवेदनशील भएर वार्ताबाट नै समस्याको समाधानको बाटो निकाल्नुपर्छ । माओवादी द्वन्द्वमा १७ हजार निर्दोष जनता मारिए । हजारौँ परिवारको अवस्था बिचल्लीमा छ अहिलेसम्म पनि । जानेर या नजानेर भए पनि सरकार गम्भीर बन्नुपर्दछ । सरकार आफैँले असन्तुष्ट पक्षलाई युद्धमा जान बाध्य पार्ने खालको निर्णय गर्नुहुँदैन । समाधानको अन्तिम र राम्रो विकल्प नै वार्ता हो, युद्ध र द्वन्द्व होइन । अब पनि युद्ध निम्त्याउनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो । गलत निर्णय र गलत दिशातिर जाने काम सरकारले गर्नुहुन्न ।