किन बढ्यो राजसंस्थाप्रति आकर्षण ?

किन बढ्यो राजसंस्थाप्रति आकर्षण ?


  • इन्द्रबहादुर बराल

नेपालमा छोटो समयमा नै ठुल्ठूला राजनीतिक परिवर्तनहरू भए । ती परिवर्तनहरूसँगै जनताका आकाङ्क्षाहरू पनि बढ्दै गए । गणतन्त्रसम्म आइपुग्दा पनि जनताका चाहना र आकाङ्क्षाहरू ज्युँका त्युँ नै रहे ।

यसै परिप्रेक्ष्यमा आजभोलि नेपाली राजनीतिमा अनपेक्षित विचार संप्रेषित भइराखेका छन् । नेपालको खस्केको आर्थिक–सामाजिक अवस्थाको जिम्मेवारी नेपाली काङ्ग्रेसमाथि थोपरेर सत्तामा आसीन हुन पुगेका कम्युनिस्टबाट पनि अब नेपाली वाक्कदिक्क भइसकेको अवस्था देखिन्छ । तथापि उखानेटुक्के सरकार जनतालाई अझै पनि भ्रम छर्ने कोसिस गर्दै छ ।

यसो त भ्रमको खेती नै फलिफाप भएको कम्युनिस्ट सरकारलाई अर्को बाटो रोज्नुपर्ने आवश्यकता देख्ने कुरै भए । जनतामा सबैभन्दा बढी वितृष्णा अहिलेकै सरकारप्रति बढेको छ । यसैले राजसंस्थाप्रतिको आकर्षण पनि बढ्दो छ । हुन पनि देशमा गणतन्त्रको स्थापनापछिका काङ्ग्रेस नेतृत्व सरकारबाहेक अन्यले सिन्को भाँचेनन् । कम्तीमा काङ्ग्रेस नेतृत्व सरकारले संविधान निर्माणदेखि जारी गर्ने काम गऱ्यो भने त्यही संविधानअनुरूप तीन तहको निर्वाचन सम्पन्न गराएर सङ्घीय गणतन्त्र नेपालको संविधानको सफल क्रियान्वयन गऱ्यो । पहिलो संविधानसभाको लगभग ६ वर्ष कम्युनिस्टहरूले राज गरेकै हुन्, के दिएका थिए त जनतालाई ? यदि केही दिएको छ भने नेपाली काङ्ग्रेसले दिएको छ, तर विज्ञापन गर्न भने काङ्ग्रेसले नसकेकै हो । काङ्ग्रेस आत्मप्रचारमा लागेन । त्यसको लाभ कम्युनिस्टहरूले लिए । प्रश्न राजनीतिक लाभ कसले लियो भन्नुभन्दा पनि जनताले के पाए भन्ने हो ।

कम्युनिस्टहरूको सरकार निर्माण भएपछि जनतामा बाँडिएका अश्वासनहरूको एकपछि अर्को परिपूर्ति हुनुको सट्टा झनै आहात हुन थाले जनता । महँगी, भ्रष्टाचार, बलात्कार र हत्याजस्ता शङ्खलाबद्ध घटनाले आज देश आक्रान्त भएको छ । सम्भवतः त्यही भएर हुन सक्छ आज अस्ति भर्खर सत्ताच्युत भएका पूर्वराजा ज्ञानेन्द्रको माग बढ्दै गएको छ । यतिसम्म कि स्वयम् कम्युनिस्ट नेताहरू नै अहिलेको यो अवस्थामा भन्दा बरु राजतन्त्रै ठीक भन्न थालेकोसम्म पाइन्छन् । अझै भन्ने हो भने एसिया प्यासिफिक समिट र त्यस क्रममा भए–गरेको क्रियाकलापले त नेपालका सत्तासीन पार्टी नेकपा (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबाट ग्रहण गरिएको होली वाइनले हाम्रा सत्तारुढ दल त साँच्चै गतिछाडा नै देखिए । उनीहरू मात्रै गतिछाडा भएर केही हुने थिएन, तर त्यही कारणले धर्मनिरपेक्षतामाथि पनि अनेक आशङ्का र लाञ्छना लगाउने स्थिति सिर्जना भयो ।

सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमा आँच पुऱ्याउने काम होली वाइन सेवन गर्नेहरूबाट हुन पुग्यो । परिणाम आज नेपाल हिन्दूराष्ट्र र हिन्दू सम्राट्को पुनस्र्थापनाको आवाज बुलन्द भएर आएको छ । हिन्दूराष्ट्र हिन्दू सम्राट्को यो आवाजलाई घरघरमा ग्यासपाइप, उत्तर–दक्षिणबाट रेलसेवा र पानीजहाजको सपनाले कति थेग्ने हो, त्यो त भविष्यले नै बताउला, यसै हो भनेर ठोकुवा गर्न सकिँदैन । तर, जे होस्, वर्तमान राजनीतिप्रति जनताको विकर्षण बढ्दो छ भन्नु कुनै दुराग्रह मानिँदैन ।

