फोक्सोसम्बन्धी समस्याबाट नेपाली चेलीको अमेरिकामा निधन

फोक्सोसम्बन्धी समस्याबाट नेपाली चेलीको अमेरिकामा निधन


  • छत्र मैनाली, बोगोटा डिसी (कोलोम्बिया)

काठमाडौँको असनमा जन्मिएकी ३१ वर्षीय प्राशा तुलाधरको फोक्सोसम्बन्धी समस्याबाट अमेरिकाको न्युयोर्कस्थित अस्पतालमा निधन भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार २०१९ फेब्रुअरी ७ तारिखका दिन उपचारकै क्रममा निधन भएको हो ।

तीन वर्षअघि फोक्सो प्रत्यारोपण गरेर पुनर्जीवन पाएकी प्राशा न्युयोर्कमा श्रीमान् दीपक महर्जन र ६ वर्षीया छोरी जोलेनका साथ बस्दै आएकी थिइन् ।

गत डिसेम्बर १६ का दिन फोक्सोमा सङ्क्रमण, स्वास फेर्न गाह्रो हुँदै गएपछि न्युयोर्कस्थित न्युयोर्क प्रेस्वेटेरियन मेडिकल इन्टेन्सिभ केयर युनिटमा भर्ना गरेको प्राशाका बुवा प्रकाशधर तुलाधरले बताए । दुई महिनादेखि अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी प्राशाको फोक्सो र मृगौलामा समस्या देखिएको थियो ।

आईसीयुमा इक्मो, भेन्टिलेटर र डाइलाइसिसलगायत उपचार भइरहेको थियो । चिकित्सकहरूले पुनः नयाँ फोक्सो र मृगौला फेर्न सकिने सल्लाह दिएका थिए । पुनः फोक्सो र मृगौलाको उपचारको निम्ति ठुलो रकम लाग्ने हुनाले नेपाली समुदायसमक्ष गो फन्डमा आर्थिक सहयोगको अपिल गरिएको उनले बताए ।

‘एक लाख डलरको लक्ष्यसाथ आव्हान गरिएको गो फन्ड आर्थिक अभियानमा सहयोग जुट्ने क्रम जारी थियो, तर सहयोग जुट्दै गर्दा आफ्नो मुटुको टुक्रा जस्ती छोरीले सधैको लागि संसार छोडेर गइन्’, भावुक हुँदै बुबा प्रकाशधर तुलाधरले टेलिफोनमा बताए ।

सन् २०१६ मा फोक्सो प्रत्यारोपण गरेपछि प्राशाले आफूजस्तै अन्य बिमारीको उपचारको निम्ति अङ्गदान जनचेतना अभियान सञ्चालन गरेकी थिइन् । अङ्गदान र छालासम्बन्धी लाग्ने रोग स्क्येरेडोमा बारे जनचेतना जगाउँंदै सन् २०१८ मा श्रीमान दीपक महर्जनसँग न्युयोर्क राज्यका सांसदहरूलाई भेट्न वाशिंगटन डिसीस्थित क्यापिटलहील पुगेकी थिइन् ।

गत फेब्रुअरी ९ तारीख न्युयोर्कस्थित पापाभेरो फनेरल होममा अन्तिम संस्कार गरिएको बुबा प्रकाशधरले बताए । प्राशाको अन्तिम संस्कारमा आफन्त, शुभचिन्तक, साथीभाइहरूको उल्लेख्य उपस्थिति रहेको बताए ।