कोलम्विया यात्राको रोचक सम्झना

(यात्रानुभूति)





  • छत्रबहादुर मैनाली

२२ अक्टोबर २०१० कतार एयरवेजको उडानबाट काठमाडौं, दोहा, म्याड्रिड हुँदै कोलम्बियाको राजधानी बोगोटा डीसी उत्रेको क्षण हिजोजस्तै लाग्छ । यो मेरो जीवनकै सबैभन्दा लामो हवाईयात्रा थियो ।

करिब २६ घन्टा उडानको दौरान २ मुलुकमा ट्रान्जिट परेको थियो । दोहा विमानस्थलमा उत्रेर अर्को गन्तव्य मुलुक प्रस्थान गर्नुअघि दोहा विमानस्थलका कर्मचारीले गन्तव्य मुलुकको कन्फर्म टिकट भए–नभएको साथै यात्रा गर्नुको कारणबारे सोधपुछ गरे । यात्रा गर्नुको कारण र कन्फर्म टिकेट देखाएपछि म्याड्रिड जाने फ्लाइटको गेटमा जाने अनुमति प्राप्त भयो ।

स्पेनको म्याड्रिड जाने प्लेनमा बस्यौँ हामी । प्लेनको सिट यात्रुले भरिभराउ थियो । उडान अवधिभर रमाइलो भयो । कतार एयरवेजको राम्रो व्यवस्थापनको झल्को दिने किसिमको स्वागत–सत्कार भयो । यात्रुहरू खुसी देखिन्थे ।

दोहाको समयअनुसार म्याड्रिडको लागि रातिको उडान थियो, निर्धारित समयमा उडान भरेर म्याड्रिड विमानस्थल अवतरण गर्दा बिहानको ८ः४५ बजेको थियो । प्लेनको झ्यालबाट बाहिरको दृश्य हेर्दा छर्लङ्ग थिएन, झिसमिसे उज्यालो हुँदै थियो । मनमनै लाग्यो– यतिबेलासम्म उज्यालो नहुने देशमा साँझचाहिँ कति बजे हुन्छ होला ?!

क्षेत्रफलको हिसाबले म्याड्रिड विमानस्थल निक्कै ठूलो र भव्य लाग्यो । धेरैजसो अरेबिया एयरलाइन्सका प्लेनहरू ‘पार्किङ वे’मा देखियो । यो मेरो युरोप हुँदै अर्को मुलुक जाने पहिलो यात्रा थियो । जब प्लेन अवतरण भयो सबै यात्रुहरू आ–आफ्नो सिटबाट उठेर बाहिर निस्कँदै थिए । मेरो पालो आयो, बाहिरपट्टि प्लेनको ढोकामा इमिग्रेसनका २ जना स्टाफहरू मेरो नाम लिएर पर्खिबसेका रहेछन् ।

जब म प्लेनको बाहिर निस्कने ढोकामा पुगेँ उनीहरूले मेरो नाम देखाएर पासपोर्ट मागे । मैले किन भनेर प्रश्न गरेँ । उनीहरूले पुनः पासपोर्ट दिन आग्रह गरे । प्लेनको ढोकामा पासपोर्ट माग्न आएपछि आश्चर्यचकित परेँ । मभन्दा पछाडि अरू यात्रु भएकाले वादविवाद नगरी सहजताको निम्ति पासपोर्ट दिएर उनीहरूसँगै पछि लागेर गएँ ।

म्याड्रिड विमानस्थलको इमिग्रेसन कार्यालयमा पुगेपछि उनीहरूले यात्रा गर्नुको कारण, गन्तव्य मुलुकबारे सोधे । मैले यात्रा गर्नुको कारण र म्याड्रिड ट्रान्जिट लिनुको कारण बताएँ । उनीहरूले गन्तव्य मुलुकको टिकट चेक गरे । फेरि त्यही प्रश्न दोहोऱ्याएर सोधे । त्यतिबेलासम्म रिसको पारो बढेर आत्माग्लानि महसुस भइरहेको थियो । मनमनै लाग्यो कतै नेपाली पासपोर्टकै कारण एक अपराधीलाई जस्तो व्यवहार त भइरहेको छैन ? होइन भने त्यत्तिका यात्रुमध्ये मलाई मात्र किन सोधपुछ हुँदै छ ? द्वन्द्वग्रस्त मुलुकको नागरिक भएकोले हो कि भन्ने पनि लाग्यो ।

