पाठक पत्र

पाठक पत्र


pathakmanchयस्ता घर कहिलेसम्म ठडिने ?
भूकम्पले विनाश गरेपछि मापदण्डविपरीत अग्ला घर बनाएर आफूलाई ठालु ठान्ने एकथरी नागरिकको घैँटोमा घाम लागेको छ भने नेपाल सरकारको पनि सम्भवतः चेत फिरेको छ । नीति बन्ला–नबन्ला, कार्यान्वयन होला–नहोला, तर अग्ला घर बन्न नदिने, नापनक्सा या मापदण्डविपरीत जबर्जस्ती बनाइएका घरको तला काटिने नियम बनाइँदै छ भन्ने चर्चा जोडतोडले सुन्न थालिएको छ । यसबीच कतिपय नागरिकले आफ्ना घरछिमेकमा खतराको रूपमा ठडिएका मापदण्डविपरीतका अग्ला घर भत्काइपाउन सामूहिक निवेदन हालेका खबर पनि सुन्नमा आएका छन् भने कतिपयले आफ्नो अग्लो घरको तला काटिदिन आफैँले सरकारी निकायमा दिएको निवेदनको पनि चाङ लागेको सुनिन्छ ।
तर, यस भयावह परिस्थितिबीच पनि कैयन व्यक्ति आफ्नो अग्लो घरको रोफ–रवाफ झिकेर छिमेकीलाई तड्काउन उद्यत् बनेको देख्दा आक्रोश र टिठ एक साथ उत्पन्न भएर आउँछ । सम्भवतः यस्तैमध्येको एक उदाहरण बनेकी छन् काठमाडौं–१६ रायमाझी मार्गमा ६ तले घर बनाएर भाडा असुल्दै आएकी भण्डारी थरकी महिला पनि । वरपरका सबैलाई थाहा छ, यो घर भाडा असुल्ने नियतले कमजोर सामग्री प्रयोग गरी मापदण्डविपरीत बनाइएको हो । पुनः अलिक ठूलो म्याग्नेच्युटको भूकम्प आएमा यो घर ढल्ने सम्भावना निकै बढेको भन्दै छरछिमेकका बासिन्दा त्रस्त छन् । समयमै यसको उचाइ घटाएर सुरक्षाको उपाय अवलम्बन गर्न सुझाव दिनेलाई सावित्री नाम गरेकी उक्त घरकी मालिक्नी आफ्ना श्रीमान् नेपाल टेलिभिजनका पत्रकार भएको र उनको दोस्ती सुजाता कोइरालासँग रहेको भन्दै उल्टापाल्टा कुरा गरेर थप आतङ्क निम्त्याउन खोज्ने गरेको रायमाझी मार्गनिवासी भुक्तभोगीहरू बताउँछन् । साँच्चै कुनै अनिष्ठ भएर त्यसबाट मानवीय क्षति भयो भने त्यसको जिम्मेवारी कसरले लिने ? यो त एक उदाहरणको रूपमा प्रस्तुत गरिएको हो । यस्ता मापदण्डविपरीतका घर राजधानीमा मात्रै पनि हजारौँ छन् । यस्ता घरका विषयमा सरकारले तत्काल ठोस निर्णय लिएर आवश्यक कदम चाली आमजनतालाई भयबाट मुक्त गराउने चाँजोपाँजो गरिहालोस् भन्ने हाम्रो पुकारा छ ।
– विनोद सापकोटा र साथीहरू
रायमाझी मार्ग, काठमाडौं

यस्तो पो रहेछ भागबण्डा !
‘काले काले मिलेर खाउँ भाले’ भन्ने एउटा निकै चल्तीको बोली छ । उखानकै रूपमा प्रचलित यो भनाईसँग दुरुस्तै मिल्ने गरी चार दलको नेतृत्वले पदको भागबण्डा गरेका छन् । आखिर अर्बौं खर्च गराएर दुई–दुई पटक संविधानसभाको निर्वाचन गराउनै नपर्ने रहेछ नि ! चार जनाले चाहँदैमा चुट्कीकै भरमा संविधान बन्ने रहेछ । सहमति पनि गर्न खोजे एकैक्षणमा हुने रहेछ । किन यत्तिका वर्ष देश र जनतालाई नै पछि धकेल्नुपथ्र्यो यी नेताहरूले ?
राजनीतिक बजारमा यतिबेला हल्ला चलेको छ, प्रचण्डलाई राष्ट्रपतिको पदसहित उनको मान्छेको रोकिएको दश अर्ब निकासा गरिदिने, सुशील कोइरालाकै नेतृत्वमा संविधान जारी भएको देखाएर काङ्ग्रेसको इज्जत राखिदिने र संविधान जारी भएलगत्तै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र मधेसी मोर्चाका अध्यक्ष विजय गच्छेदारलाई नयाँ बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने । यसअनुसारको भागबण्डामा कुरा मिलेपछि मात्रै संविधान निर्माणमा सहमति जुटेको रहेछ । पदकै भागबण्डा नमिल्दा यत्तिका वर्ष संविधान निर्माण हुन नसकेको रहेछ । धन्य हुन् हाम्रा डेट–एस्फाएर नेताहरू ! ढिलै भए पनि भागबण्डा मिलाएर संविधान बनाउने भए । तर, मधेसका महतो र यादवलगायतका नेताहरूले आफूलाई केही भाग नमिलेपछि विरोधको राग उराल्दैछन् क्यारे । तिनलाई पनि समयमै एक–एकवटा पद दिएर मुखमा बुझो लगाइदिने हो कि ? नत्र बन्न लागेको संविधान मस्यौदामै च्यातिन के बेर ?
– अनुराग, चिराग र भीम विराग शर्मा,
काँडाघारी, काठामाडौं