त्रिशूली–थ्री ‘बी’मा १७ गुणा आवेदन

त्रिशूली–थ्री ‘बी’मा १७ गुणा आवेदन


‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशूली जलविद्युत कम्पनीका लागि माग गरिएको सेयरमा डेढ लाखभन्दा बढीले साढे ६ करोड कित्ताका लागि आवेदन दिएका छन् । यो कूल माग गरिएको सेयरमध्ये १७ गुणा बढि हो ।

अन्तिम (सोमबार) दिन कार्यालय समयसम्म (५ बजे) एक लाख ५५ हजार ४ सय ७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३ सय २० कित्ता सेयर किन्न आवेदन दिएका छन् । यसबाट ६६ करोड ३३ लाख ६३ हजार २ सय रुपैयाँ संकलन भएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले घटना र बिचारलाई जानकारी दिए ।

सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार साँझ ५ बजेसम्मको हो । ‘बैंक तथा वित्तीय संस्थाले केही सेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ ।’ उनले भने, ‘कूल १ लाख ५५ हजार ४७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।’

कम्पनीले बिहीबारबाट आवेदन दिन मिल्ने गरी नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गरेको थियो ।