सुरक्षित यात्राका लागि प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेसन एप्स’

सुरक्षित यात्राका लागि प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेसन एप्स’


सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए–नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले उक्त एप्सको शुभारम्भ गरेका हुन् । प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अबउप्रान्त सवारीसाधनले दुई चालक राख्नुपर्ने बताए ।

दुई चालक राखे–नराखेको पत्ता लगाउनकै लागि यो एप्सको निर्माण गरिएको बताउँँदै उनले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारबाहीको दायरामा ल्याइने उल्लेख गरे ।

लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारबाही गरिने व्यवस्था गरिएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिए ।