तेस्रो नजर

तेस्रो नजर


pathakmanchभुइँचालो बाटो लाग्यो, अब केको हतार ?– सञ्जीव सत्याल
विनाशकारी भुइँचालोपछिका दिनमा सहरबजार र गाउँघरमा पनि भूकम्पप्रतिरोधी घर बनाउने, काठमाडौंलगायत सबै सहरमा बढीमा अढाइतलाभन्दा अग्ला घर बनाउन बन्देज लगाउनुपर्ने र यसमा सरकारले विशेष नीति नै बनाउन लागेकोजस्ता चर्चा सुनिन थालिएको छ । तर, सरकार दूरदर्शी बनेर यस्तो नीति ल्याउँदै छ या पश्चदर्शी भएर ? रोचक प्रश्न खडा भएको छ । भूकम्प नआउनु थियो आइसक्यो, तर यो कुनै वर्थ डे पार्टी होइन जो निश्चित तिथिमा आउने ग्यारेन्टी होस् ! अहिले पराकम्पन आइराखेको छ र सरकारी कामकाजलगायत अध्ययन, पठनपाठन, न्यायसेवा, बन्द–व्यापार आदि सर्वत्र काम सुचारु हुन नसकेको अवस्था छ । महाभूकम्प तत्काल आउने सम्भावना टरेको यस परिवेशमा कम्तीमा अर्को सय वर्षको निम्ति भनिएको घरनिर्माण ‘मापदण्ड’को कुनै आवश्यकता छैन । ती त वैशाख १२ भन्दा अगावै हुनुपर्ने कुरा थिए ।
भूकम्प त आयो, आइराख्या छ, जान्छ– त्यसपछि सकियो ! अब त भूकम्पले पु-याएको क्षतिपछिको असरले ल्याउने अर्को महाविपत्तिबाट सक्दो जनधन र क्षति कसरी कम गर्ने भनी सोच्ने बेला हो । भूकम्पले जमिन कमजोर बनाएकाले अब आउने वर्षात्मा बाढी आई बस्ती नै सखाप गर्न सक्छ, ती क्षेत्रको पहिचान गरी त्यहाँबाट अहिले नै बस्ती सार्नु आवश्यक काम हो । अहिले नै भूकम्पले तीन हजार ठाउँमा सुक्खा पहिरो गएको छ, सिन्धुपाल्चोकमा ६ सय ८० वर्गकिलोमिटर पहाड नै भास्सिएको छ, हिमताल फुट्ने खतरा छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ । भूकम्पले देशको अर्थतन्त्रमा नै प्रतिकूल असर पारेको छ र आउँदा दिनमा अझै असर पार्न सक्छ, आगामी दशैँताकाको सिजनमा पर्यटकको नाममा मुसो पनि देश नछिर्न सक्छन्, यस संवेदनशील मामलाप्रति राज्य या सरकारको विशेष ध्यान पुग्नु आवश्यक छ । यस पृष्ठभूमिमा सरकार र निजी क्षेत्र वा कुनै व्यक्तिविशेषले कहीँकतै हतार–हतार निर्णय लिनु हितकर हुँदैन । निकट भविष्यमा पर्न सक्ने विपत्तिका लागि जोहोबाहेक तत्काल अरू कामकुरा नियमितै हुनुपर्छ र फुर्सदमा गहन अध्ययन गरेर योजना बनाउनु कल्याणकारी हुन्छ ।
यतिबेला सबैजसो लेखकहरू ‘भूकम्प विशेषज्ञ’ बन्दै च्याउ उम्रेसरह जथाभावी पत्रपत्रिकामा देखापरेका छन् । यसको कुनै तुक छैन । आगामी दिनमा बाढी आउने, पहिरो जाने, खाद्यान्न अभाव, बस्ती नै सार्नुपर्ने, रोजगारी र नयाँ जीवनको सुरुवातजस्ता कुरा समस्या बनेर देखापर्न सक्छ । व्यावसायिक क्षेत्रमा पहिरो गइसकेको अवस्था छ । तसर्थ, अहिले नै पुनर्निर्माणको कुरा गरिहाल्ने अवस्था छैन ।
