भरतपुरमा सूचना प्रविधि मेला शुरु

भरतपुरमा सूचना प्रविधि मेला शुरु


कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला शुरु भएको छ ।

भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरु मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे ।

‘चितवनको समृद्धिः सूचना र प्रविधि’ नाराका साथ आयोजना गरिएको मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री) तथा सफ्टवेयर, सुरक्षा सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभीलगायतका ८० कक्ष रहेका छन् । मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत राखिएको क्यानले जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘आइडिया हन्ट’ कार्यक्रम आयोजना गरिएको सङ्घका सचिव सन्तोष भुसालले जानकारी दिए । मेलामा अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको छ ।

यस्तै, आइटीसम्बन्धी अन्तक्र्रियामा ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, कलेजस्तरीय हाजिरी जवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार मेलामा आयोजना गरिएको पनि भुसालले बताए ।