अमेरिका : ‘वन नेसन अन्डर द गड’

अमेरिका : ‘वन नेसन अन्डर द गड’


  • दी भरतबहादुर बिसुराल ‘हिमालयन टाइगर’

नेपालको सरकार दुईतिहाइ बहुमतको नेकपा (एमाले) नेकपा (माओवादी) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी अर्थात् मालेमाको संगम हो । नेपालमा विगतको तीतो अनुभव हेर्दा च्याँखे थाप्ने जुवाको खालजस्तो सरकार बन्ने परम्परा बन्न लागेको डरलाग्दो अवस्था थियो । सरकारको आयु ६ महिना, ९ महिना बढीमा वर्ष दिन कटाउन मुस्किल देखिन्थ्यो । बहुदलीय व्यवस्था संसदीय प्रणालीमा दलविहीन पञ्चायती व्यवस्थाका राजनीतिक खेलाडीहरू पनि प्रधानमन्त्री र मन्त्री पद प्राप्त गर्न सफल भए भने राजावादी पार्टी राजतन्त्रबिनाको गणतन्त्रकै बिहानीमा सरकार बनाउने र गिराउने मुख्य साँचोको रूपमा मात्र नरही सरकारमा समेत सामेल भए ।

सो घटनालाई हेर्ने हो भने सत्ता–शक्ति र पैसाका लागि जसले जोसँग पनि मेलमिलाप गर्ने या सुविधाभोगका कुरामा गोही र हिप्पो पनि एउटै दलदलमा मिलेर बसेजस्तो नेपाली राजनीतिक दलहरू प्नि एकमत भएका देखिन्थे । नेपाली भनाइअनुसार काले–काले मिलेर खाउँ भाले भनेजस्तै अवस्था थियो ।

यस अर्थमा नेपाली राजनीतिज्ञहरूलाई सिद्धान्तवादीभन्दा अवसरवादी बनायो र जनता पनि सिद्धान्त बुझे पनि नबुझे पनि एक न एक राजनीतिक दलको सदस्य बन्दै गए । यसरी सदस्यता लिनुको मतलब होलटाइमर कार्यकर्तासरह नै तिनले ठाने र आ–आफ्नो राजनीतिक दललाई आँखा चिम्लेर सहयोग–समर्थन गर्दा गाउँघरका मेलापात, पर्म, पुरेत फेरबदल मात्र होइन एकाघरका परिवारमा कलह ल्याउने र पानी बाराबारको स्थितिसम्म पैदा भयो ।

माओवादी द्वन्द्वकालमा त सफाया नै गर्ने चलन थियो । अर्थात् सुराकी गरी सेना पुलिसलाई टार्गेट उपलब्ध गराउने र टार्गेट बनेकाहरू र टार्गेट उपलब्ध गराउने दुवैले एउटै प्रकारको सफाया सजाय भोग्नुपर्थ्यो। दोहोरो भिडन्त र भाग्ने प्रयत्न गरेकोले जस्ता कारण देखाएर एकले अर्कोलाई मार्ने–मर्ने शत्रुता नेपाली नेपाली–नेपालीबीच भएको अवस्था थियो ।

०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् पनि सरकार बन्ने र ढल्ने प्रक्रिया भएकाले एमाले र माओवादीको मिलनले सङ्क्रमणकालको अन्त्य र अस्थायी सरकारको बनावटलाई तोड्ने काम गर्ला भनेर अधिकांश नेपाली जनताले दुईतिहाइ पुग्ने गरी मत दिएर वर्तमान सरकारको निर्माण भएको हो । विश्व चर्चामा रहेका पाँच प्रकारका कम्युनिस्टहरू जस्तै– माओवादी, पोस्ट माओवादी, माक्र्सवादी, लेनिनवादी र बर्दीधारी कम्युनिस्ट क्यास्त्रोइज्म नै हो । नेपालका कम्युनिस्टहरू र यो सरकार माथि भनिएजस्तै मा.ले.मा. नै हो । तर, क्यास्त्रोइज्मसँग विश्वका कम्युनिस्टहरूको जानपहिचान भए पनि नेपालका कम्युनिस्टहरूको सहकार्य गर्ने सहजता र आवश्यकता पनि थिएन । क्यास्त्रोइज्मको बर्दीधारी रूप उनका भाइ रहुल क्यास्त्रोसम्म आएर अन्त्य भएको छ ।

