अमेरिकामाम वित्तीय ट्रान्सपरेन्सीमा कडाइ

अमेरिकामाम वित्तीय ट्रान्सपरेन्सीमा कडाइ


  • सानुबाबु सिलवाल, यूएसए

पहिलेजस्तो अब अमेरिकाबाट नेपाल वा नेपालबाट अमेरिका वा जुनसुकै देशबाट नेपाल या नेपालबाट जुनसुकै मुलुकमा रकम अर्थात् करेन्सी पठाउने, पाउने, लेनदेन गर्ने, कारोबार गर्ने, आतेजाते गर्दा साथमा बोक्ने, ट्रान्सफर गर्ने कुनै पनि गतिविधिमा हरेक मुलुकले निगरानी, कडा नियम र निषेध एवम् दायराभित्र कसिकसाउ गर्दै लगिरहेका छन् । पहिलेजस्तो ट्राभल गर्दा भनेजति रकम जुनसुकै मुलुकको मुद्रा, ट्राभलर चेक, बैंक वा वित्तीय संस्थाको नोट, फरेन करेन्सी, सेक्युरिटिज स्टक बोकी हिँड्न अब पाइएन । अन्तर्राष्ट्रिय मुद्रा कोष एवम् वित्तीय कानुनअन्तर्गत मनी लन्ड्रिङको पोलिसी एवम् कानुन सबै मुलुकले फलो गर्नुपर्ने हुन्छ अब ।

हिजोजस्तो मनलाग्दी रूपमा मनी ट्रान्सफर गर्ने विभिन्न कम्पनी वेस्ट्रन युनियन, मनीग्राम, बैंकिङ वायर, आईएमएस, पे पललगायतबाट रकम पठाउँदा, रिसिभ गर्दा, वायर गर्दा मनी लन्ड्रिङ र मनी सर्भिस बिजिनेस, वित्तीय कारोबार एवम् मुलुकको नयाँ आर्थिक पोलिसीअन्तर्गत कानुन मान्नुपर्ने हुन्छ । अन्यथा कानुनी कारबाही, जरिवाना वा जेल सजाय भोग्नुपर्ने हुन्छ अब आइन्दा ।

१४ हजार डलरसम्म एकजना भारतीयले प्रतिवर्ष डलर भारत पठाउँदा उसले कर तिर्नुपर्दैन, अर्थात् यति रकमसम्म उसलाई मनी ट्रान्सफर गर्दा या पैसा पठाउँदा कर निःशुल्क भयो । यसभन्दा बढी १४ हजार एक डलर भयो भने पनि उसले आफ्नो कमाइको कानुनी हैसियत र आधार प्रमाणसहित कर तिर्नुपर्ने हुन्छ ।

वेस्टर्न युनियनबाट ५ हजार डलरसम्म मनी ट्रान्सफर गर्न मिल्नेछ, तर उसको कमाइ, उसका दुईवटासम्म परिचय खुल्ने कागज र पठाउँदा प्राप्त गर्ने मुलुक अनि व्यक्तिको सोधखोजबाट मात्रै उसले डलर पठाउन सक्छ । ९ सय ९९ डलरभन्दा माथिको मनी ट्रान्सफर कारोबारमा स्वयम् वेस्टर्न युनियन, यसको एजेन्ट र उसले आईआरएसलाई गर्न सक्ने रिपोर्टिङसहित वाच लिस्टमा राखिरहेको हुन्छ । लगातार डलर पठाउने वा रिसिभ गर्ने पाइएमा सस्पिसियस रिपोर्टमार्फत समातिन सक्दछ । त्यस्तै मनीग्रामबाट ६ हजार डलर, एचएसबीसी बैंक २ लाख डलरसम्म र पे पलबाट १० हजार डलरसम्म वायर गर्न सकिनेछ र अधिकांश बैंक एवम् वित्तीय संस्थाहरूको कुनै लिमिटेसन नभए तापनि ९ हजार नौ सय ९९ डलरभन्दा माथिको कुनै पनि कारोबार, ट्रान्समिसन वायरमा स्वयम् तपाईंको बैंक वा ट्रान्समिसन गर्दै गरेको वित्तीय संस्थाले तपाईंलाई वाच गर्नेछ । त्यसका लागि करेन्सी ट्रान्जेक्सन रिपोर्ट तत्काल तपाईंलाई एलेक्ट्रोनिक रूपमा पठाउनुपर्नेछ । यस अर्थमा तपाईंलाई शङ्का लागेमा तुरुन्तै उक्त बैंक र तपाईंलाई सम्पर्क गर्नेछ अनि उक्त रकम गैरकानुनी लागेमा वा शङ्कास्पद भएमा इन्भेस्टिगेसन गर्नेछ । यसरी तपाईंले कमाएको वा यसको कानुनी हैसियत नदेखिएमा तपाईंको रकम सिज गरी तपाईंलाई थप फाइन, जेल वा दुवै सजाय हुन सक्नेछ अमेरिकामा ।

