लक्ष्मी बैंकद्वारा नौ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी बैंकद्वारा नौ प्रतिशत लाभांश प्रस्ताव


लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई करिब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष ०७४–७५ को नाफाबाट रु. ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता सेयर लाभांश र रु. तीन करोड ६७ लाख ८१ हजार १४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले साधारणसभामा धितोपत्र दलाल व्यवसायीको काम गर्ने गरी सहायक कम्पनी खोल्ने प्रस्तावसमेत राखेको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र दलाल व्यवसाय गर्न सहायक कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । यस्तै, लक्ष्मी बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक–आपसमा गाभ्ने वा गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा यसअघि नै भएको प्रक्रियालाई समेत निरन्तरता दिने प्रस्तावसमेत रहेको छ ।