समस्याको सागर तारिदिने कसले ?

समस्याको सागर तारिदिने कसले ?


पछिल्लो प्रधानमन्त्रीय कार्यकालसम्म आइपुग्दा एउटा तप्कामा ‘स्वप्नदर्शी’ नेताको नयाँ परिचय बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीको रेल र पानीजहाजको ‘रहर’ नेपाली राजनीतिक वृत्तमा मात्र नभई आमतहमै चर्चाको एउटा तिख्खर एजेण्डाको रूपमा स्थापित भएको छ । समृद्धिको चर्चामा रमाउन रूचाउनेहरू ओलीको यो रहरको महिमामण्डन गर्छन् भने आलोचकहरूको निम्तिचाहिँ रेल र जहाजको किस्सा ओली–सरकारमाथि व्यङ्ग्य प्रहार गर्ने एक राजनीतिक हतियार मात्र बनेको छ । ठूलो लक्ष्य लिनेले सानातिना कुरामा ध्यान दिँदैन भन्ने अवधारणा लागू भएर हो कि, रेल र पानीजहाजको चर्चा गर्ने स्तरमा पुगेका तमाम नेपालीको दैनन्दिनीमा सकारात्मक असर पार्ने काम भने सरकारबाट हुन सकेन । वर्तमान सरकार एवम् सङ्घीय संसद्को एक वर्ष जसरी गुज्रिएको छ, बितेको वर्ष दिन फर्केर हेर्दा नेपाल र नेपालीका आउँदा वर्ष कसरी बित्ने हुन् भन्ने चिन्ता नै यतिबेला ज्यादा प्रकट हुन पुग्छ ।

प्रधानमन्त्रीको आभामण्डलमा रहेकाहरू ‘स्वप्नदर्शी नेता’को रूपमा केपी ओलीको प्रशंसा गर्दछन् । यस्ता स्वप्नद्रष्टा नेपालले हम्मेसी हासिल गर्न नसक्ने जिकिरका साथ ओलीका प्रशंसकहरूले सार्वजनिक अभिव्यक्ति दिँदै गर्दा बौद्धिक तहमा प्रश्न उठ्नु स्वाभाविक छ– के रहर गर्नु र स्वप्नदर्शी हुनु एउटै हो ? रहर त अरूको भोगाइ देखेर त्यत्तिकै उब्जाउन सकिन्छ, त्यसका लागि कुनै तयारी र लगानी आवश्यक हुन्न । रहर गर्न विशेष खुबी वा क्षमताको दरकार पनि पर्दैन । तर, स्वप्नदर्शी कहलिनचाहिँ सामान्य विशेषताले पक्कै पुग्दैन । स्वप्नद्रष्टाले आफ्नो सपना साकार तुल्याउन सही सोच, भिजन र आवश्यक तयारी पनि गर्दछ ।

रेल र जहाजकै सन्दर्भलाई उदाहरण मानेर कुरा गर्नुपर्दा हाम्रो परिवेशमा यसको सञ्चालन कति सामयिक छ, यो विषयले यतिबेला कति प्राथमिकता पाउनुपर्ने हो वा होइन, हाम्रोजस्तो मुलुकमा रेल र पानीजहाज सञ्चालनको निम्ति आर्थिक क्रियाकलाप र प्रविधि कस्तो हुनेजस्ता सवालमा नीतिगत आधारपत्र बनेको कतै भेटिँदैन । स्वयम् प्रधानमन्त्री ओली, राज्यसञ्चालक तथा नीति निर्माण तहमा रहेका कसैबाट यसको ठोस व्याख्या–विश्लेषण भएको पाइँदैन । सस्ता भाषणबाजीमा जसरी रेल र पानीजहाज ल्याउने कुरा गरिएको छ सोही किसिमले हावादारी शैलीमा यसनिम्ति कार्यालय उद्घाटनको नौटङ्की मञ्चन गरिएको छ । यस आधारमा त केपी शर्मा ओलीलाई स्वप्नद्रष्टाको साटो केटाकेटीले झैँ रहर हुर्काउने एक खास विशेषतायुक्त पात्र भनिदिँदा असान्दर्भिक नठहर्ला ।

