वीर गणेशमान बक्सिङमा आर्मी टिम च्याम्पियन

वीर गणेशमान बक्सिङमा आर्मी टिम च्याम्पियन


त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टीभीएस मोटरसाइकल र दिवानाले टीभीएस स्कुटर प्राप्त गरेका छन् । दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकारी अध्यक्ष माननीय प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले पुरस्कृत गरे ।


वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बनेको हो । शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो ।

पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कांस्य पदक हात पारे । ५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते । सोही समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रा भए ।


आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कांस्य पाए । पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे । त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए ।

पुलिसका भूपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते । आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कांस्य पदकमा चित्त बुझाए । ६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे । सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सीमित भए ।

७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दीपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रा भए । आर्मीका रवि सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केसर खत्रीलाई पहिलो राउन्डमा नै नकआउट गरे । प्रदेश ७ का हिक्मतबहादुर शाही र प्रदेश ४ का सुसन पुनले कांस्य प्राप्त गरे ।

वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म वसन्तपुर डबलीमा चलेको प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गरे ।

विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेपमा उच्चपदस्थ अधिकारी, विभागीय टोलीका खेलकुद प्रमुखलगायतले पुरस्कृत गरेका थिए ।