बागमतीमा सफा पानी बगाउन चिसापानीमा बाँध

बागमतीमा सफा पानी बगाउन चिसापानीमा बाँध


  • छविलाल बगाले

बागमती सफाईं अभियान चलेको ६ बर्ष नाघेको छ । तर, नदीको अवस्थामा खासै भिन्नता आउन सकेको छैन ।

सरकारले बागमतीको सफाईका लागि अलगै बाँध निर्माण गर्दै सफा पानी बगाउने योजना बनाएको पनि ३ वर्ष पुगिसकेको छ । तीन वर्षमा जम्मा २५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । योजना निर्माणमा रोकावट आएका कारण अझै ७५ प्रतिशत काम बाँकी नै छ । बाँध निर्माण भए बागमतीको मुहार फेरिने छ ।

वर्षामा पानीको बहाव बढेसँगै वागमती केही सफा भएको पाइन्छ । हिउँदमा पानी कम हुने हुँदा ढल मात्र बग्ने बागमतीको अवस्था दयनीय देखिन्छ । गोकर्णेश्वर नगरपालिका शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने चिसापानीमा बाँध निर्माण जारी छ । नागमतीमा अर्को बाँध निर्माणको योजना पनि बनेको छ ।

यसले हिउँदमा पनि वागमतीमा सफा पानी बग्न मद्दत पुऱ्याउने छ । हिउँदमा वागमतीको मूलबाट निस्कने पानी खानेपानीका रुपमा प्रयोग हुने गर्छ, जसले वागमतीमा पानी बग्न पाउँदैन ।

हिउँदमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नागमतीको ९० प्रतिशत पानी खानेपानीको रुपमा उपयोग गर्दै आएको छ । प्रत्येक बर्ष बागमतीमा बग्ने पानीको स्रोत पनि सुक्दै छ । यसप्रति बागमती करीडोरका स्थानीयको चिन्ता पनि उत्तिकै छ ।

बाँध निर्माणको कार्य २५ प्रतिशत सम्पन्न

अहिले बाँध निर्माणको कार्य २५ प्रतिशत सकिएको छ । वर्षामा १ सय २० करोड लिटर पानी जम्मा गर्न सकिने भएकाले बागमती सफाइका साथै पानी पुनःभरणमा समेत सहयोग पुग्नेछ । हिउँदमा प्रतिसेकेण्ड ४० लिटर पानी बागमतीमा बगाइने छ । काठमाडौंका घर–घरबाट बागमतीमा मिसाईएको ढल राज्यले व्यवस्थापन गर्ने हो भने त बागमतीको पानी पिउनलायक हुनसक्ने जानकारहरु बताउँछन् । एसियाली विकास बैंकको ५१ करोड ३६ लाख ऋण सहयोगमा २५ मिटर अग्लो बाँध निर्माणाधिन छ ।

नेपाली कन्ट्रयाक्टरकै डिजाइनमा निर्माण गर्न लागिएको यो बाँध नेपालकै पहिलो ‘कंक्रिट फेस्ड रक फिल्ड’ बाँध पनि हो । यसैबर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ‘ढाप ड्याम’ कहिले निकुञ्जभित्रको समस्या त कहिले रुख कटानको समस्याका कारण ढिलाई हुँदै आएको थियो ।

सिँगारिदैं वाग्मती नदी

सिनामंगलदेखि गोकर्णबाटसम्म वाग्मती नदी दुवैतर्फ सिँगारिएको छ । वाग्मती सुधार आयोजनाले दुवै किनारामा सडक, बगैंचा, साइकल लेन र फुटपाथसहित पर्खाल निर्माण गरेको हो । यो काम २०७० फागुनमा सुरु गरिएको थियो । गोकर्णबाट सिनामंगलसम्म दुईतर्फ ७.२/७.२ किमि नदी क्षेत्रलाई सजावट गर्ने काम अन्तिम चरण पुऱ्याइएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीका दुवै किनारमा व्यवस्थित पर्खालसहित २०/२० मिटर हरित क्षेत्र बनाएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि नदी क्षेत्रबाट २० मिटरसम्म कुनै संरचना निर्माण गर्न नहुने गरी योजना तयार पारेको थियो ।

पार्क र बगैंचाले सुन्दरता भर्दै

आयोजनाका इन्जिनियर मिहिरचन्द्र आचार्यका अनुसार नदीलाई २८ देखि ४० मिटरसम्म फराकिलो बनाएर पार्क, बगैंचा, सार्वजनिक शौचालय, मन्दिर, ११ ठाउँमा वेयर निर्माण गरिसकेको छ । पानीमा अक्सिजन घुल्न सहयोग पुग्ने गरी वेयर निर्माण गरिएको उनको भनाइ छ । अब वाग्मतीको पानी केही सफा हुने उनले बताए ।

एसियाली विकास बैंकको अनुदान

एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा यो आयोजना सञ्चालित छ । ३ करोड ६० लाख डलर लागतको आयोजनामा बैंकको २ करोड ५५ लाख डलर ऋण, ४५ लाख अनुदान र सरकारको ६० लाख डलर लगानी छ । आयोजना अघि बढाउन सरकार र बैंकबीच २०७० फागुन २२ मा सम्झौता भएको थियो । जनसहभागिताबाट २०७० जेठ ५ मा वाग्मती सफाइ अभियान सुरु गरिएको थियो ।