मन्त्रिमण्डल पुनर्गठन निश्चित : को पर्दै र को हट्दै छन् ?

मन्त्रिमण्डल पुनर्गठन निश्चित : को पर्दै र को हट्दै छन् ?


सरकार गठनको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुग्नुभएको छ । समाचारअनुसार उहाँ केही व्यक्तिलाई मन्त्रिमण्डलबाट हटाएर नयाँ मानिसलाई सामेल गर्न चाहनुहुन्छ भने केहीको विभाग बदल्ने सोच उहाँले बनाउनुभएको छ । यस विषयमा केपीले सहअध्यक्ष प्रचण्डसँग पनि एक चरणको समझदारी बनाइसक्नुभएको बुझिएको छ ।

हालका मन्त्रीहरूमध्ये कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’, उद्योगमन्त्री मातृका यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कामबाट प्रधानमन्त्री असन्तुष्ट रहनुभएको बताइएको छ ।

त्यसो त मलेसियामा रोजगारी सुचारु गराउन नसकेकोमा गोकर्ण विष्टसँग पनि असन्तुष्ट रहनुभएको, तर पछिल्लो समयमा विष्टका कतिपय कार्यव्यवहारबाट प्रधानमन्त्री खुसी हुनुभएको ठानिएको छ । तथापि प्रचण्डले गोकर्ण विष्टलाई श्रम मन्त्रालयको जिम्मेवारीबाट हटाउन दबाब दिएकोले विष्टलाई अर्को कुनै विभागको जिम्मेवारी दिइने सम्भावना छ । मन्त्रिमण्डलमा नेताहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र योगेश भट्टराईलाई सामेल गर्नेबारेमा छलफल चलेको बुझिएको छ । प्रधानमन्त्री ओलीका आलोचकहरूले योगेश भट्टराईलाई केपीको मन्त्रिमण्डलमा सामेल नहुन सुझाव–दबाब दिएको पनि समाचार सूत्रहरूले जनाएका छन् ।

मन्त्रिमण्डलबाट मातृका यादव, रवीन्द्र अधिकारी र चक्रपाणि खनाललाई बिदा गरिने सम्भावना छ भने युवराज खतिवडा र प्रदीप ज्ञवालीको विभाग परिवर्तन गर्ने विषयमा पनि छलफल भएको बताइन्छ । रामबहादुर थापा बादललाई गृहको जिम्मेवारीबाट पन्छाउन प्रचण्डले चाहेकोले उनको पनि विभाग बदलिने या मन्त्रिमण्डलबाट नै बिदाइ हुन सक्ने सम्भावना रहेको छ । मार्च महिनामा लगानी सम्मेलन आयोजना गरिएकोले त्यसअघि अर्थमन्त्री बदल्नु उपयुक्त हुने या नहुने विषयमा पनि उच्च तहमा छलफल भएको बुझिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गरिने निश्चित भइसकेको भए पनि कहिले गर्ने भन्ने विषयको टुङ्गो भएको छैन । तर, बालुवाटारको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओली यथाशीघ्र मन्त्रिमण्डल पुनर्गठन गर्ने मानसिकतामा हुनुहुन्छ, त्यसैले कुनै पनि बेला यो कार्य सम्पन्न भएको खबर सार्वजनिक हुन सक्नेछ ।