वैशाखदेखि जनकपुर–जयनगर रेल चलाउने तयारी

वैशाखदेखि जनकपुर–जयनगर रेल चलाउने तयारी


वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । सातै स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए ।

मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरू लागिपरेको मिश्रको भनाइ छ । उनले कुर्था र खजुरीलगायत केही स्टेसनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए । विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरिद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए ।

मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इन्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ । जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपुर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपुर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किलोमिटर दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेसनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इन्जिन संरक्षण भएको छैन ।
–अजयकुमार साह (रासस)