तर, आफूले कुनै गलत उद्देश्य राखेर यात्रा नगरेको हुँदा आत्मविश्वास भने दह्रो थियो । त्यसपछि मैले उनीहरूसँग सवाल–जवाफको रूपमा प्रस्तुत भएर प्रश्न गर्न थालेँ, किनकि म्याड्रिड त केवल ट्रान्जिट मुलुक थियो । मेरो गन्तव्य त दक्षिण अमेरिका थियो । वैधानिक तरिकाले यात्रा गर्ने अधिकार जति तिमीहरूलाई छ मेरो पनि त्यति नै अधिकार छ । म आफ्नो डिग्निटीसहितको यात्रा गर्दै छु । तिम्रो देशमा आगमन अनुमति दिए पनि मलाई बस्नु त के एक घन्टा घुमघामसमेत गर्नु छैन भनेपछि पछाडि हच्किएर भने, ‘सर, यहाँ नेपाललगायतका मुलुकबाट यात्रा गर्ने नागरिकले राहदानी फालेर शरण लिन खोज्छन् । एयरपोर्टबाटै भाग्न खोज्छन्, त्यसैले हामीले तपाईंलाई सोधपुछ गरेका हौँ, यसलाई अन्यथा नलिदिनुहोला ।’ यसो भन्दै माफी मागेर वास्तविकता बताएपछि आफू सम्हालिएर प्रस्तुत भएँ ।

त्यसपछि उनीहरूले कफी मगाए । कफी पिउँदापिउँदै आप्रवासीहरूबारे केही कुरा भए । उनीहरूको कुरा सुनेर म आश्चर्यचकित परेको थिएँ । त्यसपछि शिष्टाचारपूर्वक उनीहरूले गन्तव्य मुलुकको लागि उडान हुने क्षेत्रसम्म गएर हात मिलाउँदै बिदाबारी भए । जीवनकै पहिलो यात्रा अनुभव संगालेर गन्तव्य मुलुकबारे सोच्न थालेँ । यो थियो युरोप ट्रान्जिटको अनुभव ।

म्याड्रिडबाट बोगोटाको निम्ति कोलम्बियन ध्वजाबाहक आभिएङ्काको उडान गर्दा दिनको १ः३० बजेको थियो । हामी टिकट, लगेज चेक गराउँदै बोर्डिङ लिएर प्लेनमा बस्यौँ । प्लेन युरोपको समयअनुसार निश्चित समयमा उड्यो । हामी ल्याटिन अमेरिकी समयअनुसार साँझ ८ बजे कोलम्बियाको राजधानी बोगोटास्थित एल दोरादो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियौँ ।

२३ अक्टोबरको दिन थियो, मैले पहिलोपटक ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा पाइला टेकेको । हाम्रो र यहाँको समय अन्तरको कारण साँझ परे पनि बिहानीजस्तो अनुभव भइरहेको थियो । कोलम्बियामा तपाईंलाई हार्दिक स्वागत अभिवादन छ भन्दै कोलम्बियन इमिग्रेसनका कर्मचारीले शिष्टता प्रकट गरे । उनीहरूले कोलम्बिया आउनुको कारणबारे खासै प्रश्न गरेनन् । अध्यागमनको आवश्यक प्रक्रियापश्चात् गन्तव्यतिर लागियो ।

भोलिपल्ट राजधानी बोगोटाका विभिन्न स्थानको अवलोकन गर्न थाल्यौँ । पहिलो अनुभव भाषा नजान्दाको ग्लानिबोध, अधिकांशले बोल्ने भाषा भनेको स्पेनिस रहेछ । अङ्ग्रेजी भाषा बोल्न जान्ने भेट्नै मुस्किल । मनमनै लाग्यो भाषाको महत्व । यदि स्पेनिस भाषा जानिँदो हो त केही गर्न सकिन्थ्यो जस्तो लाग्दथ्यो । यहाँका स्थानीय र हाम्रो शारीरिक बनोट, रूप–रंग करिब उस्तै–उस्तै देखिने हुँदा झट्ट विदेशी हो भन्न नसक्ने जब बोल्ने कोसिस गरिन्छ उनीहरूलाई ए यो त विदेशी पो रहेछ भन्ने पर्दोरहेछ । अनि सोध्थे कुन देशबाट आएको ? किन आएको ? कहाँ के गर्छौ आदि ।

भाषाको कारण अलि लामै समय असहजता महसुस भयो । यहाँ आएर पहिलो फेस्टिबल ३१ अक्टोबरको रात हलोविनको मज्जा लिएँ । स–साना बालबालिकाहरूदेखि बुढापाकासम्म रङ्गीचङ्गी कपडा, विभिन्न आकृतिका मास्क, हातमा कमण्डलुजस्तो देखिने प्लास्टिकका भाँडो लिएर हरेक दोकानदोकानमा चकलेट सङ्कलन गरेको दृश्य हाम्रो ब्रतबन्धमा भिक्षा मागेकोजस्तै झल्को दिन्थ्यो । यो फेस्टिबल मध्यरातसम्म चल्ने रहेछ । हरेक वर्षको ३१ अक्टोबरका दिन हलोविन मनाउने रहेछन् ।

समग्रमा यहाँको भाषा, धर्म, समुदाय, रीतिरिवाज, खानपिन, समय आदि फरक किसिमको पाएँ । काठमाडौंलाई छाड्दाताका जुन किसिमको योजना, सोच, उत्साह, उमङ्ग, जाँगर थियो त्यो बिल्कुल फिक्का हुँदै गइरहेको थियो । दिन–प्रतिदिन नौलो, अनौठो लाग्दै गयो । एकमनले यहाँ घुलमिल हुन नसकिने रहेछ भन्ने अनुभूतिले आफ्नो समुदायका सदस्य नभएको मुलुकमा आफूलाई एक्लो भएको भान पर्दै गयो ।

