कोलम्बिया यात्राको रोचक सम्झना-२

45 Shares
  • छत्रबहादुर मैनाली

ठूलो आशा र भरोसा राखेर शुरुवात गरेको व्यवसायले नसोचेको परिणाम हात लागेपश्चात् अनेकन अप्ठ्यारा परिस्थितिको सामना गर्नुपऱ्यो । साँच्चिकै कठिन मोडमा पुगेर परिस्थितिले परीक्षा लिँदै थियो । व्यावसायिक असफलता, निकटतम् विश्वास गरिएकाबाट विश्वासघात, आर्थिक अवस्था कमजोर हुँदै जानु, कुन दिशामा अगाडि बढ्ने भन्ने दोधारको स्थिति थियो । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ भनेझैँ परिस्थितिले सबैलाई टाढा पार्दै लगेको थियो । बजार, वस्तुस्थिति नबुझेर व्यवसायमा हात हालेको कारण असफलता हात लागेकोमा दुईमत थिएन । तर, त्यो घटनाले विगतमा आफूले भोगेका अनगिन्ती घटनाक्रमलाई गहिरोसँग समीक्षा गर्ने अवसर दियो । प्रसङ्गवश विगतको अनुभवलाई सारांशमा उल्लेख गर्ने अनुमति चाहन्छु ।

मेरो जन्म सिन्धुली जिल्ला, शान्तेश्वरी गाविस रामपुर अब्जसेमा भएको हो । पुस्तौँदेखि हाम्रा पूर्वजहरू खेती–किसानी पेसामा आबद्ध भएकाले मेरो बाल्यकाल सामान्य ढङ्गले बित्यो । उकाली–ओराली, घाँस–दाउरा, खेतीपाती, गोठालो गरेर स्कुल भ्याउनुपथ्र्यो । स्कुलनजिकै घट्ट भएकोले स्कुल जाँदा मकै, कोदो, गहुँ पिसान गर्न लानुपथ्र्यो । जब स्कुल छुट्टी हुन्थ्यो पिसेको भारी लिएर घर फर्किन्थ्यौँ । गाउँमा न बिजुलीबत्ती न त मोटरबाटोकै पहुँच थियो । भौगोलिक रूपले विकट पिछडिएको गाउँघरमा सम्पन्न पारिवारिक पृष्ठभूमि भए पनि माथिका दिनचर्याको विकल्प थिएन । विकासको मूलधारले छुन नसकेको गाउँघर अन्धकारमयजस्तै थियो । समय यस्तोसम्म थियो कि रेडियोमा समाचार सुन्नसमेत छिमेकीको घरमा धाउनुपर्दथ्यो । गाउँघरमा कसैकसैका इष्टमित्र शहरबजारमा रोजगार, व्यवसाय गरेर बस्नेहरूले गाउँमा रहेका परिवारका निम्ति रेडियो, घडी, टेपरेकर्ड लगेका हुन्थे । त्यो नै छरछिमेकीका निम्ति सञ्चारको माध्यम भइदिन्थ्यो । टेलिभिजन कल्पनाभन्दा बाहिरको विषय थियो ।

अभावग्रस्त समाजको नियतिले युवा वर्गलाई गाउँघर छोडेर सुखद भविष्यको खोजीमा अगाडि बढ्न प्रेरित गथ्र्योे । परिस्थितिको नियतले कतिपय पारिवारिक सरसल्लाहमा त कतिपय पारिवारिक अनुमतिबेगर नै गाउँ छाडेर परदेश भासिन्थे । केही दिनअघि हाम्रै गाउँका युवा देवसागर कर्माचार्य (अहिले दुबईमा कार्यरत) ले भौगोलिक विकटता, शिक्षा, सीप, सरसङ्गत, अवसर र एकताको अभावले हामी र हाम्रो समाज पछाडि परेको गुनासो सुनाउँदा आफ्नै मनले बोलेको बराबर लाग्थ्यो । त्यो अभिव्यक्ति हामी सबैको सामूहिक गुनासा र समस्या थिए । आज मुलुकमा राजनीतिक दलहरूले भनेजस्तो सिङ्गापुर, स्वीट्जरल्यान्ड मोडलको विकास गरिदिएका भए जीवनमा निराशा र गुनासाको पोको बोकेर युवापिँढीले परिवारबाट विछोड भएर परदेशमा सङ्घर्र्ष गर्नुपर्दैनथ्यो ।

