प्रशान्त महासागरमा जहाज चलाउने नेपाली क्याप्टेन भन्छन्- ‘नेपालमा पानीजहाज सम्भव छ’

प्रशान्त महासागरमा जहाज चलाउने नेपाली क्याप्टेन भन्छन्- ‘नेपालमा पानीजहाज सम्भव छ’


  • राजन घिमिरे, सिड्नी

बच्चामा उनलाई पौडी खेल्न मन लाग्दा परिवारबाट त्रास र डर देखाइन्थ्यो, ‘पौडी खेल्न हुन्न, डुबिन्छ मरिन्छ ।’ तैपनि लुकी–लुकी उनी आफ्नो त्यो रहर पूरा गर्दथे । पाल्पामा जन्मेर बुटवलमा हुर्कंदै खैरेनीमा किशोरावस्था बिताएका उनै ब्राम पाण्डे अहिले अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्छन् र प्रशान्त महासागरमा दैनिक हजारौँ यात्रुलाई पानीजहाजबाट सिड्नीका रमणीय दृश्यहरू देखाउन अभ्यस्त छन् ।

उनी विदेशमा पानीजहाज चलाउने पहिलो नेपाली क्याप्टेनको रूपमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो स्थानमा आइपुग्न उनको सङ्घर्ष, मिहिनेत र धैर्यताले पनि ठूलो भूमिका खेलेको छ । उनी विद्यार्थीका रूपमा सन् २००७ मा अस्ट्रेलिया छिरेका थिए । शुरुमा उनले पानीजहाजमा वेटरको रूपमा काम गरे अनि पानीजहाजसम्बन्धी अध्ययनलाई पनि सँगसँगै अगाडि बढाए । अहिले उनी पानीजहाजको क्याप्टेन भएर आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन् । उनी अहिले अस्ट्रेलियाकै सबैभन्दा ठूलो पानीजहाज कम्पनीको पानीजहाज चलाउँछन् । ‘म दिनको १२ घन्टासम्म त प्रशान्त महासागरमाथि नै हुन्छु । यो समयसम्म हजारौँ यात्रुलाई प्रशान्त महासागरमा घुमाएर उनीहरूलाई आनन्द प्रदान गराउनु मेरो पेसाको धर्म र कर्तव्य हो,’ पाण्डेले भने । ‘ब्राम नेपालीको गौरव हुन् ।

नेपाली पनि यो स्थानमा पुग्न सक्छ र शानका साथ विदेशीमाझ आफूलाई उभ्याउन सक्छ भन्ने गर्विलो उदाहरण हुन् उनी,’ ब्रामसँगै उनको सहायकका रूपमा कार्यरत फस्र्ट अफिसर अर्का नेपाली अर्जुन सिटौला भन्छन् । ब्रामले साना र ठूला गरेर थुप्रै पानीजहाज चलाइसकेका छन् । उनले चलाउने गरेको पानीजहाजको नेपाली मूल्य ३० करोडदेखि ३ अर्बसम्म पर्ने गर्छ । विदेशीहरूमाझ उनी निकै चर्चित छन् यतिबेला । गत साता मात्र अस्ट्रेलियाको चर्चित टेलिभिजन 7news ले उनीबारे सामग्री प्रस्तुत गरेको थियो ।

नेपाली धेरै माथि पुग्न सक्ने र क्षमतावान भएको पाण्डे बताउँछन् । ‘तर आफ्नो क्षमता र दक्षताबारे हामी भन्न हिचकिचाउँछौँ । हामी आफ्नो सोच नै सानो राखेर सानो काम गर्नतिर लाग्छौँ र त्यही परिवेश र वातावरणले हामीलाई खुम्च्याउँछ । भनाइ छ नि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । यही भनाइअनुसार अगाडि बढौँ । सानो काममा सन्तुष्ट भएर बस्नुहुन्न,’ उनको आग्रह छ । सयौँ यात्रु बोकेर समुद्रमा पानीजहाज चलाउँदा जोखिम पनि ठूलै छ । हावा र पानीको गति वा छालबारे राम्रै ज्ञान हुनुपर्छ । ‘जहाज कतै ठोक्किएर यात्रुलाई चोटपटक लाग्यो या केही भयो भने हाम्रो लाइसेन्स सिज हुन्छ । जहाज चलाउने दिनको मौसम कति बजे कस्तो हुन्छ ? त्यो कुराको ज्ञान हुनुपर्छ र पानी वा हावाको वहावसँगै जहाज चलाउनुपर्छ,’ ब्रामले भने ।

अब ब्रामको इच्छा छ– मास्टर मरिनर अर्थात् पानीजहाज चलाउने अनलिमिटेड लाइसेन्स लिने । ‘यो लाइसेन्स पाएपछि संसारको जस्तोसुकै पानीजहाज पनि चलाउन सकिन्छ,’ उनले थपे । यसबाहेक उनी यतिबेला हेलिकोप्टर उडाउने तालिम पनि लिइरहेका छन् । ‘म गाडी र मोटरबाइक पनि निकै राम्रो चलाउँछु । अब जल र जमिनपछि आकाशमा पुग्ने उद्देश्य छ । त्यसमा पनि पुग्नेछु,’ उनको अठोट छ ।

यतिबेला नेपाल पनि पानीजहाजको कुराले गर्माएको छ । वर्तमान अवस्थामा नेपालमा पानीजहाज सम्भव छ त ? ‘अवश्य छ, किन छैन ? तर, नेपालको मौसम वा जमिन र पानीको अवस्था हेरेर पानीजहाज किन्नुपर्छ । कस्तो समुद्रमा कस्तो पानीजहाज चलाउन उपयुक्त हुन्छ भन्ने कुरा बुझेर अगाडि बढियो भने असम्भवै त छैन,’ ब्रामले स्पष्ट पारे । त्यसो त यदि पानीजहाजबारे नेपाल सरकारले आफूसँग बुझ्न चाहे जुनसुकै बेला त्यसका लागि आफ्नो ज्ञान बाँड्न नेपाल आउन तयार रहेको उनी बताउँछन् ।