दुई चालक नराख्ने लामो दूरीका ४५ सवारीसाधन कारबाहीमा

दुई चालक नराख्ने लामो दूरीका ४५ सवारीसाधन कारबाहीमा


महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुईजना चालक नराख्ने ४५ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारीसाधनका चालकलाई नागढुंगामा जाँचका क्रममा कारबाही गरेको हो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷–नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालमा ल्याएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारीसाधनमा दुईजना चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानुन नमान्ने सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए ।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुंगामा, प्रदेश २ को सर्लाहीको कर्मैया र प्रदेश ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानुन नमान्ने सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना गरेको महाशाखाले जनाएको छ ।