एनसेलको बाँकी वक्यौता एक महिनाभित्र असुल नभए कम्पनी खारेज गर्ने

एनसेलको बाँकी वक्यौता एक महिनाभित्र असुल नभए कम्पनी खारेज गर्ने


दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको अर्थ समितिले दूर सञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी २ अर्ब ९६ करोड रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

यस्तै रकम असुल गर्न नसकेमा सेवा प्रदायक संस्थालाई काम नगराउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

समितिले यसअघि सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयसँगको छलफलमा नौ वटा दूरसञ्चार सेवा प्रदायक संस्थाले पुस मसान्तसम्म २ अर्ब ९६ करोड ८५ हजार बक्यौता रकम असुल गर्न बाँकी रहेको जानकारी दिएका थिए । एक महिनाभित्र पनि बाँकी रकम उठाउन नसके कम्पनी खारेज गर्ने प्रक्रियामा अघि बढ्न समेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

यस्तै, बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्ने सम्बन्धमा सर्वोच्चको निर्णय समेत तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले पेश गरेको तथ्यांकमा एनसेलले १२ अर्ब ७३ करोड पूँजीगत लाभर उठाउन बाँकी गरेको छ ।

एनसेलले ठूलो मात्रामा पूँजीगत लाभकर छली गर्नुमा सरकारको सम्बन्धित निकाय राजश्व प्रशासन र नियामक अन्य निकायहरु पनि जिम्मेवार रहेको समितिको निष्कर्ष निकालेको छ ।