‘नेशनल मुभमेन्ट’ले यसरी मनायो प्रजातन्त्र दिवस

‘नेशनल मुभमेन्ट’ले यसरी मनायो प्रजातन्त्र दिवस


नेशनल मुभमेन्ट र नागरिक समाजको आयोजनामा ६९औँ प्रजातन्त्र दिवस एवम् पूर्व श्री ५ बडामहारानीको ६९औँ जन्मोत्सव मनाइएको छ । बीपी पुत्र प्रकाश कोइराला अध्यक्ष रहेको नेशनल मुभमेन्टको शङ्खपार्क (चक्रपथ, काठमाडौं)स्थित कार्यालयमा आयोजित समारोहको अध्यक्षता मुभमेन्टका संस्थापक सह–अध्यक्ष पदम पाण्डेले गरेका थिए भने कार्यक्रमका वक्ताहरूमा ध्रुवहरि अधिकारी (प्रमुख अतिथि), देवराज अधिकारी, भरत बस्नेत, रोहित थापा, पेसल निरौला, यज्ञलक्ष्मी कुँवर थापा, आमेकुमार श्रेष्ठ, मीना सुवेदी, मीना स्वर्णकार, सूर्यनारायण शाहलगायत थिए ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति पाण्डेले विगत ६८ वर्षदेखि मुलुक राजनीतिक परिवर्तनको चक्रब्युहमा फसेको र लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहँदा पनि नेपाली जनता इतिहासकै सकसपूर्ण जीवन बाँच्न विवश भएका धारणा राखे । देशलाई थप सङ्कटमा पर्नबाट जोगाउँदै शक्ति, स्थिरिता र समृद्धितर्फ अघि बढाउन विगतका भूलको आत्मसमीक्षा गरी त्यसलाई सच्याउने दायित्व तमाम नेपाली जनताको काँधमा आएको उनको तर्क थियो ।