आक्रोशित कराते प्रशिक्षक र पदाधिकारीले दिए चेतावनी

आक्रोशित कराते प्रशिक्षक र पदाधिकारीले दिए चेतावनी


युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको ‘विवाद समस्या समाधान सहजीकरण समिति’का संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले कामभन्दा कुरा बढी गर्दै राष्ट्रिय खेलकुद संघलाई धम्क्याउन थालेपछि ती संघका पदाधिकारी भडकिएका छन् । गत साता नेपाल सितोरियो कराते महासंघको विवाद समाधान गर्ने निहुँमा समितिका संयोजक तिम्सिनाले कराते महासंघलाई धम्कीपूर्ण रूपमा पत्राचार गरेपछि कराते संघसम्बद्ध सम्पूर्ण खेलाडी, प्रशिक्षक र पदाधिकारी आक्रोशित बनेका हुन् । साथै ती करातेका प्रशिक्षक र पदाधिकारीले दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा एक छलफल कार्यक्रमको आयोजना गर्दै संयोजक तिम्सिनालाई चुनौतीसमेत दिएका छन् ।

राखेपका सदस्य तथा नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङको नेतृत्वमा आयोजना गरिएको उक्त छलफल कार्यक्रम करातेका प्रशिक्षक र पदाधिकारीले खेलकुद मन्त्रालयले गठन गरेको समितिलाई ठाडै चुनौती दिँदै करातेलाई चलाए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका थिए । उनीहरूले समितिको धरातल के हो, त्यसमा बस्न आग्रह गर्दै करातेमा राजनीति गर्न खोजे संयोजक तिम्सिनाको राजनीतिसमेत सिध्याइदिने चेतावनी दिएका थिए । साथै बिनाकारण राजनीतिक शक्तिको आडमा करातेलाई विवादमा तान्न खोजे अरिँगालको रूपमा प्रस्तुत हुने बताए । शान्त अरिँगालको गोलोलाई ढुंगा हाने ढुंगा हान्नेको कस्तो हविगत हुन्छ त्यो कुरा यो समितिले बुझ्नुपर्ने भन्दै समितिलाई सत्य के हो त्यसको पर्दाफास गर्न सुझाव दिएका थिए ।

यतिबेला सितोरियो कराते महासंघको दुईवटा अध्यक्ष छन् । जसमा राष्ट्रियको प्रतिनिधित्व दावा गुरुङले गरेका छन् । जसलाई राष्ट्रिय खेलकुद परिषदको मान्यता प्राप्त हुनुको साथै सम्पूर्ण करातेको खेलको गतिविधि यहि गुरुङ अध्यक्ष रहेको सितोरियो कराते संघले गर्दै आएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मान्यताको आधारमा महासंघको अध्यक्ष भएको दाबी पुरेन्द्र्रविक्रम लाखेले गर्दै आएका छन् । लाखेको कार्य भनेको करातेको विकासभन्दा विवाद कसरी ल्याउने त्यसमा केन्द्रित छ । विगत एक दशकको अवधिमा उनी यस्तै हर्कत गर्दै करातेलाई विवादित बनाउँदै आएका छन् । सर्वोच्चद्वारा अवैधानिक नेपाल ओलम्पिक कमिटीको उपाध्यक्षको पावरमा उनले करातेको हुर्मत लिन कार्य गरेका छन् । पछिल्लोपटक केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाइको सरकार बनेपछि लाखेको पावर अझै बढेको छ । यसर्थमा ओलीले लाखेलाई आफ्नो निकटको कार्यकर्ता माने–नमाने पनि लाखेले भने आफूलाई ओलीको हनुमान भएको बताउँदै आएका छन् । अझ फेद टुप्पो केही नभएको खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समितिको संयोजकमा तिम्सिना संयोजक बनेपछि लाखेका खुट्टाले भुइँ छोडेका छन् । यतिबेला लाखे करातेको वागडोर आफूले सम्हाल्ने दिवास्वप्न देखिरहेका छन् ।

लाखेको यो दिवास्वप्न पूरा गर्न संयोजक तिम्सिना अहिले ज्यान छोडेर लागेका छन् । यी दुवैले अहिले ‘काले काले मिलेर खाऊँ भाले’को षडयन्त्र रच्दै दावाको करातेमा धावा बोलेका थिए । तर, त्यसको परिणाम नकारात्मक आएपछि अहिले दुवैले मौनता साँधेका छन् । उनीहरूको यो षडयन्त्रलाई करातेका प्रशिक्षक र पदाधिकारीहरूले खुलेआम चुनौती दिँदै कुनै षडयन्त्र गरे अधिराज्यभरिबाट कराते खेलाडी, प्रशिक्षक उतार्दै नांगेझार पार्ने चेतावनी दिएका थिए । राखेपका पूर्वकोषाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले अनुशासित कराते खेललाई विवाद ल्याउन खोज्नेलाई ‘धुन्धुकारी’को संज्ञा दिँदै समितिका संयोजक तिम्सिना र लाखेलाई यस्तो भूमिकाबाट टाढा रहन आग्रह गरेका थिए । साथै श्रेष्ठले संयोजक तिम्सिनालाई सत्य के हो त्यो तपाईंलाई पनि थाहा छ भन्दै सत्यतालाई आत्मसात् गर्दै सोही किसिमको प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरेका थिए । तर, करातेका मुख्य प्रशिक्षक शोभियतराज प्रसाईंले चर्का कुरा गर्दै कराते करातेमाथि गिद्धेनजर लगाउने जोकोहीलाई स्वयं करातेका खेलाडी र प्रशिक्षकले सबक सिकाउने खुलासा गरे । तयारी भएर बसे हुन्छ यदि करातेलाई अझै विवाद तुल्याउन खोजियो भने त्यस्ता व्यक्तिहरूलाई मुसाको दुलोमा लुकेर बसेको भए पनि खोजेर ल्याउने र कारबाही गर्ने बताए ।

छलफल भने पनि विरोध कार्यक्रमजस्तो बनेको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले आफूले सबै प्रशिक्षक र पदाधिकारीको कुरा सुनेको र यही कुरालाई माथिल्लो निकायमा लाने र समस्या समाधान गर्ने बताए ।