जो पारिवारिक सरसल्लाहबेगर भागेर शहर पस्थे । त्यसमध्ये कोही–कोहीलाई सामाजिक प्रतिष्ठाको कारण शहरबाट खोजेर गाउँमा फिर्ता ल्याउने गर्दथे । यस्तो दृश्य बेलाबेलामा देखिने गर्दथ्यो । सबैभन्दा बढी भाग्ने युवावर्गको आकर्षणचाहिँ शहरमा रोजगारी गरेर फर्कनेहरू नयाँनयाँ कपडा, जुत्ता, घडी, क्यामेरा, चस्मा, घाँटीमा रुमाल, एक हातमा टेपरेकर्ड झुन्ड्याएर, जुल्फी कट कपाल, जिउ ज्यान खाइलाग्दो, लिभाइजको जिन्स पाइन्ट, बुटजुत्ता, पिठ्युँमा झोला भिरेर बडो ठाँटका साथ आएको देखेर आकर्षित थिए । छिमेकीहरू पनि आफ्ना सन्तानलाई शहर पठाउन सके यस्तै प्रगति देख्न पाइन्थ्यो भन्ने मनमनै सपना देख्थे । कतिले चिनाजानको आधारमा भनसुन गरेर तिनका साथ लगाएर शहर पठाइदिन्थे । कतिपयले खान, बस्न र पढ्ने सुविधा दिनुपर्ने, त्यसबापत घरेलु काम गर्ने सर्तमा आफ्ना कलिला सन्तानलाई उज्ज्वल भविष्यको सपना देखेर शहर पठाउने गर्दथे । किनकि शहरमा राखेर तिनलाई शिक्षादीक्षा दिन सक्ने हैसियत जोकोहसँग हुँदैनथ्यो । शहर गएकामध्ये सबै भाग्यमानी हुँदैनथे । कतिपय घरेलु हिंसाका सिकार बन्थे कतिले यातना सहन नसकेर बसेको ठाउँ छाडेर भाग्ने गर्दथे । एकसरो कपडा, एक पेट खाना र सरकारी स्कुलको शिक्षा हासिल गर्न बँधुवा बालमजदुरको जिन्दगी जबर्जस्ती स्वीकार्न बाध्य थिए । बालश्रम शोषण र घरेलु हिंसाको चरम पराकाष्ठा थियो त्यो ।

त्यो समयको साक्षरता भनेको एउटा तमसुक, चिठीपत्र लेख्न या पढ्नुपरेमा, गाउँभरि खोजी गर्दा त्यस्ता व्यक्ति भेट्न मुस्किल पर्दथ्यो । पढेलेखेको वर्ग खासै थिएन । तर, समाजमा भाइचारा, सहिष्णुता, सामाजिक एकता, रीतिरिवाज, मान–मर्यादा, न्याय–निसाफमा अहिलेको पढेलेखेको वर्गभन्दा तिनको स्थान उचो थियो । जातभात, छुवाछूतको विषयमा समाजको धारणा केही सङ्कुचित भए पनि विकल्पको माध्यमले सामाजिक एकता बलियो थियो । प्राकृतिक सिद्धान्तको आधारमा मिलेर बसेको नमुना समाज थियो । अहिले सम्झँदा गर्वले छाती फुल्छ ।

