चन्द्रमा, अन्धविश्वास र नेपाली

चन्द्रमा, अन्धविश्वास र नेपाली


  • मोहन खतिवडा

तिमी,
म अनि हामीहरू
त्यो साँघुरो घेरामा खुम्चिएका
खुम्च्याउन बाध्य पारिएका
रोगले थलिएका, अनि गलेकाहरू
आकाश फेर्दै
भाग्य बदल्ने होडमा दौडिने
अनि दौडाइएकाहरू हो
हेर त ऊ त्यहाँ चन्द्रमामा
कपासको बिज उम्रिएछ नि !
हिजो बिहान सबेरै उठेर
जल चढाएथ्यौ हगि तिमीले
हो नि हेर त प्रिया
भरर्र टुसाएछ नि ! माथि आकाशमा
कति भाग्यमानी छौँ है हामी
मैले थाहा पाउने भएबाट
हजुरआमाको पालैदेखि
झिसमिसेमा उठ्नुहुन्थ्यो
नुहाइधुवाई पूजापाठ
गायत्री मन्त्र जप ध्यान
अनि खाली पेटमै
चन्द्रमालाई अर्घ्य दिँदै
पूजा गर्नुहुन्थ्यो
बुबाले पनि त्यसै गर्नुभयो
अनि आमाले
गरिरहनुहुन्छ
कहिलेकाहीँ त
मैले पनि गर्छु
सुन्थे क्या ! ठूलाबडाबाट
निधारमा भाग्यको टिकी लगाइदिँदै
धेरै आशीर्वाद दिन्थे
चन्द्रमा सधैँ दाहिना हऊन् अरे
हेर त आज प्रिया !
त्यही चन्द्रमा दाहिना हुँदा
म त देब्रे लागेँछु ।
अब त चन्द्र प्रकाशमा पनि
रङ फेरिएला हगि !
सेतो नभई हरियो…
उसरी जसरी
नेताको चरित्रमा पोतिएको
का……लो धब्बाजस्तै
हेर त प्रिया !
चन्द्रमा दाहिना हुँदा नि
म त देब्रे हिँडेजस्तै ।

– हाल : टोकियो, जापान