कांग्रेसले गरेको कामको जश सरकारले लिएको आरोप

कांग्रेसले गरेको कामको जश सरकारले लिएको आरोप


– रमेश विश्वकर्मा, गुल्मी

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले देशमा अहिलेसम्म भएका परिवर्तन सबै राजनीतिक दल एकजुट भएर मात्र भएको बताएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेको श्री जनज्योति माध्यमिक विद्यालयले आफ्नो ६०औं वर्षको अवसरमा आयोजना गरेको हिरक महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशमा भएको आमुल परिवर्तन कुनै एउटा राजनीतिक दलले मात्र गरेको नभई सबै दल एक ठाउँमा उभिएर सम्भव भएको र सबै एकजुट भए मात्र देशको विकास र समृद्धि सम्भव रहेको तर्क गरे ।

२००७ सालको क्रान्तिपछि शैक्षिक नवजागरण युगको प्रारम्भ भएको थियो भन्दै उनले त्यसपछि हामी रैतीबाट नागरिक भएको धारणा राखे । यतिबेलाको नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लगाउँदै सभापति श्रेष्ठले प्राविधिक शिक्षा लागु गरेर स्वाबलम्बी नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै योगदानमा आधारित सुरक्षा कोष नेपाली कांग्रेसको पालामा स्वीकृत भई (२०७४ श्रावण २९ गते) र २०७४ मंसिर महिनादेखि लागु भएको जानकारी दिँदै उनले वर्तमान ओली सरकारले कांग्रेसले गरेको यो काम पनि आफैले गरेको भन्दै जनतालाई भ्रम छरेको आरोप लगाए । उनले भने– ‘जनताका माझमा गएर यसरी भ्रमको खेती नगर्नुहोस् ।’

हामीले धर्मको रक्षा ग¥यौँ भने धर्मले हाम्रो रक्षा गर्छ भन्दै उहाँले हिन्दुधर्मको बारेमा समेत बताउँदै उनले पछिल्लो समय विभिन्न कोणबाट हिन्दु धर्ममाथि प्रहार गर्ने काम भइरहेको र राज्य पक्षबाटै हिन्दु धर्मलाई अनादर गर्नेे काम भइरहेको पनि उनले बताए ।