हामी अध्ययन गर्ने स्कुलमा नियमित कक्षाबाहेक अतिरिक्त क्रियाकलाप हुने गर्दथ्यो । जस्तै, हाजिरीजवाफ प्रतियोगिता, खेलकुद, वनभोज, नाचगान, नाटक, वादविवाद प्रतियोगिता आदि । वनभोजबाहेक हुने अतिरिक्त क्रियाकलाप प्रायः निःशुल्क हुन्थ्यो । वनभोज जान भने शुल्क लाग्थ्यो । यस्ता अतिरिक्त क्रियाकलापको निम्ति लाग्ने शुल्कबाट प्रायः अभिभावकहरू तर्किन्थे । किन वनभोज जानुपऱ्यो भन्थे । तर, हामीलाई जसरी पनि जान पाउनुपर्ने ढिपी हुन्थ्यो । तर, कतिपयको विकल्पमा साथीभाइले सरसापट दिएर काम चलाइदिन्थे । कतिले पछि तिर्ने सर्तमा कतिले तिर्न नपर्ने सर्तमा । हाम्रो समूहमा एकै कक्षामा अध्ययन गर्ने विष्णुकुमार कर्माचार्य (हाल घ्याङलेख गाउँपालिका वडा नम्बर ५, सिन्धुलीको अध्यक्ष) त्यस्तो पात्र थियो साथीभाइको निम्ति गर्धन थाप्न सक्ने । सानोतिनो आर्थिक सरसहयोग गर्न सक्ने । ऊ पहिलेदेखि अति मिलनसार स्वभावको थियो । जहिले पनि साह्रो–गाह्रो पर्दा साथीभाइको सुखदुःखमा साथ दिन्थ्यो । हामीलाई धेरैपटक त्यस्तो गुण लगाएर ऋणी बनाएको छ । त्यो गुण कहिले बिर्सन सकिन्न ।

समय यस्तै अनेकन अनुभवका साथ बित्दै गयो । असार महिनाको अर्धवार्षिक परीक्षा सकेको भोलिपल्ट हामीसँगै अध्ययन गर्ने कान्छामान वाइबा, गंगाबहादुर वाइबा, रमेशकुमार कर्माचार्य र मसहितले काठमाडौं भाग्ने सल्लाह गऱ्यौं । परीक्षा सकिएपछि स्कुलमा वर्षे बिदा हुन्थ्यो । स्कुल बिदामा भागेर काठमाडौं र जाने त्यहाँ कतै काम खोजेर बस्ने निधो गऱ्यौं । त्यसको निम्ति आर्थिक जोहो गर्नु ठूलो चुनौतीको विषय थियो । हामीमध्ये छिटो पैसा जोहो गर्न सक्ने रमेश मात्र थियो । किनकि रमेशको बुबाको रामपुर बजारमा चल्तीको किराना पसल थियो । योजनाअनुसार रमेशले पसलमा सघाएको बहाना गरेर पैसा निकाल्ने, गंगाले घरमा चाबी हात पारेर सन्दुकमा भएको रकम निकाल्ने, कान्छामानले सकेको प्रयास गरेर पैसाको जोहो गर्ने, मेरो हकमा भने घर गएर जोहो गर्न सम्भव थिएन । घरबाट स्कुल टाढा पर्ने हुँदा बजारमा रमेशको बुबाको घरमा कोठा लिएर पढ्न बसेको थिएँ । मसँग छुट्टीमा घर जाँदा फी तिर्न भनेर तोरी बेचेर आएको रकम मध्ये ८० रुपैयाँ थियो । त्यो समय सस्तो थियो, थोरै पैसाले धेरै खर्च धान्न सकिन्थ्यो ।

हामीले आ–आफ्नो जिम्मेवारीअनुसार खर्चको जोहो गरेर काठमाडौं जान भाग्यौँ । त्यो समय फोन, मोबाइल, सञ्चारका कुनै सुविधा थिएनन् । बाटोमा हामी सबैको मुटुले ढ्याङ्ग्रो ठोक्न छाडेको थिएन । कुनै पनि बेला जे पनि हुन सक्थ्यो । बाटामा धेरै परिचितहरू भेटिन्थे । उनीहरूले सोध्थे– कहाँ हिँडेका केटाहरू ? हामी जवाफमा मास्तिर भन्थ्यौँ । मास्तिर भन्दा सबैले बनेपा या काठमाडौँ बुझ्थे । ए ल ल राम्रोसँग जाओ वर्षामास छ भनेर सचेत गराउँथे ।