‘भारतबाट पानीजहाज चीनबाट रेल’ भन्दै छिमेकीको दयामायामा हुर्काइएको रहरले नेपाल र नेपालीको समृद्धिको चाहना किमार्थ साकार हुन सक्दैन । विवेकसम्मत तयारीविना रहरको खहरे बाढी बगाउने नेताको भरमा देश अघि बढ्न सक्दैन ।

लामो राजनीतिक सङ्क्रमण एवम् अनिश्चितता चिरिएर दुईतिहाइ बहुमतको जगमा स्थिर शासन हात लागेको यो सहज परिवेशमा पनि सरकारका बाह्र महिना समृद्धिसूचक आधारहरू तयार नगरी गुज्रनु भनेको निराशादायी भविष्यको सूचक नै हो । ‘भारतबाट पानीजहाज चीनबाट रेल’ भन्दै छिमेकीको दयामायामा हुर्काइएको रहरले नेपाल र नेपालीको समृद्धिको चाहना किमार्थ साकार हुन सक्दैन । विवेकसम्मत तयारीविना रहरको खहरे बाढी बगाउने नेताको भरमा देश अघि बढ्न सक्दैन । ‘आधार तयार भइसक्यो, आगामी वर्षमा उपलब्धि देखिनेछन्’ भनी मन्त्री–प्रधानमन्त्रीले जतिसुकै प्रलाप गरे पनि पत्यार नलाग्ने माहोल पैदा भइसकेको छ ।

अझ दुःखको कुरा त यो छ कि वर्तमान सरकारबाट खास केही हुन सक्दैन भन्ने निचोडमा पुग्दैगर्दा देशसँग कुनै विकल्प भने उपलब्ध छैन । निकम्मा साबित हुँदै गएको नेकपा सरकारको संवैधानिक तथा राजनीतिक विकल्प नहुँदा अर्को निर्वाचनसम्म यत्तिकै पर्खिएर बस्नु यतिबेलाको बाध्यता हो । अर्को चुनावसम्म पुग्ने अवधिबीच सरकारका कतिपय मन्त्री बाहिरिन सक्छन्, कतिपय आकाङ्क्षीले सत्तामा प्रवेश पाउलान् । हुन सक्छ स्वयम् प्रधानमन्त्री ओलीले अर्को कुनै पात्रलाई ठाउँ खाली गरिदिनुपर्ने अवस्था पनि आइपर्ला ।

तर, त्यसबाट नागरिक तहले आशावादी हुनुपर्ने कुनै कारण छैन । किनकि, ओलीको विकल्पमा सिंहदरबारको कुर्सीमा विराजमान हुन पुग्ने सम्भावित पात्रहरूको परीक्षण भइसकेको छ । छिर्के दाउ लगाएर ओलीलाई पन्छाउने साइत कुरिरहेका पुष्पकमल दाहाल हुन् कि ओली–सरकारको आलोचक भूमिकामा देखिएका माधव नेपाल, शीर्ष तीनबीच हानथापको सिँगौरी चल्दै गर्दा प्रमको कुर्सी उछिट्टिएर आफ्नै पोल्टामा पर्ने आसमा रमिरहेका झलनाथ खनाल नै किन नहुन्, यी सबका खुवी राम्रैसँग परीक्षण भइसकेकै हो । केपी ओलीबाट सम्भव नभएका काम–कुरा अब नेकपाका शीर्ष भनिएका अन्य पात्रबाट हुन सक्ने आस गर्नु नेपालीले जानाजान आफैँलाई ठग्न खोज्नु मात्र हो ।

यहाँनेर मनन गर्नुपर्ने कुरा यो छ कि जनताले निर्वाचनको माध्यमबाट नेकपा नेतृत्वको सरकारमाथि दर्शाएको विश्वास स्वयम् सरकारले जोगाउन नसकेको र सरकारप्रति आलोचनाको यो माहोल कुनै प्रतिपक्षीय भूमिकाको उपज नभई आमजनतामा स्वस्फूर्त रूपमा पैदा भएको हो । यसको अर्थ सत्तासीन र प्रतिपक्षी दुवै पक्षले जनचेतना तथा जनचाहनाको गति पछ्याउन सकेका छैनन् । दलहरू यसरी निकम्मा बनिरहेको परिवेशमा नेपाल र नेपालीको तारणहारचाहिँ को त ? यतिबेला जागृत ज्वलन्त प्रश्न यही हो ।