स्वर्ण पदक विजेता महर्जनलाई ‘काव्य खेल सम्मान’

स्वर्ण पदक विजेता महर्जनलाई ‘काव्य खेल सम्मान’


गत पुसमा थाइल्यान्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित ‘काव्य खेल सम्मान– २०७५’ प्रदान गरेको छ । महर्जनका कारण नेपालले शारीरिक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेको थियो ।

जावलाखेलस्थित खेलमैदानमा आयोजित नवौँ काव्य खेल सप्ताह समापनको अवसरमा काव्य स्कुलले स्वर्णपदक विजेता महर्जनलाई नगद ५ हजारसहित ‘काव्य खेल सम्मान’बाट सम्मान गरेको हो । सो विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरू रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए । काव्य स्कुलले २ वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पनि ‘काव्य खेल सम्मान’ प्रदान गरेको थियो ।

नवौँ काव्य खेल सप्ताह समापनको अवसरमा स्वर्ण विजेता महर्जनको सम्मानमा काव्य स्कुलका विद्यार्थी कोसिस, सुमन, म्याक्स, धीरेन्द्र्र, प्रसन्न, निश्चल, दीक्षान्त, जोनिश तथा कुशलले शारीरिक सुगठन प्रस्तुत गरेका थिए । यसैगरी विद्यार्थीले तेक्वान्दो, उसु, मार्चपास, नृत्यलगायत विविध खेलकुद प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कुलले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाइरहेको उल्लेख गर्दै ६ वर्षभन्दा साना बालबालिकालाई पढाइ होइन शारीरिक तथा बौद्धिक विकासको लागि खेलकुदमा सहभागी गराउनुुपर्नेमा जोड दिए ।

नवौँ काव्य खेल सप्ताहमा तेक्वान्दो, उसु, फुटसल, फुटबल, भलिबल, विभिन्न दूरीको रिले दौडलगायत दुई दर्जन प्रकारका खेलकुदहरू समावेश गरिएको थियो ।