भागेको भोलिपल्ट बाटोमा अलिअलि थकाई पनि लागेको थियो । एकछिन आराम गर्न काभ्रे जिल्लाको करमडाँडा र पुराना गाउँ झर्ने दोबाटोमा रहेको वरको चौतारोमा बसेका मात्र के थियौँ, गंगा र कान्छामानको आफन्त पर्ने घरभन्दा पारिपट्टि पाखुरे गाउँको शुकमान (शुक्रे) दलबलसहित घँगारूको कालो लौरो र खुकुरी लिएर हामी अगाडि खडा भयो । उसले हप्कीदप्की गर्दै फर्कन भन्यो । अगाडि बढ्न खोजे भाटेथेरापी गर्ने चेतावनी दियो । नफर्के ४ जनालाई बाँधेर लाने त्रास देखाएपछि रमेश र मैले नफर्कने भन्यौँ । गंगा र कान्छामान बोल्न सकेनन् । उनीहरूमाथि नाङ्गो खुकुरी नचाउँदै घँगारू लौरोको थेरापी शुरु भयो, हामी डरले थरथर काँप्न थाल्यौँ । रमेश र म अगाडि बढ्यौँ, गंगा र कान्छामानलाई बीचबाटोबाट फर्काएर लग्यो । रमेश र म ३ दिनको कठिन पैदलयात्रा गरेर बनेपा पुग्यौँ । बनेपा पुगेपछि रमेशलाई आफन्तले समातेर लगे । रमेश भागेको कुरा हामीभन्दा पहिले बनेपामा रहेका आफन्तले थाहा पाएछन् । म एक्लो परेँ । त्यसपछि बनेपाबाट काठमाडौं जाने बसमा चढेर सूर्यविनायक झरेँ । सूर्यविनायकबाट हिँडेर भक्तपुरको न्यातपोल मन्दिर पुगँे । कता जाने केही टुङ्गो थिएन । साँझ परिसकेको थियो ।

आफूसँग थोरै पैसा बचेको थियो । नजिकको रेस्टुरेन्टमा चना, चिउरा खाएँ । कतै जाऊँ भने साँझ परिसकेको थियो । मन्दिरवरिपरि मान्छेको बाक्लो भिड थियो । रातको करिब १०–११ बजेतिर भिड पातलिँदै गयो । थकाइ, निद्रा, घरको सम्झना, पीर, चिन्ताले एकसाथ सताइरहेको थियो । मन्दिरवरिपरि पाटीमा अरू पनि सुत्न आइरहेका थिए । त्यो दिन कतै जाने उपाय नभएपछि न्यातपोल मन्दिरको पाटीमा सुतेँ । पाटीवरिपरि भुस्याहा कुकुर, जाँडरक्सी खाएर मातेका जँड्याहाहरू सराबरी मिसिएर सुत्ने हुँदा एक–अर्कामा न्यानो महसुस हुन्थ्यो । उक्त न्यानोमा बिहान छर्लङ्ग उज्यालो हुन्थ्यो । दिनहरू एवम् रितले बित्दै गए । करिब १० दिनपछि त्यही पाटीमा सुत्न आउने अपरिचितले रेस्टुरेन्टमा काम गर्ने हो ? भनेर सोध्यो । मसँग पैसा पनि थिएन, अन्त जान पनि सकेको थिइनँ । मैले हुन्छ भनेँ ।