कम्युनिस्ट नेताहरूबीच भएको मनमुटाव र खुट्टा तान्ने लडाउने एकले अर्कोलाई आस्था विश्वास नराख्ने र एक–आपसमा अनमेल भएपछि चीन, रुस, भियतनामजस्ता देशका कम्युनिस्टहरू एक–अर्को देशलाई आफ्नो सेल्टर बनाएर बसेका पनि पाइन्छन् । तथापि नेपाली कम्युनिस्टहरू ल्याटिन अमेरिका निर्वासनमा बसेर ल्याटिनो कम्युनिस्टहरूसँग उठबस भएको पनि पाइँदैन, तर नेपालका कम्युनिस्टहरूलाई टाढा वा अर्को मुलुकसँग साइनो गाँस्न नदिन केही भारतीयलाई कम्युनिस्ट बनाएर उनै कम्युनिस्टहरूद्वारा नेपाली कम्युनिस्टहरूलाई अलमल्याएर राखेको अनुभूति गर्न सकिन्छ ।

७१ वर्ष लामो अमेरिका–नेपाल सम्बन्ध तथा अमेरिकाको अमूल्य योगदानलाई बेवास्ता गरी सम्बन्ध बिग्रने गरी सत्ताधारी दलका नेताहरूले बोल्नु, गतिविधि चाल्नु नेपालको हितमा छैन ।

भेनेजुयलामा सन् १९९९ देखि २०१३ सम्म राष्ट्रपति भएका ह्युगो चाभेजले फिडेल क्यास्त्रोलाई गुरु मान्ने गर्दथे र उनको पनि सन् २०१३ मा नै मृत्यु भइसकेको छ । हाल उनै चाभेजका उत्तराधिकारी उपराष्ट्रपति निकोलास मडुरोले प्रथम कार्यकाल पूरा गरी दोस्रो पदावधिका लागि राष्ट्रपति निर्वाचित भएको घोषणा गरी पदावहाली गरेका छन् र उनले पनि ह्युगो चाभेजकै झैँ बर्दीधारी रूपमा राष्ट्रलाई अद्योगतितर्फ धकेल्दै लगेका छन् । भेनेजुएलाका चाभेज र मडुरो इजम डिक्टेटरसीप, अटोक्र्याट, फ्युडलिज्म फासिष्ट तानाशाहीभन्दा कम छैनन् ।

यो सबै महसुस नगरी रुस पक्षधर रहेको या सैद्धान्तिक तवरले आफ्नो सामीप्य छ भन्दैमा ७१ वर्ष लामो अमेरिका–नेपाल सम्बन्ध तथा अमेरिकाको अमूल्य योगदानलाई बेवास्ता गरी सम्बन्ध बिग्रने गरी सत्ताधारी दलका नेताहरूले बोल्नु, गतिविधि चाल्नु नेपालको हितमा छैन । हामी नेपाली पञ्चशीलताको नीति अवलम्बन गर्ने, असंलग्न परराष्ट्र नीति, अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र र विभिन्न आन्दोलन र अभियानमा साक्षी बस्ने संस्थापक सदस्य बन्ने सन्धि–सम्झौता गर्ने र तिनलाई परिपालना गर्ने अनुशासित र गरिब राष्ट्र भएकोले हामीलाई सबैले हेपेका हुन् । भारतले लामो अवधिसम्म नाकाबन्दी लगाउँदा मन्तव्य–वक्तव्यमा सीमित राखे । दुःख त हामी नेपाली जनताले भोग्नैपर्ने रहेछ ।

