एउटै गीतले हल्लियो ‘दुईतिहाइ’को जग !

एउटै गीतले हल्लियो ‘दुईतिहाइ’को जग !


  • इन्द्रबहादुर बराल

बहुचर्चित लोकगायक पशुपति शर्माको चेतनामूलक गीत ‘लुट कान्छा लुट, अन्त कतै पाइँदैन नेपालमै हो छुट’ युट्युबमार्फत सार्वजनिक भयो । अत्यन्त कर्णप्रिय उक्त गीतले ज्यादै छोटो समयमा व्यापकता पायो । जनभावना समेटिएको उक्त मर्मस्पर्शी गीतका कारण शक्तिशाली भनिएको नेकपा सरकार डगमगाएजस्तो देखियो । पशुपति शर्माको सुमधुर स्वरले सरकार र सरकारप्रमुखले ठूलै कम्पन महसुस गरे । अन्ततः विभिन्न हथकण्डा अपनाएर सारा नेपालीको प्रिय बन्न सफल गीतलाई प्रतिबन्ध लगाउने प्रयत्नस्वरूप युट्युबबाट हटाइयो ।

दुईतिहाइको जगमा बनेको सरकार यति कमजोर र कायर होलाजस्तो लाग्दैनथ्यो, तर देखियो कमजोर र कायर नै । नेपाली समाजले भोगेको र प्रत्यक्ष अनुभव गरेको तथ्य गीत र सङ्गीतको माध्यमबाट व्यापक हुन्छ भन्ने जानेको कम्युनिस्ट पार्टीको सरकार अत्तालिनु अस्वाभाविक पनि होइन । विगतमा कम्युनिस्टहरूले आफ्नो पक्षमा जनमत निर्माण गर्न अक्सर गीत–सङ्गीतकै सहारा लिने गर्दथे । गीत र सङ्गीतको प्रभावबारे उनीहरू (कम्युनिस्ट)लाई राम्रो ज्ञान थियो र छ पनि । त्यसैले कसैले पनि हल्लाउनै नसक्ने जगमा बनेको सरकारलाई एउटै गीतले हल्लाइदियो ।

निर्मला पन्तको बलात्कारपछिको हत्याले जग खलबलिएको कम्युनिस्ट सरकार पशुपति शर्माको गीतले त असिनपसिन नै बनेको अनुभूति गरियो । शासकहरूमा खैलाबैला नै मच्चाइदियो । यसबाट हाम्रोजस्तो नेपाली समाजलाई गीत–सङ्गीतले बढी प्रभाव पार्दो रहेछ भन्ने प्रमाणित हुन्छ । त्यसमा पनि लोकभाषाको गीत–सङ्गीत अझै बढी नै प्रभावकारी साबित भएको छ ।

यिनै कम्युनिस्टहरू जसले हिजो कथित तवरमा विद्रोह गरे र त्यो विद्रोहलाई सशक्त र प्रभावकारी सङ्गठन निर्माणमा लोकगीतको माध्यमबाट निकै सफलता पनि पाए, जसका कारण गीत–सङ्गीतको प्रभावबारे उनीहरूलाई राम्रै अनुभव छ । त्यही अनुभवका कारण पशुपति शर्माको पछिल्लो लोकगीत ‘लुट्न सके लुट’ गीतको बोलबाट सरकार सशङ्कित भएको बुझन नसकिने विषय रहेन । तर, संविधानप्रदत्त अधिकारको प्रयोग गर्दा र समाजमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको पर्दा उघार्दा सरकार तर्सनुपर्ने त थिएन । विकृति, विसङ्गति र भ्रष्टाचारजन्य कार्यबाट सच्चिँदै अघि बढ्ने एउटा मार्गनिर्देशनको रूपमा लिनुपर्नेमा उल्टै गीतकारलाई नै अप्रत्यक्ष रूपमा मनोबल खस्काउने काम गरेको पाइनु दुःखद् हो ।

यत्रतत्र सर्वत्र सरकार असफल देखिएको अवस्थामा पशुपति शर्माको गीत चोटिलो भएर आयो । त्यही चोटिलो गीतको प्रहारबाट रन्थनिन पुगेको ओली सरकार तथा सरकारसम्बद्ध दलका कार्यकर्ता कलाकार धम्क्याएर गीतमाथि नै प्रतिबन्ध लगाउनेसम्मको हर्कतमा उत्रिए पनि ब्यापक विरोध र जनदबाबबाट हच्किन पुग्यो ।

कलाकार पशुपति शर्माले ३३ किलो सुनको कुरादेखि निर्मला पन्त प्रकरण, वाइडबडी, एनसेल काण्डलगायतका मुद्दालाई समेटेर गीतको माध्यमबाट नेपाली जनतालाई सुसूचित र सचेत गराउन खोजेका थिए, के यो उनको भूल थियो त ? होइन भने उनको प्रतिभालाई अकुण्ठित रूपमा अघि बढ्नबाट रोक्न किन खोजियो ?

