पोखरा म्याराथनमा पाँच हजार पोखरेली दौडनेछन् : अध्यक्ष गुरुङ

पोखरा म्याराथनमा पाँच हजार पोखरेली दौडनेछन् : अध्यक्ष गुरुङ


भूतपूर्व खेलाडी मञ्चका आयोजनामा यही फागुन ७ गते आयोजना हुने ‘१३औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ मा ५ हजार पोखरेली एकसाथ दौडने मञ्चका अध्यक्ष तेज गुरुङले बताए । मञ्चले फागुन ४ गते पोखरामा म्याराथनको सम्पूर्ण तयारीबारे जानकारी गराउन आयोजित कार्यक्रममा बताएका हुन् । साथै अध्यक्ष गुरुङले गत संस्करणहरूभन्दा यसपटक सबैमा निकै उत्साह आउने गरी कार्यक्रम अगाडि बढेको बताए ।

७ गते बिहान ६ः३० बजे हुरु पोखरा रंगशालामा गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३औँ पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेसियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले. कुशाङ गुरुङको पनि उपस्थिति रहने अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता बुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी, ब्रेष्ट क्यान्सरविरुद्धकी अभियान्ता एवं पूर्वभलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोस्टनका याम पौडेल, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङसमेत सहभागिताका लागि पोखरा आइसकेको बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फबाट अध्यक्ष मानप्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे । त्यसैगरी, अमेरिकास्थित बोस्टन र न्यू ह्याम्पसायरलाई आफ्नो कर्मक्षेत्र बनाएर बस्दै आएका नेपालीले ३ लाख रुपैयाँ सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । यस्तै, हङकङवासी नेपालीबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका– ५ का तर्फ वडाकाध्यक्ष एवम् महानगरका प्रवक्ता धनबहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गरेका थिए । सो अवसरमा बोल्दै पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु सबैको गौरवको विषय भएको बताए । बोस्टनका याम पौडेलले अमेरिकाबाट नेपालका अन्य क्षेत्रमा सहयोग गरिरहेको भए पनि पहिलोपटक खेलकुदको क्षेत्रमा सहयोगका हात अगाडि बढाउन पाउँदा निकै खुसीको अनुभूति भएको धारणा राखे । ब्रेस्ट क्यान्सरविरुद्धकी अभियन्ता एवं पूर्वभलिबलकी राष्ट्रिय खेलाडी मञ्जु गुरुङले दुई दशकपछि खेलकुदका लागि आफ्नो मातृभूमि टेक्न पाउँदा गर्व लागेको बताइन् ।

उक्त प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट संकलन भएको बताउँदै गुरुङले प्रतियोगिताको लागि करिब २३ लाख खर्च हुने बताए । गण्डकी प्रदेश सरकारले उक्त प्रतियोगितालाई सफल पार्न २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ उक्त प्रतियोगिताका प्रमुख संरक्षकमा रहेका छन् भने संरक्षकमा भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी रहेका छन् ।

प्रतियोगितालाई सफल पार्न २६ वटा उपसमिति बनाएर तयारी तीव्र पारेको जनाउँदै हालसम्म ३ सय ५७ वटा संघसंस्थासँग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए । प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरूलाई छुने बताउँदै अध्यक्ष गुरुङले वडाध्यक्षहरूले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।

फागुन ७ गते हुने पोखरा म्याराथनलाई हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले पोखरा म्याराथनका लागि विशेष रूपमा आफ्नो तयारी गरी युके, हङकङ, बोस्टनलगायत अन्य मुलुकबाट सहभागिताका लागि आउने क्रम जारी रहेको जानकारी दिए ।