दिनहरू क्रमशः बित्दै गए । जीविकोपार्जनको निम्ति सोच्दासोच्दा सानोतिनो व्यबवसाय गर्नैपर्ने निर्णयमा पुगियो । धेरै चक्कर लगाएर सोच्दासोच्दा नेपाली स्वादको रेस्टुरेन्ट खोल्न सके खानाको माध्यमबाट देशको नाम पनि चिनिने, भर्खरै नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०११ समेतको प्रचारप्रसारमा टेवा पुग्ने हुँदा शुरुमा खर्च मात्रै मेन्टन भयो भने भविष्यमा कमाइ गर्न सकिएला, व्यवसाय राम्रो हुँदै गएमा नेपाली जनशक्ति भित्र्याएर पनि टिक्न सकिन्छ कि भन्ने महत्वाकाङ्क्षी निष्कर्षमा पुगियो ।

नेपालको नाम लिएर कुरा गर्दा नेपाल इन्डियामा पर्छ या चीनमा भनेर सोध्ने गर्थे । धेरै कम मात्रलाई नेपाल देश भन्ने थाहा रहेछ । बुद्धको नाम लिँदा थाहा छ भन्थे, बुद्ध जन्मेको स्थान सोधेमा इन्डिया भन्थे । सगरमाथा चीनमा हो भनेर सोध्थे । यस्ता उल्टो तथ्याङ्क सुन्दा बेकारमा यस्तो देश आइएछ भन्ने लाग्थ्यो । किनकि उनीहरूले आर्जन गरेको ज्ञान गलत जानकारीको कारण भ्रममा थिए ।

एक मनले नआउनु आइसकियो, केही त गर्नैपर्छ भन्ने भित्री आत्मादेखि लाग्थ्यो । जेसुकै होस्, अब यिनीहरूलाई नेपाल भन्ने देश पनि रहेछ भन्ने परोस् भनेर नेपाली परिकारको रेस्टुरेन्ट खोलियो ।

कोलम्बियामा पहिलो नेपाली रेस्टुरेन्ट त्यो पनि नेपाली मूलको नागरिकद्वारा खोलिएको । यो विषयमा कान्तिपुर दैनिकमा आर्थिक बिटमा कार्यरत पत्रकार लीलानाथ (एलएन) घिमिरेसँग कुराकानी भयो । उहाँले सफलताको कामनासहित शुभकामना दिनुभयो । साथै कान्तिपुर दैनिकको आर्थिक पेजमा समाचार लेख्ने कुराले झनै उत्साहित बनायो । नभन्दै २०६७ साल फागुन २६ गते बिहीबारको कान्तिपुर दैनिकको आर्थिक पृष्ठमा प्राथमिकताका साथ कोलम्बियामा नेपाली रेस्टुरेन्ट शीर्षकमा रङ्गीन समाचार छाप्नुभयो । समाचारको प्रभावले देश–विदेशबाट शुभकामना र बधाईको ओइरो लाग्यो । लन्डनबाट एकजना नेपाली भेट्नसमेत आउनुभयो । आफूमा ठूलो ऊर्जा प्राप्त भएको महसुस भयो ।

नेपालसम्बन्धी चिनारीका सामग्री रेस्टुरेन्टका भित्ताभित्तामा सजायौँ । साना–साना पर्चा छापेर घर–घरमा गएर वितरण गऱ्यौं । नेपाली परिकार अलि–अलि चिल्लो, पिरो, अमिलो, मसलेदार हुने हुँदा विकेन्डमा ग्राहकहरूको उपस्थिति सन्तोषजनक रहे पनि विकेन्डबाहेकका दिनमा भने न्यून रह्यो ।

नयाँ ठाउँ नयाँ परिवेश के गर्ने, के नगर्ने ? दोधारको सोचमा दिनगन्ती शुरु हुन थाले । केवल सप्ताहन्तको कारोबारले मात्र खर्च धान्न मुस्किल पर्ने हुँदा बन्द गर्ने या मेनु परिवर्तन गरेर यसैलाई निरन्तरता दिने निर्णय लिन गाह्रो पऱ्यो । अन्ततः रेस्टुरेन्ट बन्द गर्नुको विकल्प रहेन । पहिलो गाँसमा ढुङ्गा भनेझैँ पहिलो स्टेपमा ब्रेक लाग्यो ।

रेस्टुरेन्टको नामसहित खरिद गर्ने कोही इच्छुक नभएपछि रेस्टुरेन्टमा प्रयोग भएका सामानहरू कौडीको मूल्यमा बेच्नुको पनि विकल्प रहेन । अनुभवविहीन कामको परिणाम थियो त्यो । बजार वस्तुस्थिति नबुझी हामफाल्दाको परिणाम असफलता हात लाग्यो । करिब एक वर्षको अवधिमा व्यवसाय असफल भएपछिको विकल्प खोज्नसमेत कठिन हुँदै गयो । …
(बाँकी अर्को खण्डमा)

प्रतिक्रिया