आफैं गाडी हाँक्छन् ९७ वर्षका राजकुमार फिलिप

आफैं गाडी हाँक्छन् ९७ वर्षका राजकुमार फिलिप


उमेरले झण्डै सय वर्षको हाराहारीमा पुग्नुभएका बेलायती राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ, तर उहाँले अझै पनि गाडी चलाउनुहुन्छ ।

ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको हुनुभयो । उहाँले गाडी हाँक्न छोड्नुभएको छैन । तर बिहीवार उहाँले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

बताइएअनुसार दुर्घटनामा उहाँलाई कुनै चोटपटक लागेन । तर घटनापछि उहाँ निकै आत्तिनुभएको छ ।

स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ वेबाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उहाँको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएकोथियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उहाँलाई कारबाट निकाले । ‘कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा हुनुहुन्थ्यो,’ प्रत्यक्ष्यदर्शीले बताए ।

स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् । आफैँ गाडी नहाँक्न दिइएका सुझाव उहाँले पटक्कै स्वीकार्नुभएको थिएन । तर यो घटनाले उहाँलाई झस्काएको हुनुपर्छ ।

राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचारहरू व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउन दिने कुरालाई गलत नै भनिएको छ ।