उसले न्यातपोल मन्दिरको नजिक गोलमढीमा मन्त्री साहु भन्नेको रेस्टुरेन्टमा लिएर गयो । उसले ल यो केटा पहाडतिरबाट भागेर आएको रहेछ, यसलाई काम दिए राम्रो हुन्छ भनेर साहुलाई आग्रह गऱ्यो । मन्त्री साहुले खरो स्वरमा यसले काम गर्न सक्छ–सक्दैन ? भनेर सोध्यो । पहिले कतै काम गरेर चोरेर भागेर आएको हो कि ? भन्दै केरकार ग¥यो । घर–ठेगाना, बुबाको नाम आदि सोध्यो । मैले सबै विवरण दिएँ । उसले फटाफट कापीमा नोट गऱ्यो । त्यसपछि मलाई काममा राख्न मञ्जुर भयो । मेरो झोला खोलेर सबै चेक ग¥यो । झोला उनीहरूको नियन्त्रणमा रहने जानकारी दियो । मेरो लत्ताकपडा झोलामा थियो, उसले जब फेरफार गर्न जरुरी हुन्छ साहुनीलाई सोधेर प्रयोग गर्न सकिने, तर झोला उनीहरूको नियन्त्रणमा रहनेगरी । मैले हुन्छ भनेँ ।

त्यसपछि उसले कामको विवरण साथै परिवारका सदस्यहरूसँग परिचय गरायो । बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गर्नुपर्ने तलब खाएर, बसेर, महिनाको १५० एक सय पचास रुपैयाँ दिने सर्त भयो । म हुन्छ भनेर काममा सरिक भएँ । बेलाबेलामा मलाई काममा लगिदिने व्यक्ति रेस्टुरेन्टमा आएर साहुलाई कस्तो काम गर्दै छ भनेर सोधनी गर्दै मन्दिरमा मागेर जम्मा गरेको पैसाले लोकल रक्सी खान्थ्यो । मन्त्री साहु ठीक छ, तर नभागे हुन्थ्यो भन्थ्यो । करिब १० दिन भाँडा माझ्न थालेपछि मेरो हातको छालामा समस्या भयो । कतिखेर भागौँ भइरहेको थियो । हाम्रोमा खान आउने एकजना ग्राहकले ठट्टा गरेर भाग्ने हो भनेर सोधिरहन्थ्यो । मैले एक दिन उसलाई आफू भाग्न तयार रहेको भनेपछि उसले भागेर मन्दिरको छेउमा आउनु भन्यो । म साहुको आँखा छलेर निस्केँ । मेरो झोला लत्ताकपडा त्यहीँ छाडिदिएँ । सँगै लैजान सम्भव थिएन । र, उसले भनेको ठाउँमा पुगेँ । उसले मलाई बसमा चढाएर लगनखेल लग्यो । लगनखेलबाट पैदल हिँडेर जावलाखेल चिडियाखाना पछाडिपट्टि उसले चिनेको घरमा लगेर यो आर्मीको ठूलो हाकिमको घर हो । म पनि आर्मीमा जागिर खान्छु, बेलाबेलामा भेट्न आउँछु । आफ्नै घरजस्तो हो चिन्ता लिनुपर्दैन, राम्रोसँग काम गर्नु, तँलाई पनि भविष्यमा आर्मीमा जागिर लगाइदिन्छन् भनेर त्यो घरको बूढीआमालाई जिम्मा लगाएर हिँड्यो ।

