सभ्यता नै धरापमा परेको जरो किलो प्रतिष्ठानको निर्क्योल

सभ्यता नै धरापमा परेको जरो किलो प्रतिष्ठानको निर्क्योल


नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुऱ्याउने गरी भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति बनाउँदै राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन शनिबार (२ चैत) काठमाडौंमा सम्पन्न भएको छ ।

जरो किलो प्रतिष्ठानको आयोजनामा भएको सम्मेलनले नेपालको मौलिक शासन तन्त्रमा विचलन आएकाले भाषा, संस्कृति तथा शिक्षा लोप हुने स्थितिमा पुगी सभ्यता नै धरापमा परेको निष्कर्ष निकालेको हो । वैश्विक सञ्जालको आधारमा नेपालमा भइरहेको धर्म परिवर्तनलाई निर्मूल पार्न शासन, शिक्षा र अर्थतन्त्रमा नेपालको मौलिक प्रतिमान स्थापना गर्न आवश्यक रहेको जोड दिइएको थियो ।

धर्म परिवर्तनलाई प्रतिक्रियात्मक तरिकाले समाधान गर्न खोज्दा फरक रुप लिन सक्ने देखिएकाले स्वक्रियात्मक हुनुपर्ने जरो किलो महाअभियानका अध्यक्ष डा निर्मलमणि अधिकारीले बताउनुभयो । ‘हामीलाई सिध्याउन आउनेले चाल चल्नुअघि नै हाम्रो रणनीति र कार्यनीति बनाउन स्वक्रियात्मक तयारी गर्नुपर्छ, मौलिक धर्महरु हिन्दू, बौद्ध, जैन, बोन र किराँतको संरक्षण गर्न सक्रिय संस्थाहरु प्रतिस्पर्धी नभई ऐक्यबद्ध भएर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सम्मेलनमा जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्याय, राष्ट्रिय हिन्दू एकता मञ्चका इन्द्रप्रसाद ओली र विश्व हिन्दू महासङ्घ कास्कीका शङ्कर खरालले नेपालमा भइरहेको धर्म परिवर्तनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अनुसन्धाता डा. लक्ष्मीप्रसाद खतिवडाले वैदिक सनातन धर्ममा ओमकार परिवारका सबै धर्म रहेकामा पश्चिमा विद्वानले हिन्दू, बौद्ध, किराँत, जैन, बोनलगायत धर्मका रुपमा परिभाषित गरी पुस्तक लेखेपछि विभाजन आउन थालेको बताउनुभयो ।

सम्मेलनमा बौद्ध, बोन र किराँत धर्मगुरुहरु तथा नेपाल झाँक्री सङ्घको उपस्थिति थियो । बौद्ध खेन्पो फुन्छोक दोर्जे लामा, बोन गुरु गेसे छुल्दिम लामा तथा धार्मिक अध्येता मोहन लामा रुम्बाले बोन धर्मले हिन्दू र बौद्धलाई जोड्ने सिमेन्टको काम गर्ने बताउनुभयो ।

महाअभियानअन्तर्गत बन्ने राजनीतिक दलले बनाउने संविधानको प्रस्तावनामै नेपाल हिन्दू, बौद्ध, किराँत, जैन र बोनको साझा उद्गमस्थल भन्ने उल्लेख गरिने जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका अध्यक्ष सुशील गौतमले सुनाउनुभयो ।