काठमाडौंमा अधिकांश विद्यालय डेरावालाका बालबालिकाले भरिएको थियो । तिनले आफ्ना बालबच्चा आ–आफ्नै गाउँ–ठाउँका सुरक्षित स्थानमा लगिसके । त्यसैले काठमाडौंको अधिकांश विद्यालय बन्द हुने अवस्थामा छन् । त्यस्तै, भूकम्पले भारतीय र तराईवासीको सातो लिएको छ । उनीहरू चर्केको घरमा बस्न सहजै काठमाडौं फिर्ता आउनेवाला छैनन् । तीमध्ये कैयन त भारततर्फ लागिसके । व्यापारी हुन् या मजदुर, बानी लागेर मात्र काठमाडौं वा पहाडतिर बसेका हुन्, तर भारतमै छिरेपछि हत्तपत्त फिर्ता आउँदैनन् । यसले पनि विद्यमान राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पुराउँछ । अहिले नै भत्के–चर्केका घर भत्काउन लेवर फोर्सको अभाव भइसकेको छ । यहाँको लोकल लेवर फोर्सले पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ । नेपाली केही हुनासाथ आत्तिने र मात्तिने दुवै गर्छन् । अहिले पत्रपत्रिकामा पोखिएका लेख–रचना, अभिव्यक्ति त्यसैका उपज हुन् । भोग्न धेरै बाँकी छ र गर्न झन् धेरै बाँकी छ ।
कुनै काम गर्नुभन्दा पहिले पछिसम्म हुने राम्रा नराम्रा असरको विश्लेषण गर्नु बुद्धिमत्ता ठहर्छ । भूकम्प रोकियो भने एउटा विपत्तिले विश्राम लिएको मात्र मान्नुपर्छ, तर त्यो नै अन्त्य होइन । विनाशकारी भूकम्पले भोलि विपत्ति ल्याउँछ–ल्याउँछ । जमिन कमजोर भई धेरै स्थानमा पहिरो जाने सम्भावना छ । यसपटक वर्षात्मा देशमा विद्युत् प्रवाह स्वात्तै घट्नेछ, किनकि भूकम्प गएका जिल्लाका हाइड्रोपावर स्टेसनहरू लेदो र थेग्राका कारण असुरक्षित हुन सक्छन् । व्यापार व्यवसायलाई आफ्नो अवस्थामा आइपुग्न अब वर्षौं लाग्न सक्छ । अहिले देशैसँग पैसा छैन भने व्यक्तिसँग त हुने कुरै भएन । पुनर्निर्माण गर्न नसक्दा व्यवसाय बिग्रेकाले देशमा मानसिक रोगीको सङ्ख्या बढ्न सक्छ । काठमाडौं र दोलखामा खर्बौंको भवन क्षति भएको छ, त्यसको क्षतिपूर्ति गर्ने क्षमता न व्यक्ति न त सरकारसँग छ । अर्बौं रुपैयाँ ऋण लिएर ठुल्ठूला अपार्टमेन्ट र हाउजिङ निर्माण गरेका व्यक्तिका भवन बस्नै नहुने गरी चर्केका छन् । यसले ऋणी त डुबेडुबे, तिनमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था पनि डुब्नेछन् । यसले देशको वित्तीय संरचना नै ध्वस्त भई पुनः सुरुवात गर्नुपर्ने हुनसक्छ । माइक्रोफाइनान्समा विपत्तिको नराम्रो असर पर्न सक्छ । विपत्ति टरिसकेकै छैन । देश स्वतः ५० वर्ष पछाडि धकेलिएको छ । तथापि, विदेशी सहयोग पनि अतिसार लिनुहुँदैन । गाउँघरमा घर बनाउन जस्ता, ढुङ्गा, काठ भत्किएकै घरका काम लाग्छन् र गाउँले आफैँले घर बनाउने भएकाले बेग्लै लेवर खास चाहिँदैन । गाउँघरमा प्रत्येक घरलाई ५० बोरा सिमेन्ट, दुई बन्डल ब्लू आइरन (खिया नलागेको रड), ५० हजार रुपैयाँ र चार बन्डल जस्तापाता दिई ‘यसरी घर बनाउनुहोस्’ भनी सामान्य निर्देशन दिए महिना–डेड महिनामा घर तयार भइहाल्छ । देशभरि यसो गर्दा तीनदेखि चार खर्ब रुपैयाँ लाग्ला । यति पैसाको जोहो भए योभन्दा बढी विदेशी सहयोग पनि लिनुहुँदैन । किनकि, पाइयो भन्दैमा बढी लिए चरम दुरुपयोग हुन सक्छ ।