मानौँ तपाईंले बारम्बार, पटक–पटक गरी नेपाल डलर पठाउँदै हुनुहुन्छ भने होसियार हुनुहोला, कुनै पनि बेला तपाईं आईआरएसको कानुनी फन्दामा पर्न सक्नुहुन्छ । तपाईंले पठाएको रकम र पठाउने वित्तीय संस्था र उता प्राप्त गर्नेको दोहोरो रिपोर्टिङ हुनेछ आईआरएसलाई । आफ्नो कर दाखिला गरेको रकमबाहेक वा तपाईंको ‘डब्लु टु’भन्दा माथिको रकम वा नगदमा गरिएको काम वा कुनै गैरकानुनी काममार्फत कमाइएको रकम बारम्बार तपाईंले डलर वायर वा ट्रान्सफर गर्नुभयो भने तपाईंलाई कुनै पनि दिन समात्नेछ । त्यसैले ‘के थाहा पाउला र ?’ भन्ने कमजोर सोचाइको वशीभूत भई तपाईंले कमाएको वा कानुनी हैसियतबाहेकको रकम वायर वा ट्रान्सफर गर्ने गल्ती कदापि नगर्नु होला । ९९९ डलरभन्दा माथि तपाईंको कुनै पनि रकम रिपोर्टिङ भइरहेको हुन्छ ।

अमेरिकामा तपाईंको पकेटमा २ हजार डलरभन्दा माथि रकम छ र तपाईं ल इन्फोर्समेन्टबाट कुनै कारणवश पुलओभर हुनुभयो भने त्यसबेला तपाईंको खानतलासी भएमा र साथमा भएको २ हजार डलरभन्दा माथिको रकमको कमाइको प्रमाण बुझाउन सक्नुभएन भने तपाईंको उक्त रकम जफत र तपाईंलाई थप कारबाही गर्न सक्दछ । त्यसैगरी तपाईंले ५ हजार डलरभन्दामाथि लगातार दैनिक डिपोजिट गर्दै हुनुहुन्छ भने पनि तपाईं निगरानी र इन्भेस्टिगेसनमा पर्नुहुनेछ ।

प्रवासमा बस्नेहरूले नेपाल डलर पठाउने भनेको परिवार, आफन्त, भाइसाथी एवम् कुनै पनि चन्दा सहयोग र सामाजिक कामका लागि हो । यसको अलावा लगानीका हिसाबले कि त घर, कि त घरेडी, कि त सुनचाँदी हीरामोतीमा लगानी हुने गर्दछ र यसैका निमित्त हुण्डीमार्फत वा ट्रान्समिसन कम्पनीमार्फत रकम पठाउने गरिएको देखिएको छ । तर, अब हुण्डीमार्फत वा कुनै पनि गलत माध्यमबाट तपाईं रुपैयाँ–डलरको कारोबार गर्दै हुनुहुन्छ भने आजैबाट यो रोक्नुहोस्, अन्यथा तपाईं जेल र जरिवानाको भागीदार हुनुहुनेछ र यो आर्थिक क्राइम हो ।

नेपाल राष्ट्र बैंकको नयाँ नियम फरेन एक्सेञ्ज एक्ट २०१९ का अनुसार अब कुनै पनि नेपालीले नेपाल जाँदा वा नेपालबाट बाहिरिँदा ५ हजार नेपाली रुपैयाँभन्दा बढी बोक्न पाइनेछैन । साथमा ५ हजार डलरभन्दा माथि बोकेको खण्डमा अध्यागमनबाट स्वीकृति र क्लिरियन्स लिनुपर्नेछ । तर, अमेरिकाको हकमा भने १० हजार वा सोभन्दा माथिको डलर वा सोबराबरको जिन्सी भएमा एयरपोर्टमै अध्यागमनमा रिपोर्टिङ गरी क्लियरेन्स लिनुपर्नेछ । उक्त रकमको कानुनी आधार नपाइएमा उक्त रकम सिज हुनेछ । तर, बाहिरी मुलुकबाट जतिसुकै रकम डलर पनि बैंकमा वायरमार्फत प्राप्त गर्न सकिनेछ र उक्त रकमको कानुनी हैसियत देखाउनुपर्नेछ । रकम प्राप्त गरेकोमा नभई रकम उपलब्धता र कमाईबाापत कर तिर्नुपर्नेछ अमेरिकी सरकारलाई ।

नेपाल राष्ट्र बैंकले सामान खरिद, आयातका निमित्त एलसी लेटर अफ क्रेडिटमार्फत वैदेशिक कम्पनी वा व्यक्तिलाई रकम वायर गर्न सकिनेछ, तर यसको पूर्ण खुलासा र आधार देखाउनुपर्नेछ । यसको अलावा नेपाल राष्ट्र बैंकले मुलुकबाट डलर वा कुनै पनि रकम वैदेशिक लगानीका नाममा बाहिरिन निषेध गरेको छ ।

समग्रमा भन्नुपर्दा आतङ्ककारी गतिविधि, लागूऔषध तथा गैरकानुनी कमाई र कर छलेर आर्जन गरिएको रकमलाई निषेधित गर्न नगद कारोबार, मनी लन्ड्रिङ, मनी सर्भिस, मनी कारोबार र मौद्रिक अनियमिततालाई कानुनी दायराभित्र ल्याउन र वित्तीय ट्रान्सपरेन्सीलाई अद्यावधिक राख्न हरेक मुलुकले कडाइ गर्दै लगिरहेको छ ।

मुलुकको रकम, डलर एवम् मुद्रा बाहिर जान या भित्र्याउन हरेक व्यक्ति, संस्था, व्यापारिक ट्रेडिङ संस्था वा समूहको आर्थिक निगरानी एवम् यसको दुरुपयोगलाई नजरअन्दाज गरी गलत एवम् मूख्याईं नगर्नुहोला, किनकि, यसबाट हुन सक्ने सजाय असहज प्रकृतिको छ ।