ब्याजदर विवाद सम्बोधन गर्ने जिम्मा राष्ट्र बैंकको काँधमा

ब्याजदर विवाद सम्बोधन गर्ने जिम्मा राष्ट्र बैंकको काँधमा


बैंक तथा वित्तीय संस्थामा ब्याजदर उच्च भएपछि उद्योगी–व्यवसायीले नियन्त्रण गर्न सरकारलाई दबाब दिदै आएका छन् । सरकार पनि नीतिगत रुपमा लचक हुँदा बैंकहरु भने व्याजदर घटाउन राजी भएका छैनन् । विवादकै बीच अन्तिम किनारा लगाउने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको छ ।

दुई महिनाअघि अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा र पूँजी बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकले ब्याजदर घटाउन बैंकहरुलाई दबाब दिएको थियो । बैंकहरुले निक्षेपमा ब्याजदर घटाए पनि । तर, आधारदर नघटेको भन्दै कर्जामा घटाएका छैनन् । उद्योगीलाई सहयोग पु¥याउने उद्देश्यले सरकार नीतिगत रुपमा लचिलो बन्दै गर्दा पनि बैंकहरुले नाफा कमाउनकै लागि आधार ब्याजदरमा बठ्याई गरे । जसप्रति असन्तुष्ट उद्योगीले व्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् ।

ब्याजदर नघटाउन बैंकहरुले के गरे ?

– राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदा समेत कर्जाको ब्याजदर नघटाउनु
– आधार ब्याजदरमा जोडिने प्रतिफल हटाउँदा जोखिम व्यवस्थापना जोड्नु
– ब्याजदरमा स्प्रेडदर नघटाउनु
– ब्याजदरमा सरकारले दिएको सहुलियत उद्यमीले नपाउनु
– स्रोत अभाव भएर लगानी भएन भन्ने बैंकहरुको नाफा नरन्तर बढ्नु

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीलाई भेट गरी माग सम्बोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएपछि ब्याजदरको विषय थप पेचिलो बन्दै गएको छ । बैंकरहरु ब्याजदर नघटाउने अडानमा छन भने सरकार र राष्ट्र बैंकले हस्तक्षेपसम्म हुन सक्ने चेतावनी दिएको छ । ब्याजदरको विवाद उत्कर्षमा पुगेपछि समस्या समाधानका लागि मध्यमार्गी बाटोसमेत खोज्न थालिएको छ ।

ब्याजदर निर्धारणमा बैंकहरुले गलत हिसाब गरेको हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले आन्तरिक लेखापरीक्षकले प्रमाणित गरको हिसाब समेत मागेको छ । त्यस्तै, सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री, गभर्नर, बैंकर र उद्योगी– व्यवसायीबीच छलफल भयो । छलफलपछि ब्याजदरको विवाद समाधान गर्ने जिम्मा केन्द्रीय बैंकले पाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले विवाद टुङ्ग्याउने अपेक्षा छ । समीक्षा यही साताभित्र हुन्छ ।