त्यहाँ बसेको ३–४ दिनपछि बूढीआमाले लगनखेलमा किनमेल गर्न सँगै लिएर गइन् । बजारमा सानो एक बोरा उसिना चामल किनेर घरमा लिएर आयौँ । त्यो घरमा २ किसिमको भान्सा हुन्थ्यो । एउटा उनीहरूको विशेष अर्को उसिना चामलको भान्सा मेरो लागि । पेटभरि खान पाउनु मुस्किल थियो । तौलेर भात पकाउने चलन थियो । सायद आर्मीको घर भएकोले त्यस्तो नियम हुनुपर्छ । कहिलेकाहीँ भुइँमा झरेको सीता खाएरसमेत सुतेको थिएँ । त्यो कुनै खान्दानी घर थिएन । मानवीय समवेदना सकिएको जिउँदो लास बस्ने घर थियो त्यो । अरूको श्रमशोषण गरेर समाजमा देखावटी ठाँटबाँठ कायम गरेका थिए । अहिले पनि त्यो घर, त्यहाँ भोगेका घटना मानसपटलमा ताजै छ । कहिलेकाहीँ त्यो बाटो भएर हिँड्दा विगतको याद झल्झली आउने गर्छ । १० दिनपछि मलाई काममा लगाइदिने व्यक्ति टुप्लुक्क आइपुग्यो । मैले सबै वृत्तान्त बताएँ । त्यसो भए म गएको एक घन्टा पछि निस्किनु, सीतापाइलामा काममा लगाइदिन्छु भन्यो । ऊ निस्केको एक घन्टाजतिमा म पनि निस्केर टाप कसेँ । नर्कबाट छुटकारा मिलेको अनुभूति भयो ।

मान्छे सानो होस् या ठूलो, धनी होस् या गरिब, राम्रो, नराम्रो समय सबैको आउँछ भन्ने हेक्का राख्न सक्यो भने पश्चात्तापको भुमरीमा गिर्नुपर्दैन । हुन सक्छ त्यो समयमा मजस्ता पीडित धेरै थिए होलान् । धेरैको श्रमशोषण भएको थियो होला । घरेलु हिंसाको सिकार भएका थिए होलान् । तिनीहरू लाग्न सक्छ विगतलाई सार्वजनिक गर्दा वर्तमानमा आफूलाई कमजोर, निम्नस्तरको, इज्जत गिर्ने, सामाजिक बहिष्कारको सिकार हुने चिन्ता होला । किनकि हाम्रो समाजमा न्यूनस्तरको काम गरेर उच्च रवाफ देखाउने चलन यद्यपि छ । तर, यस्ता अत्याचारको पोकोलाई खोलिदिने हिम्मत गरेमा भावी पिँढीले प्रेरणाको रूपमा लिन पाउनेछन् भन्ने विश्वास लिएको छु ।

समयक्रमसँगै होटेल मेनेजर, रेस्टुरेन्ट व्यवसाय, खाद्यान्य थोक कारोबार, विभिन्न सामाजिक, धार्मिक सङ्घसंस्थाको महत्वपूर्ण ओहोदासहितको आबद्धता, पत्रकारिता, प्रतिष्ठित कम्पनीमा सेवा गर्ने अवसर, मुलुकको कार्यकारी अधिकार प्राप्तिको लागि प्रधानमन्त्री पदको प्रबल दाबेदार, देश–विदेश घुम्ने अवसरदेखि विदेशी भूमिमा व्यवसाय, रोडपतिदेखि अर्बपति, सडकछापदेखि दरबारियासम्म समयले परिचित हुने मौका दियो । त्यो मानेमा आफूलाई भाग्यमानीमध्येको ठानेको छु । माथि उल्लेखित विषयउपर निकट भविष्यमा प्रकाशित हुने पुस्तकमार्फत विस्तृतमा उल्लेख गरिनेछ ।

पहिलो व्यवसाय बन्दपश्चात् जीविकोपार्जनको निम्ति केही न केही नगरी सुखै थिएन । आर्थिक क्षमता बिस्तारै गिर्दो अवस्थामा थियो । तैपनि दह्रो हिम्मत गरेर अगाडि बढ्दै गयौँ । अन्तमा एकपटक यहीँको लोकल खानाको मेनु राखेर रेस्टुरेन्ट खोल्ने निर्णय ग¥यौँ । साधारण क्षेत्रमा १५ सिट क्षमताको लोकल लन्च मात्र उपलब्ध हुने रेस्टुरेन्ट स्थापित गरेर पुनः काममा लागियो ।

