एसएमबीसी समूह सात अर्ब ४७ करोड डलरमा एयरबसका ६५ वटा विमान खरिद गर्दै

एसएमबीसी समूह सात अर्ब ४७ करोड डलरमा एयरबसका ६५ वटा विमान खरिद गर्दै


विमान खरिद–बिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए ३२० नियो सिरिजका ६५ वटा विमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त विमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ ।

डब्लिनस्थित उक्त एसएमबीएसी कम्पनीले गत वर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा विमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ ।

विश्वकै ठूलो विमान खरिद–बिक्री र लिजमा विमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरूको साझेदारीमा स्थापना भएको हो ।

गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए २२०–३०० सिरिजका विमानहरु बिक्री गर्न लागेको जनाएको थियो ।

विश्वका दुई ठूला विमान कम्पनी एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक विमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा विमान बिक्री गरेको थियो ।