अहिले मुलुकमा न्याय हराएको छ, जनता निसास्सिएका छन्, कहीँकतै उज्यालो देखिँदैन । साँच्चै देश निष्पट्ट अन्धकारतर्फ धकेलिएको अवस्था छ । यस्तो स्थितिको लाभ लिन कट्टर हिन्दूवादीहरू योजनाबद्ध ढङ्गले लागिपरेका छन् । यो सबैको मूल जड भनेकै वर्तमान सरकार र त्यसको नेतृत्व गरेको नेकपा (नेकपा) पार्टी र त्यस पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् ।

हिजोसम्म प्रतिगमनकारी भनिएका शक्तिहरू त के स्वयम् अग्रगमनकारीहरूमा पनि विस्थापित राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा देखिनुको मूल कारण वर्तमान सरकार र त्यस सरकारको नेतृत्व दिने प्रधानमन्त्री केपी ओली नै हुन् ।

गणतन्त्रअघि र पछिको समय लगभग उस्तैउस्तै देखिन्छ । तर, २०४७ को संविधान अस्तित्वमा रहिन्जेल मुलुकमा धेरै महत्वपूर्ण काम भएका थिए । सडकसञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चार आदि क्षेत्रमा उल्लेखनीय काम भएका छन् । गाउँगाउँमा उमाविको लहर नै सिर्जना भएको थियो भने हरेक गाविसमा उपस्वास्थ्य चौकीहरू स्थापना भए । देश अहिले सडकसञ्जालले माकुराको जालोजस्तै भएको छ । सञ्चारको क्षेत्रमा त झनै फड्को मारेको थियो । तर, गणतन्त्रपछिको नेपालमा एक, दुई, तीन गरेर उल्लेख गर्ने खालको एउटा पनि काम भएको छैन । त्यही एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र त्यही संविधानबमोजिम सङ्घीय संरचनाअनुरूप सबै तहको निर्वाचन सम्पन्नबाहेक अरू केही भएन ।

मुलुकको समृद्धि हल्ला गरेर हुँदैन । त्यसको लागि निश्चित योजना र कार्यक्रम चाहिन्छ । त्यति मात्रै होइन, राष्ट्रिय सङ्कल्पका साथ राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा त प्रमाणित भइसक्यो । राष्ट्रिय सहमतिबिनै सुखी नेपाली, समृद्ध नेपाल बन्ने भए त यो दुईतिहाइ सरकार किन ‘किमकर्तव्य विमुढ’ हुन्थ्यो र ? त्यसकारण सुविधाजनक बहुमत वा दुईतिहाइ बहुमत मात्रै सबथोक होइन रहेछ भन्ने त छर्लङ्गै भइसक्यो । सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न सबैभन्दा पहिले मुलुकमा न्याय पाइन्छ भन्ने प्रत्याभूति दिनुपऱ्यो अनि सुशासन र राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्नुपर्छ ।

देशमा सन्तोष गर्न लायकको एउटा कुनै काम भएको छैन । प्रतिपक्ष दलको खोइरो खनेर देश समृद्ध हुँदैन । डा. गोविन्द केसीले उठाएका मुद्दामा गम्भीर हुनुपऱ्यो । गरिबका छोराछोरीले सहज रूपमा मेडिकल शिक्षा पाउनुपऱ्यो, गरिबको स्वास्थ्यमा पहुँच हुनुपऱ्यो भन्ने माग के नाजायज छन् त ? होइन भने किन बेवास्ता गरिँदै छ ।

स्टालिनले आफ्नो संसदमा कुखुराको भाले भुत्याएर नाङ्गै बनाएर पनि मकैको दाना चारा फालेर आफ्नै पछिपछि हिँड्ने बनाएजस्तो मनमोहन अधिकारीले ल्याएको ज्येष्ठ नागरिक भत्तालाई आफ्नोपछि लगाउने चारोले अहिलेसम्म बाँचेको पार्टी नेकपा (नेकपा) अब कुन अस्त्र फ्याँक्ने हो थाहा छैन । तर, जहिलेसम्म नेपाल र नेपालीलाई गरिब र पछौटेपनमा राख्न सकिन्छ तबसम्म कम्युनिस्टहरूले आफ्नो उपस्थिति रहन्छ भन्ने विश्वासका साथ मुलुकलाई अस्तव्यस्त राख्न चाहन्छन् भन्दा उनीहरूप्रति अन्याय नठहर्ला ।

अहिले मुलुक यदि कतैबाट सङ्कटग्रस्त छ भने वर्तमान नेकपा (नेकपा) को सरकारबाट छ । त्यसैकारण आज हिजोसम्म प्रतिगमनकारी भनिएका शक्तिहरू त के स्वयम् अग्रगमनकारीहरूमा पनि विस्थापित राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा देखिनुको मूल कारण वर्तमान सरकार र त्यस सरकारको नेतृत्व दिने प्रधानमन्त्री केपी ओली नै हुन् । त्यसैले भनिँदै छ के साँच्चै राजसंस्थाको आकर्षण बढेकै हो त ? प्रश्न पेचिलो भएको छ ।