भारतमा गोली हानी त्रिणमुल कंग्रेस विधायकको हत्या





भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्नेबारे अहिलेसम्म एकिन हुन सकेको छैन ।

पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो । गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पुऱ्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिए । ‘कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उनी तल झरेका थिए, त्यसलगत्तै उनीमाथि आक्रमण गरी हत्या भयो,’ प्रहरीले भन्यो ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन् । तर, जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया