विवादित जमिन भन्दै नगरपालिकाले रोकेपछि…

विवादित जमिन भन्दै नगरपालिकाले रोकेपछि…


  • अमित साह, वीरगञ्ज

    नेपाली काङ्ग्रेसका लोकप्रिय नेता शेखर कोइराला, महामन्त्री शशाङ्क कोइराला र सुजाता कोइराला वीरगञ्जस्थित एक विवादित जमिनमा खडा गरिएको जिपी कोइराला फाउन्डेसनको कार्यालय भवन उद्घाटन गर्नबाट जोगिएका छन् । काङ्ग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको सो प्रतिष्ठानको कार्यालय भव उद्घाटन गर्नका लागि गत साता उल्लिखित नेताहरू वीरगञ्ज आएका थिए ।

राष्ट्रिय स्तरका नेताहरूबाट विवादित जमिनमा कार्यालय भवन उद्घाटन गराई जमिन बिक्री–वितरण गराउन स्थानीय केही व्यक्तिहरू लागिपरेका थिए । वीरगञ्ज महानगरपालिकाका एक अधिकृतका अनुसार महानगरपालिकाको विशेष तदारुकताकै कारण उद्घाटन कार्यक्रम स्थगित भएको हो ।

फाउण्डेशनको कार्यालय स्थापना गरिएको जग्गाको जग्गाधनी पूर्जामा काङ्ग्रेसका पुर्व नगरसभापति एवम् फाउण्डेनशन पर्साका अध्यक्षकी श्रीमती नजमा बेगमको नाम उल्लेख छ । तर, वीरगन्ज महानगरपालिकाको कार्यालयले भने वडा नम्बर १० स्थित कित्ता नम्बर १८ र कित्ता नम्बर ५३ गरी एक कट्ठा क्षेत्रफलको जग्गा, वर्षौंदेखि नगरपालिकाको निजी हकभोगमा रहेपनि साविकको वीरगन्ज उपमहानगपालिका वडा नम्बर ७ का अरुणकुमार अग्रवालले ०६१ सालमा मालपोत कार्यालयमा जालसाजी र नक्कली कागजात पेश गरेर आफ्नो नाममा दर्ता गराएका र त्यसपछि अग्रवालले ०७४ साल मङ्सिर ११ गते उक्त जग्गा बेगमको नाममा पास गराएको देखिन्छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जग्गा, जालसाजी र गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता र पास गरिएको भन्दै महानगरपालिकाले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ । स्वामित्वको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको जग्गा कब्जा गरी जिपी कोइराला फाउण्डेशनको कार्यालय स्थापना गरिएको महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डा. भीष्मकुमार भुषाल बताउँछन् ।

काङ्ग्रेस पर्साका सभापति द्विवेदीले काङग्रेसले मु्ठभेड गर्न नचाहेकाले उद्घाटन कार्यक्रम स्थगित गरिएको बताए । नजमा बेगमको नाममा रहेको उक्त जग्गा नगरपालिकाको हो भन्ने प्रमाण नरहे पनि शीर्ष नेताहरूलाई विवादमा नपार्नका लागि आफूहरूले संयमता अपनाउँदै उद्घाटन कार्यक्रम स्थगित गरेको उनको भनाई छ । पछि उल्लिखित नेताहरूको हातबाट उद्घाटन गराइने दाबी पनि उनले गरे ।