भाग्ने तयारीमा मादुरो : दुई सरकारी विमानमा भरियो सामान

भाग्ने तयारीमा मादुरो : दुई सरकारी विमानमा भरियो सामान


भेनेजुएलाका तानाशाह निकोलस मादुरो देश छोडेर भाग्ने तयारीमा रहेको कोलम्बियाका लोकप्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मादुरोले दुईवटा सरकारी विमानमा ‘आफ्नो सम्पत्ति’ लोड गरेर तयारी अवस्थामा राखेका छन् र उनी कुनै पनि बेला देश छोडेर भाग्न सक्छन् ।

कोलम्बियाको सबैभन्दा लोकप्रिय मानिएको काराकोल दैनिक र ब्लु रेडियो नेटवर्कले मादुरो भागेर पूर्वीयुरोपको कुनै मुलुक या इरानतर्फ जान सक्ने बताएका छन् ।

मादुरोविरुद्ध सङ्घर्षमा उत्रिएका लाखौँ जनताले अहिलेसम्म सडक छोडेका छैनन् र त्यहाँको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । बजारमा खाद्य सामग्री र औषधिको पूरै अभाव हुन पुगेको छ र खानेकुरा तथा औषधिको अभावमा मर्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

बढ्दो मानवीय सङ्कटमा राहत सहयोगका निम्ति अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेका प्रयासप्रति मादुरो असहिष्णु देखिएका छन् । छिमेकी मुलुक कोलम्बियाबाट भेनेजुएला प्रवेश गर्ने सडकको पुलमा कन्टेनरहरू पैदा गरेर मादुरोले खाद्यान्न, लत्ताकपडा र औषधि आपूर्तिमा अवरोध खडा गरिदिएका छन् । साठी लाख भेनेजुएलीले देश छोडिसकेका छन् भने यो क्रम अझै रोकिएको छैन ।

भेनेजुएलाको सेनासमेत दुई समूहमा विभाजित हुन थालेका छन् । सेनामा मत विभाजन भए पनि अहिलेसम्म दुईपक्षीय सङ्घर्ष शुरु भएको छैन । मादुरो नपन्छिएमा कुनै पनि बेला दुई पक्षबीच हिंसात्मक सङ्घर्ष शुरु हुन सक्ने सङ्केतहरू देखापर्न थालेका छन् । अहिले मादुरोको अड्ने आधार भनेकै आफूसमर्थक सेना र चाबिष्टा (वाईसीएल र युवासङ्घजस्तै सत्ताको संरक्षणमा पालितपोषित दस्ता) रहेका छन् । उनीहरू अहिलेसम्म थाकिसकेका छैनन्, तर उर्लंदो जनसङ्घर्षलाई अब धेरै दिनसम्म थेग्न सक्ने अवस्थामा ‘चाबिस्टा’हरू रहेको ठानिँदैन ।

‘चाबिस्टा’हरूको भागाभाग हुनेबित्तिकै सेनाले समेत साथ छोड्न सक्ने भएको हुँदा मादुरोले भाग्नका निम्ति दुई सरकारी विमान तयारी अवस्थामा राखेको बताइन्छ । कोलम्बियास्थित हाम्रा सहयोगी छत्र मैनालीका अनुसार अब कुनै पनि दिन मादुरो भाग्न सक्नेछन्, उनी नपन्छिएसम्म भेनेजुएलाको स्थिति सामान्य हुने देखिएको छैन ।