बेल्जियमको ‘होलिडे फेयर’मा नेपाल जोडिँदै

बेल्जियमको ‘होलिडे फेयर’मा नेपाल जोडिँदै


  • डिल्लीराम अम्माई, बेल्जियम

बेनेलक्सका राजदुत लोकबहादुर थापाले एक कार्यक्रममा भनेका थिए, ‘हामीले हाम्रो देशमा भएका मूल्यवान खजानाहरूको प्रचार गरेकै छैनौँ तर नेपालीले पाएको गरिबी र दुखको धेरै नै प्रचार भएको छ, त्यो अब बन्द गर्नुपर्छ र नेपालको प्राकृतिक खजानाले भरिएको अपार भण्डारको प्रचारमा जोड दिँदै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ, हाम्रा दुःखका दिनहरू क्रमशः समाप्त हुँदै जाने छन् ।’

राजदुत थापाको उक्त भनाइमा दम छ, किनकि हाम्रो प्रचार स्वावलम्बन तथा आत्मनिर्भरता उन्मुख नभएर ‘भिख’उन्मुख छ, जसलाई तुरुन्तै रोक्नु पर्दछ । के पनि सत्य हो भने संसारभरका नेपाली कुटनैतिक निकाय र एनआरएनको संयुक्त प्रयासबाट विगतको निर्वाहमुखी पर्यटन विकासको प्रचारले मात्र नेपालको पर्यटन प्रवद्र्धनमा परिणाम आउन सक्दैन । त्यो विगतका अनुभवहरूको कटु यथार्थ हो । त्यसलाई परिणाममुखी बनाउन नेपालको दुतावासले नेतृत्वदायी भूमिका खेल्नुपर्छ र त्यो प्रयासमा डायस्पोराका नेपालीहरूले सक्दो सहकार्य, सहयोग र समर्थन गर्नु जरुरी छ । सामुहिक प्रयासबाट मात्र परिणाम आउन थाल्दछ । त्यसको लागि प्रचारलाई निरन्तरता दिनु । प्रभावकारी शैलीले प्रचार गर्नु, सुधारमा ध्यान दिनु, पर्यटक सम्मानमा कमि आउन नदिनु, सुरक्षा नीति चुस्त बनाउनु । प्रशिक्षित गाइड राख्नु र ब्यवसायिक इमान्दारितालाई ब्यवस्थित बनाउनु आवश्यक हुन्छ । त्यसको लागि राज्यसँग एनआरएनहरूले मिलेर काम गर्नुको विकल्प छैन ।

बेल्जियमको नेपाली दूतावास र एनआरएनहरूले प्रभावकारी रूपमा पर्यटन विकासको लागि काम गरेको धेरै भएको छैन । क्रमशः परिणामहरू देखिन थालेका छन् । परिणामतः बेनेलक्समा राजदुत लोकबहादुर थापाको आगमनपछि देखिने गरी बेनेलक्सबाट पर्यटकहरू नेपाल भित्रिएका छन् ।

गत केही समयदेखि बेल्जियमबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या ३१.२ प्रतिशतले बढेको छ । त्यसैगरी, नेदरल्यान्ड्सको पर्यटक आगमनको संख्या ११.३ प्रतिशतले वृद्धि भएको छ । यो खुशीको कुरा हो । बेल्जियमलगायत युरोपभरि गैरआवासीय नेपाली र दूतावासको आयोजनामा व्यापारिक मेला, पर्यटन मेला, नेपाल फेष्टिबल र अन्तर्राष्ट्रिय भेलाहरूमा नेपालका पर्यटकीय स्थलहरूको प्रचार तीव्र पारिएको छ । ‘कृपया तपाईं एकपटक नेपाल जानुस है’ (Please visit Nepal once) विदेशीसंगको भेटपछिको विदाई वाक्य नै बनाइएको छ बेल्जियमतिर । विशेषगरी बेल्जियममा नेपाली दूतावास र गैरआवासीय नेपालीहरूले नेपालको प्राकृतिक सम्पदाबारे आक्रामक प्रचार गरिरहेका छन् । डकुमेन्ट्री र डिजिटल सामाग्रीमार्फत प्रचारलाई अझ आकर्षक बनाउने क्रम जारी छ ।

