नवलपरासीमा दुई र मकवापुरमा एक ट्रकमा आगजनी

नवलपरासीमा दुई र मकवापुरमा एक ट्रकमा आगजनी


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ ।

पूर्वपश्चिम राजमार्गमा ठूला सवारीसाधन खासै चलेका छैनन् । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा बढी मात्रामा रहेको पाइन्छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ तुलसीपुर चोकमा रोकेर राखिएका दुई ट्रकमा आगजनी भएपछि बन्दको प्रभाव झन् बढी देखिएको हो ।

राति १ बजेको समयमा ना.५ ख७८४१ र ना.४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुवै ट्रकको पछिल्लो दुई चक्का आधा जलेको प्रहरीले जनाएको छ ।

दुवै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकलाई पूर्ण क्षति हुनबाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले नलिएकाले ट्रकमा आगो लगाउने समूह अज्ञात रहेको प्रहरीले जनाएको छ ।

यसैगरी मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङनजिक गए राति करिब ११ः४५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना.५ ख७४११ नम्बरको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका बस्तीपुरमा अज्ञात समूहले आज बिहान करीब ६ः३० बजे ना.६ ख ७३६९ नम्बरको ट्रकमा ढुंगाले हान्दा चालक र सहचालकलाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जनाएको छ ।