कांग्रेसका पूर्वसांसदको आग्रह- ‘समृद्ध नेपाल बनाउन नेकपाको झण्डामुनि जुटौँ’

कांग्रेसका पूर्वसांसदको आग्रह- ‘समृद्ध नेपाल बनाउन नेकपाको झण्डामुनि जुटौँ’


नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भूसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भूसाललाई स्वागत गरेका छन् ।

भूसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

नेकपा प्रवेश गर्दै भूसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने, नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।’ उनले कांग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनी गोलबन्द हुन आग्रह गरे ।