जंगबहादुरका ‘दुस्साहसी’ काम–२





त्यही महिना (अप्रिल १८४०) मा यी महानायकको अर्को चमत्कारपूर्ण महाकार्य पनि घटित भएको छ । वर्षाको मौसम थियो । मनोहरा नदीमा भयङ्कर बाढी आइरहेको थियो । एक दिन जंगबहादुर आफ्ना एकजना साथीसँग नदीकिनारमा प्रातः भ्रमण गर्दै थिए । त्यसैबीच उनले दुईजना महिलालाई नदीको भेलले बगाइरहेको देखे । ती महिला पानीमा डुबेर मृत्युसम्मुख पुगिसकेका थिए । तर, जंगबहादुर त्यो दयनीय दृश्य देख्नासाथ एक क्षण पनि खेर नफालेर नदीको उर्लंदो छालमा झ्वाम्म हामफाले । अनि त्यो भेलमा पौडिँदै ठूलो साहसका साथ दुवै महिलाका कपाल समाती नदीबाट बाहिर निकालेर उनीहरू ज्यान बचाइदिए ।

सेप्टेम्बर १२, १८४० मा नजिकैको जंगलबाट निस्केको एउटा चितुवा काठमाडौंमा एकजना नेवारको घरभित्र छिऱ्यो र त्यस परिवारमा एउटा भयङ्कर आतङ्क सिर्जना गऱ्यो । फलतः पूरै परिवार घर छोडेर भाग्यो । त्यस घरका अगाडि एकैछिनमा कतै त्यो चितुवा आएर आफूलाई नै खाला भन्ने डरले मानिसको एउटा भिड अलिक टाढै जम्मा भयो । त्यसैको हल्लाखल्लाले गर्दा जंगबहादुर त्यो घटनास्थलमा आइपुगे । परिस्थितिको निरूपण गरेपछि उनले तत्काल आफ्नो अनुहारमा एउटा पेरुङ्गो लगाए र घस्रिँदै त्यस घरभित्र छिरेर चितुवाको खुट्टा बाँधे । त्यसपछि उनले चितुवालाई नियन्त्रण गर्न अन्य व्यक्तिको सहयोग मागे । फलस्वरूप चितुवा जीवित अवस्थामा समातियो । जंगबहादुरले त्यस चितुवालाई राजकुमारसमक्ष उपहारस्वरूप टक्र्याए । उनको यस साहसिक कार्यबाट आएको त्यो उपहार पाएर राजकुमार पनि अति प्रसन्न भए ।

अर्को घटना त्यही वर्ष नोभेम्बर १८४० मा घट्यो । राजासमक्ष दहचोकको पहाडी क्षेत्रमा एउटा चितुवाले व्यापक आतङ्क मच्चाइरहेको छ भन्ने सूचना आयो । त्यसैले राजा जंगबहादुर आफ्ना अरू केही अफिसरहरू लिएर त्यस क्षेत्रका जनताको सुरक्षार्थ खतरायुक्त दिशातर्फ प्रस्थान गरे । त्यो हिंस्रक जनावरको धेरै खोजी गरियो र आसन्न खतरालाई ध्यानमा राखेर सिकारीलाई धराप थापेर बस्न लगाइयो । नभन्दै त्यो चितुवा एउटा झाडीबाट निस्क्यो र अकस्मात् एउटा सिकारीलाई झम्टेर भुइँमा पछाऱ्यो । त्यो देखेर केही टाढा रहेका जंगबहादुर दगुर्दै अगाडि बढे र आफ्नो तरबारले त्यस डरलाग्दो जनावरमाथि प्रहार गरे । त्यो जनावर रिसले झन् चुर भयो र त्यस सिकारीलाई छोडेर आफूमाथि आइलागेको आक्रमणकारीमाथि झम्ट्यो । जंगबहादुले घाइते अवस्थामा पनि त्यस चितुवामाथि प्रहार गरे त्यो चितुवा काटिएर दुई टुक्रा भयो । अलि परबाट त्यो दृश्य हेरिरहेका राजाले जंगबहादुरको तरबार खेलाउने कला देखेर ठुल्ठूलो स्वरमा उनको मुरी–मुरी प्रशंसा गरे ।

यो पनि हेर्नुहोस्-

जंगबहादुरका ‘दुस्साहसी’ काम–१
http://www.ghatanarabichar.com/136263

प्रतिक्रिया