तुलसीपुर उपमहानगरमा २० हजार व्यक्ति हात्तीहात्तीपाइले संक्रमित

तुलसीपुर उपमहानगरमा २० हजार व्यक्ति हात्तीहात्तीपाइले संक्रमित


तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको संख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताए ।

तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसंख्यामध्ये करिब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उनको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको संख्या न्यूनीकरण हुन नसकेको भन्दै नवाँैपटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ । ‘आठपटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो,’ उनले भने, ‘हात्तीपाइले रोग न्यूनीकरण हुन नसकेपछि नवौँपटक औषधि खुवाउने तयारी भइरहेको छ ।’

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी

हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपमहानगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच–पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु. ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ ।