कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित


नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

मन्त्रिपरिषदको हालैको बैठकले देशका विभिन्न नौवटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ ।

राष्ट्रिय सभाको सोमबारको बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरू आ–आफ्ना आसनबाट उठेर विरोध जनाए । विरोधका बीचमा कांग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको भनी प्रश्न गरिन् ।

उनले नेपालको शान्तिप्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गर्नुभएको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागबारे सरकारले सदनसमक्ष धारणा सार्वजनिक गर्न माग गरिन् ।

यसपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिए ।

उनले देशका विभिन्न नौवटा अस्पताललाई संघअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी गराए । नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौवटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो भनी प्रश्न गरे ।

नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गरे । सोही पार्टीका डा. विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरिन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली कांग्रेसका सांसदलाई आ–आफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गरे पनि आसन ग्रहण नगरेपछि उनले बैठक आजै आधा घन्टामा लागि स्थगित गरेका थिए ।