डाउनहिलमा सुमन र निष्मा च्याम्पियन

डाउनहिलमा सुमन र निष्मा च्याम्पियन


नवौँ राष्ट्रिय एमटीबी डाउनहिल च्याम्पियनसिपमा सुमन तामाङ र निष्मा श्रेष्ठ च्याम्पियन भएका छन् । गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन् । १ किलोमिटर डाउनहिलको दूरी सुमनले १ मिनेट २० सेकेन्डमा पूरा गर्दै पहिलो भए । सोही दूरी निष्माले १ मिनेट ५५ सेकेन्डमा पार गर्दै महिलातर्फ सफलता प्राप्त गरिन् ।

त्यस्तै, पुरुषतर्फ कुञ्जनी राई दोस्रो र नीरेन्द्र महर्जन तेस्रो स्थानमा रहे । कुञ्जनीले १ मिनेट ३० सेकेन्ड र नीरेन्द्रले १ मिनेट ४० सेकेन्डमा उक्त दूरी पूरा गरे । १ मिनेट ४९ सेकेन्ड समयका साथ अजय क्षेत्री चौथो स्थानमा रहँदा फुर्बा शेर्पा ९ मिलिसेकेन्डले पाँचौँ स्थानमा सीमित रहे । महिलातर्फ रोजिसा लिम्बू दुई मिनेट २८ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो भएकी आरती श्रेष्ठले २ मिनेट ३६ सेकेन्डमा उक्त दूरी पूरा गरिन् ।

अनमिका गुरुङले चौथो स्थान प्राप्त गर्न २ मिनेट ५६ सेकेन्ड समय लगाए । एक किलोमिटरकै जुनियरतर्फ नीरज श्रेष्ठ, जेसन कुँवर र दीपक जिमी शीर्ष तीन स्थान प्राप्त गर्न सफल भए । नीरजले १ सय मिनेटमा १८ सेकेन्ड, जेसनले १ मिनेटमा २२ सेकेन्ड र दीपकले १ मिनेटमा २४ सेकेन्डमा शीर्ष तीन प्राप्त गरे । चौथो स्थानका योजक चौलागाईंले १ मिनेट ३१ सेकेन्ड र पाँचौँका नीरनराज गिरीले १ मिनेट ३४ सेकेन्ड समय लगाए । डाउनहिलमा कुल ३० राइडर्सले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उदघाटन गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उदघाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय सहिद तथा शान्तिपार्कका अध्यक्ष सुदर्शन सिग्देल र संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको पनि उपस्थिति रहेको थियो ।