गगनलाई खुलापत्र

गगनलाई खुलापत्र


pathakmanchआदरणीय गगनदाइ जयनेपाल !
कुशल छु, कुशलताको कामना गर्दछु । देश संविधान निर्माण प्रक्रियाको उत्कर्षबिन्दुतर्फ प्रस्थान गर्दै गर्दा तपार्ईंलाई केही कुरा भन्न गइरहेको छु । म तपाईंको शुभचिन्तक भएकाले पनि यो खुलापत्र लेख्न गइरहेको हुँ भनी बुझ्दा हुन्छ । म जुन दिनदेखि नेपाली काङ्ग्रेस र यसले अवलम्बन गरेको विचारलाई बुझ्ने प्रयास गर्दै थिएँ त्यहाँदेखि नै तपार्ईंको लेख, अन्तर्वार्ता र फुटेजहरू अध्ययन गर्दै आइरहेको छु । खेदका साथ मैले भन्नैपर्ने अवस्था आएको छ कि विस्तारै तपार्ईंका यी सामग्रीमा मेरो आस्था घट्दै आएको छ । यसरी आस्था घट्नुमा मैले केही कुरा लेखेको छु, अन्यथा नलिनुहोला ।
तपार्ईं यो देशको एउटा लोकप्रिय युवानेता हो र तपार्ईं लोकप्रिय हुनुमा मजस्ता युवाको साथ छ भन्ने कुरालाई तपार्ईंंले सायद नर्कानुहुन्छ भन्ने मलाई लाग्दैन । तपाईंले आजसम्म राजनीति गर्दैगर्दा नेपाली काङ्ग्रेसको चारतारे झन्डा र रूख चिह्नलाई हतियार बनाएर नेपाली काङ्ग्रेसका सम्माननीय नेताहरूबाट प्रेसित विचारको अनुशरण गर्दै यो स्थान बनाउनुभएको हो भन्दा फरक नपर्ला । तपाईं आज जुन स्थानमा हुनुहुन्छ त्यसको श्रेय तपाईंलाई व्यक्तिगत रूपमा दिनुभन्दा नेपाली काङ्ग्रेसको विचार र सिद्धान्तलाई दिनुपर्छ भन्ने मेरो बुझाइ रहेको छ । हिजो तपाईंले नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दा, अघिल्लो संविधानसभा निर्वाचनमा माननीय नियुक्त हुँदादेखि ०७० सालको संविधानसभा निर्वाचन र नेपाली काङ्ग्रेसको बहुलवाद, प्रजातन्त्र र समाजवाद संसदीय निर्वाचन प्रणालीको कारणले गर्दा तपार्ईं त्यो स्थानमा पुग्न सफल हुनुभएको हो । आज तपाईंले जुन विचार र सिद्धान्तको विरोध गर्दै हिँड्नुभएको छ, हिजो संविधानसभा निर्वाचनमा पनि नेपाली काङ्ग्रेसले बनाएको त्यही चुनावी घोषणापत्र बोकी चुनाव जित्नुभएको हो । तर, आज त्यही घोषणापत्रको विरोध गर्दै हिँड्नुभएको छ । भन्न त तपाईंले वाक स्वतन्त्रताको दुहाई दिएर आफ्नो पोजिसनलाई सही ठह-याउने प्रयत्न गर्नुहोला, तर वाक स्वतन्त्रताको पनि स्थान हुन्छ । तपाईंले आफ्नो विचार राख्नकै लागि नेपाली काङ्ग्रेसका कार्यकर्ताले सबैभन्दा लोकप्रिय मत दिएर पार्टी केन्द्रीय समितिमा पठाएका हुन् र नेपाली जनताले आफ्नो मत दिई संविधानसभामा पठाएका हुन् । तपाईंले आफ्नो फरक मत राख्न पार्टी केन्द्रीय समिति र संसदीय दलजस्ता फोरमहरू छन्, त्यहाँबाट आफ्ना निर्णय पास गराउन सक्नु नै तपाईंको क्षमता मानिन्छ कि आफ्ना विचार पास नभइसकेपछि खालि मिडियामा छाउनका लागि मात्र बाहिर आएर गरिने चर्का कुरालाई म र मजस्ता काङ्ग्रेसी मनहरूले तपाईंको क्षमता मान्न सक्दैनन् । अतः नेपाली काङ्ग्रेस जहिले पनि प्रजातन्त्रमा अडिग रहने हुँदा बहुमतको कदर गर्नुपर्छ भन्ने कुरा तपाईंलाई मैले बुझाइरहनु नपर्ला । र, गगनदाइहरूको उपज लोकतन्त्र नभई लोकतन्त्रको उपजचाहिँ गगन थापाहरू हुन् भन्ने कुरा भनिरहनुपर्ने होइन । तसर्थ, तपाईंले आफ्ना विचार र मतलाई यिनै वैधानिक फोरमबाट पास गराई देशलाई निकास दिने प्रयत्न गर्नुहुनेछ र आफ्नो विचार वा मत अल्पमतमा परेको खण्डमा बहुमतको कदर गरी प्रजातान्त्रिक संस्कार देखाउने कुरा मैले भनिरहनु नपर्ला ।
अन्त्यमा, नेपाली काङ्ग्रेस विचारको समुद्र हो । विचार राख्न पाउनु तपाईंको हक हो । तर, तपाईंले खालि आफ्नो मात्र विचार राखी पार्टीलाई ओझेल पार्दै जाँदा भोलिको काङ्ग्रेसको भविष्य के होला ? हिजो तपाईंले जितेको काठमाडौं–४ मा सुप्रभा घिमिरेले पनि चुनाव जित्दा व्यक्तिको कारणले नभई नेपाली काङ्ग्रेसको सिद्धान्त र विचारको कारणले हो भन्ने कुरा तपाईंलाई भन्नुपर्दैन होला । अतः दाइ, तपाईंभन्दा ठूलो पार्टी हो भन्ने कुरा मनन गर्नुपर्ने देखिन्छ र हिजो तपाईं नजन्मँदै ०१५ सालमा पनि नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत र तपाईं निर्वाचनमा नहोमिँदै ०४८ सालमा पनि नेपाली काङ्ग्रेसले बहुमत ल्याएको कुरा नेपाली काङ्ग्रेसको इतिहासमा सुनको अक्षरले दर्ज भइसकेको छ र भोलिका दिनमा पनि कुनै व्यक्तिविशेषबिना पनि नेपाली काङ्ग्रेसले त्यो पोजिसन ल्याउन सक्छ भन्न चाहन्छु । साथै, तपाईंले आफ्नो यो व्यक्तिवादी सोचलाई त्यागेर समग्र काङ्ग्रेसको उत्थान गर्नुहुन्छ भन्ने आशासमेत राख्दछु । कृपया व्यक्तिवादी सोचको कारणले लाखौँ काङ्ग्रेसी कार्यकर्ताको जीवनमाथि नखेलिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु । तपाईंको शुभचिन्तक–
– मदन भण्डारी
नेविसङ्घ (शंकरदेव क्याम्पस)