फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव

फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव


ईन्द्रदह एकिकृत पर्यटन विकास समिमितले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको तयारी पूरा भएको समेत आयोजकले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्ध कदको शालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिए । यसअघिका दुई वटा महोत्सव तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जनाए ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले उक्त महोत्सवमा आफूहरुले पर्यटकहरुको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने,‘यो स्थान आँफैमा एक ईतिहाँस बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाको लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’ आफूहरुले पर्यटकको सुरक्षामा कुनैपनि किसिमको आँच आउन नदिने पनि उनले विश्वास दिलाए ।

त्यस्तै प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोखे । उनले काजि कालु पाँडेको शीर समाधी तथा धार्मीक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिए ।

‘यो एक धार्मिक, ऐतिहासिक, राजनैतिक, पुरातात्विक एवमं पर्यटकीय महत्व बोकेको स्थान हो, त्यसकारण यसको धार्मिक तथा पर्यटन विकासमा सबैले जोड दिनुपर्छ ।’–उनले थपे । उक्त स्थानको पर्यटनका सम्भावनाहरुलाई राज्यले हेर्नुपर्ने सिग्देलको भनाई थियो ।
ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको स्थललाई महत्व बाकेको धारणा राखेका थिए । उनले भने,‘१० ओटा गढी रहेको यो स्थानमा कालु पाँडेको ईच्छानुसार उनको शिर गोरखा देखिनेगरि समाधि गरेको ईतिहाँसमा रहेको छ ।’

उक्त उत्सब तथा शालिक अनावरणको अवसरमा गरिने सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा बिभिन्न बिद्यालय तथा सामाजिक संघ÷संस्थाहरुको पनि सहभागीता रहने उनले जानकारी दिए ।

आयोजकले उक्त क्षेत्रको समग्र विकासको लागि नेपाल भ्रमण–२०२० लाई दृष्टिगत गरि यस क्षेत्रको अझ विकास, संरक्षण एवम् प्रर्वद्धन गर्न दहचोकको पुरै रेन्जलाई नै विकास गर्ने लक्ष्य राखेको पनि जानकारी गराएको छ । काठमाडौंको नैकाप डाँडादेखि ईन्द्रदहहुँदै नागढुंगासम्मको क्षेत्र नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नुपर्ने बत्ताहरुको धारणा रहेको थियो ।

उनीहरुले पर्यटक पदमार्ग नैकापदेखि इन्द्रदहहुँदै नागढुंगासम्मै विश्रामस्थल, साईकल ट्र«ोल, होम–स्टे, होटल, सेमिनार हल, पार्कहरु लगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास सरकारी तथा निजी क्षेत्रको सहभागितामा सम्पन्न गर्ने योजना रहेको रहेको सुनाएका थिए । पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै समितिले आगामी ५ वर्षभित्र ईन्द्रदहमा आन्तरिक तथा बाह्य गरि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।