हाम्रो भूमिमा विदेशी फौजको उपस्थिति भइरहेकै छ । सय वर्षभन्दा पुरानो सङ्घ–संस्था र संरचना मास्न वा फेरबदल गर्न जनतासँग सोधेर जनमतसङ्ग्रह गर्नुपर्ने सन्धि–सम्झौता गरे तापनि बिनाजनमतसङ्ग्रह धर्म–संस्कृति फेरबदल तथा नास्ने–मास्ने काम हाम्रो मुलुकमा भइरहेकै छ । युनेस्कोले २–४ करोड डलर दियो पुरातात्विक मठ मन्दिर बनाउन भन्दैमा र सन्तोष गर्ने अवस्था छँदैछैन । नेपालले ऋण काढेर ऋणको भार बोकेर भए पनि करोडौँ–अर्बौं रकम त्यस्ता सन्धि–सम्झौता गराउनेहरूको भरणपोषणका लागि बुझाइरहेछ । यसर्थ अब नेपालले कि गर कि मर होइन अमेरिकासँगै निकट रहेर अमेरिकनको हरेक कदमको समर्थन गर्नु र उचित फाइदा लिनुसिवाय अरू कदम नेपालका लागि मनासिव देखिँदैन ।

अमेरिकासँग मिलेर दुई विशाल छिमेकी मुलुकलाई लगाम लगाउने र रोजगरीको ढोका खोलेर अरब र अमेरिकाविरोधी भनी चिनिएका राष्ट्रहरूमा रोजगारमा रहेका नेपालीहरू खाली गर्दै लैजाने काम नै सरकारका लागि बुद्धिमत्तापूर्ण हुनेछ । यसै पनि विदेशी सैनिकको उपस्थिति र उनीहरूद्वारा नाकाबन्दीको धाकधम्की खेप्नुपर्ने भएपछि अमेरिकी उपस्थिति र सामीप्यतासँग किन लजाउने ? बरु गर्व गर्नुपर्छ । भारतले नाकाबन्दी लगाउँदा गैरकानुनी भने पनि गुजारातमा विनाशकारी भूकम्पले सर्वनाश गर्दा चीनले त्यहाँ सम्पूर्ण पुनर्निर्माण गरिदियो, काँचुली नै फेरिदियो । तर, यता तातोपानी नाकामा २०७२ मा गएको भूकम्पलाई कारण देखाएर बन्द नै गरिदियो । सिन्धुपाल्चोकका बुद्ध धर्मावलम्बीहरू दलाई लामाका अनुयायी भएको र तातोपानी नाकाबाट उनै सिन्धुपाल्चोकमा कुनै सिन्धुपाल्चोके जनतालाई बढी फाइदा हुने भएकोले पनि यो नाका रोकिएको मानिन्छ ।

यसरी विशाल छिमेकीहरूको नियत र आफ्नो डरपोक मानसिकताका कारण भारत र चीन दुवैतिरबाट नेपाल पिल्सिएको छ । राष्ट्रनिर्माता बडामहाराजा श्री ५ पृथ्वीनारायण शाहले भनेजस्तो नेपाल दुई ढुङ्गाबीचको तरुल हो । यो भनाइमा सही चित्रण र यथार्थ वस्तुस्थिति पाइन्छ । गोराहरू र क्रिश्चियन धर्मावलम्बीहरूसँगको सम्बन्धमा होसियार रहनु भनिए तापनि अमेरिकाजस्तो शक्तिशाली राष्ट्र मात्र भएर पनि पारदर्शी, मानवअधिकारको संरक्षक, भेदभावरहित व्यवहार, समान हकहित अधिकारको पक्षधर जननी राष्ट्र भएकोले संसारभरका सबैले निकट रहेर, सहकार्य गरेर, सही मत र सवालमा एक भएका छन् । र शत्रुता साँधेर पनि ‘अमेरिका–अमेरिका’ भनिरहेकै पाइन्छन् । वास्तवमै अमेरिका ‘वन नेसन अन्डर द गड’ राष्ट्र हो जसले विश्वकै नेतृत्व गर्दछ, तर कसैको पिच्छलग्गु बन्दैन । नेपालका कम्युनिस्टहरूको दुईतिहाइ बहुमतको सरकार र केपी ओलीको सुखी नेपाली समृद्ध नेपालको सपना साकार बनाउन संयुक्त राज्य अमेरिकासँग सुमधुर सम्बन्ध र निकटमा रहेर सहकार्य गर्नुको विकल्प अरू देखिँदैन ।