जेहोस्, गीत–सङ्गीतको माध्यमबाट सामाजिक–राजनीतिक विकृति, विसङ्गति र भ्रष्टाचारलाई जरैदेखि हल्लाउन सक्ने क्षमता राख्दोरहेछ भन्ने यो प्रकरणले स्पष्ट सन्देश दिएको छ । जनताले ठूलै इच्छा–आकाङ्क्षा राखेर निर्माण गरेको दुईतिहाइको सरकार आकाश–पातल कुरा मात्रै गर्ने, व्यवहारमा जनताको पक्षमा सिन्को नभाँच्ने प्रवृत्ति दर्शाइरहेको अवस्थामा कमजोर आत्मबलबाट ग्रसित भएको समेत छर्लङ्ग हुन पुग्यो । एउटा कलाकारको स्वस्फूर्त गीति–अभिव्यक्तिबाट तर्सिएर कायरतापूर्ण कदम चालेबाट यही सन्देश प्रवाहित भएको छ । कतै अब कम्युनिस्ट सरकार अधिनायकवादको भित्री रिहर्सल (अभ्यास) गर्न लागेको त होइन ? यो गम्भीर प्रश्न पनि यही परिवेशबीच खडा भएको छ । किनकि, कलाकार पशुपति शर्माले ३३ किलो सुनको कुरादेखि निर्मला पन्त प्रकरण, वाइडबडी, एनसेल काण्डलगायतका मुद्दालाई समेटेर गीतको माध्यमबाट नेपाली जनतालाई सुसूचित र सचेत गराउन खोजेका थिए, के यो उनको भूल थियो त ? होइन भने उनको प्रतिभालाई अकुण्ठित रूपमा अघि बढ्नबाट रोक्न किन खोजियो ?
सेन्सरबोर्ड राखेर सबै लेख–रचना र गीत–सङ्गीतलाई नियन्त्रण गर्न खोज्नु निःसन्देह अधिनायकवाद नै हो । लोकतन्त्रमा सेन्सरसिप स्वीकार्य हुँदैन । लेख, रचना तथा गीत–सङ्गीत जसले लेख–रचना तथा गीत–सङ्गीतका क्षेत्रमा काम गर्छ आफ्नै त्यस्ता कार्यको जवाफदेही आफैँले लिने गर्छ । लेख, रचना, गीत–सङ्गीतबाट भएगरेका अमर्यादित र अनुत्तरदायीको जवाफदेही स्वयम् आफैँले वहन गर्ने हो ।

अहिले सामाजिक सञ्जालमा जताततै भ्रष्टाचारकै चर्चा पाइन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको विवरणमा पनि नेपाल ‘भ्रष्टाचारमा झनै बढी नै देखिएको छ । यस्तो अवस्थामा गीतमार्फत साङ्केतिक रूपमा ‘यमराजको जस्तो शासन’ भन्नुमा किन आपत्ति ? के देवताले नै शासन गरेका छन् भनेर भजन गाउने त ? यसर्थ आफूले जनतासँग वाचा–कबुल गरेका काम–कुरा पूरा नगर्ने अनि समाजमा जे देखियो त्यसलाई गीतको माध्यमबाट सार्वजनिक गर्दा एउटा प्रतिभाशाली लोकगायकको तेजोबध गर्न उद्यत् हुने प्रवृत्ति अधिनायकवाद हो भन्दा अत्युक्ति नहोला ।

मानिसको मौलिक अधिकारमाथि नजानिँदो ढङ्गले एकपछि अर्को अधिकारमा अङ्कुश लगाउँदै जाने प्रवृत्ति नै अधिनायकवाद हो । सुनिँदै छ– सामाजिक सञ्जालमाथि पनि सेन्सर हुँदै छ । अनेक वहानाबाजी गरेर सञ्चारमाध्यमलाई राज्यनियन्त्रित गर्ने भित्री प्रपञ्च गरिँदै छ । सञ्चारमाध्यमलाई राज्यले आफ्नो नियन्त्रणमा लिएपछि नेपालमा रामराज्यको घोषणा गर्ने योजना हुन सक्छ ‘यमराज्य’मा । एउटा गीतमा अङ्कुश लगाउने सरकारले भोलि अर्को कुनै क्षेत्रमा अङ्कुश नलगाउला भन्न सकिँदैन । ‘पाडो खानेले माउ राख्दैन’ भन्ने उखान चरितार्थ हुन सक्छ । मौका पाउना साथ भेनेजुएलाको बारेमा आफ्नो परराष्ट्रनीतिविपरीत सक्कली अनुहार देखाउने नेकपाले कुनै पनि बेला अधिनायकवादी रूप नदेखाउला भन्न सकिँदैन ।

पक्कै पनि कम्युनिस्ट भनेका सिद्धान्ततः अधिनायकवादी नै हुन्, मौका मिले छाड्नेवाला छैनन् । अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएर अहिले लोकतन्त्रको कुरा गरे पनि पूरै विश्वास गरिहाल्ने अवस्था छैन । आफ्नो विरोध र आलोचना सहन नसक्नेहरू कहिल्यै पनि लोकतन्त्रवादी हुन सक्दैनन् चाहे जोसुकै होस् । अन्त्यमा पुनः भन्नैपर्छ– दुईतिहाइको दम्भका साथ सरकारमा अधिनायकवादी चरित्र दिन–प्रतिदिन उजागर हुन थालेकोले सबै होसियार हुन जरुरी छ ।