खोटाङमा बाँदर समाऔँ अभियान

खोटाङमा बाँदर समाऔँ अभियान


भारतबाट झिकाइएका सिकारीद्वारा खोटाङमा बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुऱ्या उन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो ।

बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय सिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

भारतको उत्तरप्रदेशबाट झिकाइएका सिकारीले मंगलबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं. ५ का वडाध्यक्ष निर्मल राईले बताए ।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पुऱ्या उन नगरपालिकाले रु. दश लाख बजेट विनियोजन गरेको छ ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय सिकारी खोटाङ झिकाइएको हो ।

एउटा बाँदर समातेबापत सिकारीलाई रु. दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ । आगामी जेठ मसान्तभित्रमा २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ ।