बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा १५० होटेल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा १५० होटेल


एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटेल तथा रेस्टुराँ सञ्चालनमा आएका छन् । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटेल तथा रेस्टुराँ सञ्चालनमा आएका हुन् ।

अस्पतालको मुख्य प्रवेशद्वारअगाडि लहरै सानादेखि ठूलासम्म होटेल तथा रेस्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् ।

सोही ठाउँमा होटेल सञ्चालन गर्दै आएका होटेल तथा रेस्टुराँ व्यवसायी संघ चितवनका अध्यक्ष दीपक ढकाल अस्पतालअगाडि मात्रै १४० होटेल र १० वटा रेस्टुराँ रहेको बताउँछन् । चारदेखि ३२ कोठमासम्मका होटेल सो ठाउँमा रहेका छन् ।

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटेलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु. १५० देखि रु. एक हजारसम्मको कोठा होटेलमा पाइन्छन् । ती होटेल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटेललाई वैज्ञानिक ढंगबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए ।

अधिकांश होटेल पारिवारिक ढंगबाट सञ्चालनमा छन् । ०५७ मा अस्पताल स्थापनासँगै ती होटेल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटेलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए । ठूला र व्यवस्थित होटेल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटेलमा पनि बस्ने गरेको उनले बताए ।

नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटेलमा बस्न बाध्य हुनुपर्छ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने बाध्यता छ ।

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटेल तथा रेस्टुराँ अस्पतालकै भरमा सञ्चालन भइरहेको बताए । ती होटेलले गुणस्तरीय सेवा दिएर बिरामी र आफन्तलाई सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटेल तथा रेस्टुराँमा निर्भर हुनुपर्ने गरेको बताए । आचार्यले होटेल तथा रेस्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताए ।

अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहीँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उनी बताउँछन् । अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । चितवनलाई स्वास्थ्य नगरीका रूपमा विकास गर्नसके यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् ।