कोलम्बियामा नेपाली मूलका नागरिकले बसोवास गरेका छन् कि भनेर सामाजिक सञ्जाललगायत व्यक्तिगत तवरले खोज्ने–बुझ्ने प्रयास भयो । कोही छ भन्ने सूचना पाउन सकिएन । दिनहरू क्रमशः बित्दै गए । ०२ डिसेम्बर २०१२ को दिन प्रवासमा भएका नेपालीलाई नेपालसँग र नेपालबाट बाहिर जानेलाई प्रवासी नेपालीहरूसँग जोड्न र अन्तरक्रिया गराउन स्वदेशबाटै अहम् भूमिका खेल्न चाहने मेरा मित्र तत्कालीन जनादेश साप्ताहिकका सम्पादक मनऋषि धितालले नेपालबाट प्रदीप ज्ञवाली (हालका परराष्ट्रमन्त्री) र अग्नि खरेलसहितको टोली कोलम्बिया भ्रमणमा रहेको जानकारी गराउनुभयो । उहाँको कलको घन्टी बज्न थालेपछि थाहा हुन्थ्यो पक्कै कोही कोलम्बिया भ्रमणमा छन् या आउँदै छन् । भोलिपल्ट ०३ डिसेम्बर २०१२ को दिन प्रदीप ज्ञवाली र अग्नि खरेलसँग भेटघाट भयो । दिउँसोको खानपिनपश्चात् बोगोटा डाउनटाउनको घुमफिर गरियो । विविध राजनीतिक विषयमा कुराकानी भए । प्रदीप ज्ञवालीको सरल व्यक्तित्वले प्रभाव पारेको थियो । उहाँहरूको त्यही दिनको फर्कने तालिका भएकोले सबै विषयमा कुराकानी गर्न सकिएन । तैपनि त्यो भेटघाट अविस्मरणीय थियो ।

समयक्रमसँगै नयाँ स्थानमा गरिएको व्यवसायले अपेक्षित मुनाफा आर्जन नगरे पनि कारोबार सन्तोषजनक थियो । रेस्टुरेन्ट शुरु गरेको केही समयमा १५ सिट क्षमताबाट बढाएर ३० सिट क्षमतामा विस्तार गर्न सफल भयौँ ।

यही सिलसिलामा कोलम्बियाको मेडेजिन शहरमा आयोजित यूएन हेबिटाटको विश्व सम्मेलनमा भाग लिएर फर्कने क्रममा शहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बा, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी, जेडआईजीका नेपालस्थित कार्यक्रम व्यवस्थापक होस्र्ट मथाउससँग राजधानी बोगोटामा भेट भयो । संयोगले नयाँ साल २०७१ को पहिलो दिन थियो । नयाँ साल २०७१ को शुभअवसरमा शुभकामना आदानप्रदान गरेर रमाइलोसँग मनाइयो । कोलम्बिया आएपछिको दोस्रो भेटघाट थियो ।

सन् २०१५ बाट व्यवसाय परिवर्तन साथै स्थानान्तरण गर्ने निर्णय गऱ्यौं । पाँच वर्षको उपलब्धिलाई मूल्याङ्कन गर्दा सन्तोष गर्ने आधार थिएन । तैपनि सङ्घर्ष गर्नुको विकल्प थिएन । हरेक समय सम्हालिन कोसिस गरेँ । तर, बिग्रेको व्यवहार, आफन्त, इष्टमित्र भन्नेहरूलाई सम्झँदा उदेक लागेर आउँथ्यो । यो अस्थायी नातालाई किन निरन्तरता दिनेजस्ता अनेक तर्कना मनमा पैदा हुन्थ्यो ।

समय सधैँ एकनास नहुने हुँदा जीवनमा उतारचढाव भइनै रह्यो । हिजो र आजको वस्तुस्थितिलाई मूल्याङ्कन गर्दा कम्तीमा स्थायी आधार निर्माण गर्न सकिएछ जस्तो लाग्दै छ । यो नै पूर्ण सफलता भने होइन । अझ धेरै अधुरा काम गर्न बाँकी नै छ । हेरौँ भविष्यमा पूरा होला कि !

