गोरखाले यसरी थाल्यो ‘दुःखी’ गाउँको लागि ‘एम्बुलेन्स’ किन्ने अभियान

गोरखाले यसरी थाल्यो ‘दुःखी’ गाउँको लागि ‘एम्बुलेन्स’ किन्ने अभियान


  • डिल्लीराम अम्माई, बेल्जियम

गोरखाली समाज बेल्जियमले गोरखा जिल्लाको उत्तरी विकट गाउँहरूमा एम्बुलेन्सद्वारा आकस्मिक सेवा उपलब्ध गराउने उद्देश्य राखी एक सांगीतिक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल र गोरखा समाजका अध्यक्ष राम घलेले संयुक्त रुपमा ‘च्यारिटी सो’को पानसमा बत्ति बालेर उदघाटन गरेका थिए ।

आयोजक समाजका महासचिव तेज नेपालीले सञ्चालन गरेको च्यारिटीको औपचारिक कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको समेत विशेष उपस्थिति थियो । विशेष मन्तव्यको क्रममा अर्यालले ‘मेरो गोरखा’ नामक कविता वाचन गर्दै ‘गोरखाको मायाले आफूलाई अभियानमा आउन उत्प्रेरित गरेको’ बताएका थिए । उनले ‘सबै नेपालीलाई गोरखालीहरूको परोपकारी अभियानमा आत्मियता सहित सहयोग गर्न’ आह्वान गरेका थिए ।

सांगीतिक कार्यक्रममा सहयोगको लागि आह्वान गर्दै गोर्खाका कलाकार गणेश गुरुङले भावुक एवम् प्रभावकारी शब्दद्वारा सबैको मन जितेका थिए । नेपालबाट आएका अर्का लोकगायक नरजङ्ग गुरुङ र इटलीबाट आएकी लोक तथा दोहोरी गाएक सकुन्तला थापाको गायनले सांगीतिक रौनक बनेको उक्त कार्यक्रममा झन्डै ‘सात हजार यूरो’ संकलन भएको जानकारी आएको छ । ‘तर पूरा हरहिसाब अझै गर्न बाँकी रहेको छ,’ अध्यक्ष घलेले थपे– ‘यो अभियानमा सहयोग गर्ने सबै परोपकारी मनहरूलाई समाजको तर्फबाट हार्दिक आभार छ, आजको कार्यक्रम अभियानको शुरुवात हो, यसमा सहयोगी मनहरूलाई कार्यक्रमको सीमाले छेक्दैन ।’

यही जनवरी १४ का दिन आन्ट्वेर्पेनमा सम्पन्न उक्त च्यारिटी कार्यक्रममा दान दाताहरूको लिष्टमा उच्च सहयोग गर्नेहरू क्रमश दोर्जे घले ५५० युरो, चित्र गुरुङ ५०० युरो र विपिन गुरुङ ५०० युरो रहेका थिए । गायक गणेश गुरुङले, ‘दानलाई अध्यात्मिक खजाना’ भन्दै ‘गच्छेअनुसार दिएको दानको महिमा समान रहने’ बताए ।

प्रमुख अतिथिको आशनबाट बोल्दै गरआवासीय नेपाली संघका अध्यक्ष लोक दाहालले ‘कार्यक्रम कुनै परोपकारी यज्ञको अनुष्ठान जस्तै लागेको बताउदै परोपकारी अभियानमा आफु सधैं अभियानकर्मीहरूको साथमा रहेको’ विचार जाहेर गरे ।

सोही साँझ गोर्खाली संघ बेल्जियमका सल्लाहकार विष्णु भुजेल, निर्मला बजगाईं, सुशीला पराजुली लगायतले दानदातब्य संकलन, ब्यवस्थापन र अनुगमनमा नेतृत्व गरेका देखिन्थ्यो भने गोर्खाली चेलीद्वय मनकुमारी घले र बिना घलेले अतिथि सम्मानको नेतृत्व गरेका थिए । मानवीय समवेदनासहित अत्यन्त भावुक वातावरणमा परोपकारी सांगीतिक कार्यक्रम शुरु भयो । नाच्दै–गाउँदै परोपकारी माहोललाई सम्मोहित बनाउँदै रातको १२ बजे कार्यक्रम सम्पन्न भएको थियो ।