दुई नम्बरी संघीयता !

दुई नम्बरी संघीयता !


  • अर्जुनराज पन्त

भुरे नेता थान्को लाउन ल्याको संघीयता
थेग्नै गाह्रो मुस्किल पाऱ्यो भयो रमिता
शुरुवात नै लाजमर्दो बेथिति नै सारा
थेग्ला जस्तो देखिएन छैन टिक्ने पारा

ढाँट्ने लुट्ने कुट्ने भन्दा छैन अर्को धन्दा
भन्न थाले अर्कै राम्रो यस्तो शासन भन्दा
केन्द्र सरकार टुक्का हान्छ परदेश सरकार मुक्का
आसेपासे बन्नु बने सोझासाझा भुक्का

जहानियाँ शासन सत्ता ढल्यो भन्थे पहिले
केन्द्रदेखि परदेशसम्म फेरि आ’छ अहिले
नातागोता आफन्तलाई राजदुत र पिए
खान मिल्ने सबै पद उनैलाई दिए

माननीय र मन्त्री तिमी पिएमा छन् उनी
सबै जाँदा जागिर खान कुकुर एक्लै हुनि
नपार भो’ घरको कुकुर एक्लै बसी रुनी
एकाघरका सबै तिमी सँगैसँगै हुनि

तिम्ले खान मिल्दोरैछ मिलाएर सब
द्वारपालेमा भर्ना गर कुकुर पनि अब
परिवारकै झुण्ड बनाई बसेका छौ लुट्न
आफ्ना कुरा नमान्नेलाई अफिसैमा कुट्न

सचिवैलाई हान्छौँ थप्पर खप्पर फुट्ने गरी
कसको हिम्मत पर्न अब तिम्रा वरिपरि
टायर पड्केसरि पड्के सचिवका गाला
मन्त्रि हौ कि टोले गुन्डा कस्तो तिम्रो चाला

आफ्नो स्वार्थ नमिले यी मर्नेगरि कुट्छौ
मिलेमा ती तिम्रा स्वार्थ बाँडीचुँडी लुट्छौ
आफुभन्दा ठूलासामु पेश भएर जाँदा
तिम्लाई पनि कस्तो होला यस्तै कुटाई खाँदा

मान्छे नै हुन् के गर्ला र भने जस्तोगरि
एक्लैदुब्लै नजानु है यिनका वरिपरि
बाध्यताले पारेपछि लाजै पो के भो र
केन्द्रसँग माग अब मन्त्री थुन्ने खोर

मान्छे कुट्ने यस्तो मन्त्री खोरमा राख्नुपर्ला
चोके काठले फाएल छिराउ उसले साइन गर्ला ।