भनिन्छ, ‘एक पर्यटकलाई देश भित्र्याउनु १० जनालाई रोजगार दिनुबराबर हो ।’

नेपालमा पर्यटक आकर्षित गर्न सक्ने पर्वतारोहण पदयात्रा, पशुपंक्षी अवलोकन, पर्वतीय उड़ान, चट्टानारोहण, ऱ्याफ्टिङ, कायकिङ र यूरोपको एक असाध्य लोकप्रिय खेल क्यानोलिङ, तातो ग्यासबाट उड्ने बेलुन, बन्जी जम्प, पैराग्लाइडिंग, अल्ट्रालाइट विमान, पहाड़ी साइकल यात्रा, जंगल सफारी, धार्मिक स्थल, चट्टान अनुसन्धान र प्राकृतिक फुल तथा किटहरूको अवलोकनबारे सम्पूर्ण अध्ययन सामाग्री समेटेर उच्च स्तरीय डकुमेन्ट्री बनिरहेको जनाइन्छ । नेपाल गएका बेल्जिकहरूको अनुभव समेटेर छोटो तर आकर्षक भिजुअल सामाग्री नेपाली दूतावासको नेतृत्वमा नेपाली मूलका पत्रकार राजेन्द्र रसाइलीले तयार पारेका छन् ।

त्यस्तै, नेपाली व्यवसायी सङ्घ बेल्जियमको छैँटौ पदस्थापना तथा बुझबुझारथको दिन सङ्घले आफ्नो कार्यकालको लागि प्रस्तुत गरेको १६ बुँदे कार्ययोजनाको एक नम्मर बुँदामा ‘नेपाली व्यवसायीहरूको ब्यवसाय स्थलमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने’ प्रतिबद्धता जाहेर गरेको छ । सोही कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूतावास उपनियोग प्रमुख सुधीर भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी डिजिटल सामाग्रीको ‘श्री शुभारम्भ’ समेत गरेका छन्, जसलाई नेपालको पर्यटन प्रवर्द्धनको लागि दूतावासको सक्रिय प्रयासमध्ये एक मान्न सकिन्छ ।

उक्त दिनबाट नै अभियानको पहिको चरणमा करिब २० वटा नेपाली व्यवसायीको व्यवसायिक स्थलको लागि आकर्षक बक्ससहित नेपालको पर्यटन सामग्री वितरण थालिएको छ । प्रत्येक नेपाली ब्यवसायीहरूले आफ्नो ब्यवसायको मुख्यद्वारमा नेपालको पर्यटन सामाग्री राख्ने बताएका छन् ।

ब्यवसायी संघका निवर्तमान अध्यक्ष सिपी भट्टले आफ्नो ब्यवसायबाट यसको शुभारम्भ गरिसकेका छन् । ब्यवसायी संघका युवा महासचिव मदन दवाडीले एक जिज्ञासामा भनेका थिए, ‘अबका मेरा दिनहरू आधी नेपालआमाको सुसार र आधि ब्यवसायामा बित्ने छन् । म मेरी आमाको ऋणले मुक्त हुन नसके पनि मृत्युपर्यन्त मेरो आत्माले शान्ति पाउने छ, यो नै मेरो अबको सपना हो ।’ दोश्रो पुस्ताका उनीजस्ता धेरै नेपाली छन् नेपाललाई माया गर्ने । उनीहरू स्थानीय भाषाले पनि सम्पन्न छन् र नेपालप्रतिको जिम्मेवारी बोधले पनि भिज्दै छन् । आमाप्रतिको दायित्वबोधले देखेका उनीहरूका सपना सफल हुन् र प्रयासहरू जारी रहुन् !

