सीके राउतका कार्यकर्ता पक्राउ

सीके राउतका कार्यकर्ता पक्राउ


राजविराज । मधेसमा पृथकतावादी अभियान चलाएर चर्चामा आएका सीके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनका चार कार्यकर्ताहरुलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।

गत शनिबार बेलुका पक्राउ पर्नेहरुमा राजबिराज नगरपालिका—११ फर्सेठ बस्ने वर्ष २३ का श्यामकुमार यादव, वर्ष १९ का सरोजकुमार यादव, सप्तकोशी नगरपालिका—१० फत्तेपुर बस्ने वर्ष १९ का अविनास पण्डित र तिलाठी कोइलाडी गाउँपालिका—२ बस्ने वर्ष २८ का सुशील मण्डल रहेका छन् ।

बलिदान दिवस मनाउने भन्दै जिल्लाका विभिन्न स्थानीय तहहरुमा कार्यक्रम गर्न लागेको बेला उनीहरुलाई राजविराज—११ झलही पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

झलही पुलआसपासमा पोस्टर टाँस्दै गरेको अवस्थामा पोस्टर र फ्रि मधेश लेखिएको ब्यानरसहित विद्यालय उमेरका स—साना बालबालिकाहरु समेतलाई उक्साई, प्रलोभनमा पारी कार्यक्रममा सहभागी गराउने कार्यमा संलग्न रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।

नियन्त्रणमा लिइएका उनीहरुलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी बालबालिका ऐन २०७५ बमोजिम बालबालिका दुरुपयोग कसुरमा थप अनुसन्धान कार्य भइरहेको जानकारी उनले दिए ।