अन्तमा,

सन् २०१६ को अगस्ट महिना ।

सम्पादक मनऋषि धिताल (हाल अस्ट्रेलिया)ले राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदीप पाठक, पत्रकार महासङ्घका महासचिव उजिर मगर, राष्ट्रिय मानवअधिकार आयोग पोखराका कार्यालय प्रमुख सूर्य देउजालगायतको टोली कोलम्बिया भ्रमणमा रहेको खबर गर्नुभएको थियो । त्यसलगत्तै हाम्रो भेटघाट भयो । उहाँहरूको कार्यक्रम कोलम्बिया भेनेजुएलाको उत्तरी सिमानामा पर्ने कुकुता शहरमा थियो । कोलम्बियन मानवअधिकार संस्थाले भेनेजुएलन आप्रवासीहरूको कोलम्बिया आगमनबारे अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

भेनेजुएलन आप्रवासीको मानवअधिकार, स्वास्थ्यस्थिति, अन्तर्राष्ट्रिय समुदायले पुऱ्याएको सहयोग, प्रेस स्वतन्त्रताको अवस्थाबारे प्रत्यक्ष बुझ्न नेपाली टोली कुकुता प्रस्थान गरेको थियो । दुई दिनको कार्यक्रमपश्चात् पुनः राजधानी बोगोटा फर्कनुभयो । त्यसपछि कोलम्बिया आएको इतिहासमै तीन दिनसम्म भेटघाट, घुमफिर, खानपिन आदिमा धित मर्ने गरी समयको सदुपयोग गरियो ।

अन्तमा १७ फेब्रुअरी २०१७ मा अमेरिकाको लागि नेपाली राजदूत महामहिम डाक्टर अर्जुन कार्की, उहाँक धर्मपत्नी, दूतावासका फस्र्ट सेक्रेटरी सूर्य सुवेदी राजदूत पदको ओहोदाको प्रमाणपत्र बुझाउन आउने क्रममा भेटघाट भएको थियो ।

उहाँहरूले नै चासो राखेर खोजी गर्नुभएकोले हाम्रो भेट सम्भव भएको थियो, नत्र हामीलाई जानकारी थिएन । भेटघाटका क्रममा नेपालीहरूको अवस्था, मानव तस्करी आदि विषयमा कुराकानी भए । हाम्रो विगतको अवस्थालाई अवगत गराउने अवसर पनि भयो । त्यतिबेला नेपाली मूलका कोलम्बियामा व्यवसाय गरेर बस्ने हर्कराम गुरुङ, उहाँकी धर्मपत्नी प्रविना राई र मसमेत तीनजना थियौँ । अरू नेपाली छन् भन्ने सुनेको, तर प्रत्यक्ष सम्पर्क, संवाद थिएन । महामहिम डाक्टर कार्कीभन्दा पहिलेका राजदूतहरूले कोलम्बियामा प्रत्यक्ष जनसम्पर्क, भेटघाट गरेका थिएनन् । बरु नेपाली राजदूतावास ब्राजिलमा कार्यरत फस्र्ट सेक्रेटरीद्वय शरदराज आरन र ऋषिराज आचार्य कार्यकालमा दूतावासबाट प्रदान गरिने सेवामा आवश्यक सहयोग भएको थियो ।

जेहोस्, कोलम्बियामा पहिलोपटक अभिभावकीय भूमिकामा महामहिमको उपस्थिति नेपाल र नेपालीको निम्ति महत्वपूर्ण थियो । महामहिमको सरल व्यक्तित्व, बौद्धिक क्षमतायुक्त, मिलनसार सहयोगी भावना रहेको पायौँ । व्यवसायी हर्कराम गुरुङ र श्रीमती प्रविना राईले महामहिम राजदूत टोलीलगायतको सम्मानमा डिनर पार्टीको आयोजना गर्नुभएको थियो ।

पहिलेको पनि हेर्नुहोस् –

कोलम्विया यात्राको रोचक सम्झना
http://www.ghatanarabichar.com/137019

45 Shares

प्रतिक्रिया