एक अध्ययनअनुसार नेपालमा विगतमा भन्दा पर्यटकहरू बढेको देखिएको छ । नेपालबाट फर्केका पर्यटकहरूको प्रतिक्रिया सुन्दा अपबाद बाहेक राम्रा कुरा आएका छन् । उनीहरूले सुधार गर्नुपर्ने कुराहरू पनि राखेका छन् । जसले आम नेपालीको पर्यटनसम्बन्धी हौसला नबढाउने कुरै भएन । त्यसै सन्दर्भमा बेनेलक्सका गैरआवासीय नेपाली, पर्यटन र बाणिज्य दुतहरू, गैरसरकारी एजेन्सीहरू, नेपाल सरकारका पर्यटन अधिकारिहरू, प्रचार सामग्री र फिचर सामग्रीसहित प्रचारको लागि मिडियाकर्मीहरू, बेल्जियमका नेपाली ब्यवसायीहरू लगायतलाई राजदूतले सामाजिक संजालमार्फत धन्यवाद दिँदै यही जनवरी २४ देखि २७ सम्म आन्त्वेर्पेन एक्स्पोमा हुन गैरहेको पर्यटन मेला (होलिडे फेयर)मा सहभागी बनेर नेपालको पर्यटन प्रचारमा सहभागी हुन आग्रह गरेका छन् । त्यहाँ नेपाली दूतावास र गैरआवासीय नेपालीहरूको पर्यटन प्रचार सामग्रीसहित संयुक्त प्रचार कक्षसमेत रहने छ ।

पर्यटन ब्यवसाय प्रचार गर्ने वित्तिकै ह्वात्तै बढ्ने पनि हैन । यसले समय लिन्छ । प्रचारले एक ब्यक्ति सम्बन्धित देशमा पुगेर फर्केपछिको प्रतिक्रियाले पर्यटनको उत्थानमा मद्धत पुऱ्याउँछ । उनीहरूको प्रतिक्रिया नकारात्मक हुनुहुँदैन । त्यसको केही चरणपछि पर्यटन बढ्दै जाने हो । त्यसैले पर्यटन प्रवर्द्धन पर्यटकको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएकोले तुरुन्त परिणाम दिन सक्दैन ।

संसारमा पर्यटनको विकासबाट समृद्धि हासिल गरेका देशहरू धेरै छन् । उनीहरूले पनि धेरै समयको अथक प्रयास र प्रचारप्रसारबाट पर्यटन ब्यवसायालाई देशको आय आर्जन गर्ने मुख्य श्रोत बनाएका हुन् । मिस्रको पिरामिड, स्पेनको ग्रनादा, फ्रान्सको आइफल हेर्न करोडाँ मानिसहरू ती देश पुग्छन् । पार्थेनोन स्मारक जो एथेन्समा छ, जसलाई हेर्न संसारबाट धेरै मानिस आउँछन् । अमेरिका संसारमा दशौँ धेरै पर्यटकहरू भित्राउने देश हो । धार्मिक पर्यटन बढी आउने देश भ्याटिकन सिटी, भारत र साउदी अरब हुन् ।

मानिस एकै स्थानमा सधैं बसिरहन रुचाउँदैन । उनिहारुले मनोरञ्जन, व्यापार, अनुसन्धान लगायत अन्य उद्देश्यले भ्रमण गर्दछन् । २०१७ मा संसारभर १३७६ मिलियन भन्दा बढीले विभिन्न उद्देश्यले विभिन्न देशको भ्रमण गरे भने २०१८ मा यसको संख्या ६.५ प्रतिशत वृद्धि भएको छ । जसबाट अन्तर्राष्ट्रिय अर्थब्यबस्थामा १८ अर्ब खर्च गरे । जुन देशमा मानिस बढी आउँछन् उनीहरूले सयौलाई रोगारको साथै ब्यापारी तथा राज्यलाई पैसा दिएर जान्छन् । त्यसैले भनिन्छ– ‘एक पर्यटकलाई देश भित्र्याउनु १० जनालाई रोजगार दिनुबराबर हो ।’ उसले त्यो देश पुगेर फर्केपछि घुमेका देशका पर्यटनस्थलको प्रभावकारी प्रचार गरिदिन्छ र हजारौँ अन्य मानिसले त्यो देशको गन्तब्य बनाउँछन् । यो कुनै पनि देशको पर्यटन विकासको लागि ज्यादै महत्वपुर्ण हुन्छ ।