- रामेश्वर राउत मातृदास
कसैले धाक लाउनुपर्दैन कसैले धम्की
कोही केही होइनन् बस्नुपर्दैन कसैले गम्की
समयको थप्पडले समुद्र सुक्छ आकाश झुक्छ
भुसुने मान्छे लाउँछ फुर्ति चकमे धूलोमा चम्की ।
(१)
मान्छे छौँ कि छैनौँ ?
मान्छे हौँ हौँ कि हैनौँ ?
प्रश्नैप्रश्न छ यत्रतत्र सर्वत्र ?
उत्तर दिने कोही छौ कि छैनौ ?
(२)
सही नसक्नु छ कहिलेसम्म हो तेरो अत्याचार
तेरो हुँदैहोइन समय, तेरै रहिरहँदैन बारम्बार
सम्पूर्ण हिसाब–किताब मौजुदा छ दुरुस्त समयसँग
धैर्य गर्नु छ यो अलमलो, छिचोलिनेछ वारपार
३)
अन्धकार घनीभूत गाढा छ
सुखम् समृद्धि अझै टाढा छ
विषाक्त ईष्र्यालु शकुनी हरेक मनमनमा रहेकाले
मूर्खतापूर्ण दम्भ र दुर्भावना मौजुदा छाडा छ ।
४)
कुनै प्रयास–दुष्प्रयासले आकाश ढल्दैन
शिर नै बचेन भने पुच्छरको केही चल्दैन
कहिलेसम्म चेतनाका ढोकामा ताल्चा लाउने ?
सम्झे हुन्छ विषवृक्षमा अमृत कहिल्यै फल्दैन ।
(५)
प्रतिक्रिया